कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

घरेलुले बढायो रोगजारी

तेह्रथुम — हातले तानमा बुनेका ढाका कपडा स्थानीय बजारमै अत्यधिक खपत हुन थालेपछि जिल्लाभर ढाका कपडा उत्पादन गर्ने उद्योग बढिरहेको छ । माग बढेसँगै व्यवसायीले ढाका कपडा उद्योगमा लगानी पनि बढाएका छन् ।

घरेलुले बढायो रोगजारी

जिल्लाका ढाका कपडा उद्योगमा हाल कामदारको संख्या बढाएर २५ हजार पुर्‍याइएको व्यवसायीले जनाएका छन् । पछिल्लो समय सदरमुकाम म्याङलुङ बजार र नगर क्षेत्रमा मात्र २ सयभन्दा बढी ढाका कपडा उद्योग खुलेको घरेलु तथा साना उद्योग विकास समिति शाखा कार्यालयका निमित्त वरिष्ठ उद्योग अधिकृत विमललाल श्रेष्ठले बताए ।

उद्योग खुलेपछि गाउँगाउँका बेरोजगार महिला पुरुषले रोजगारी पाएका छन् । सदरमुकाममै उज्ज्वलता, श्रमजीवी, पराजुली, फक्तालुङ, नवीन विकासलगायत ठूला ढाका कपडा उत्पादन गर्ने उद्योग छन् । ‘ढाका कपडाको माग यी उद्योगले पनि धान्न सकिरहेका छैनन्,’ पराजुली ढाका कपडा उद्योगका सञ्चालक ढंगराज पराजुलीले भने, ‘मागअनुसारको उत्पादन पुर्‍याउन नसक्दा व्यवसायीले सोचेजति आम्दानीसमेत गर्न सकेका छैनन् ।’

सदरमुकाममा रहेको पराजुली ढाका कपडा उद्योगमा मात्र अहिले ५ सय बढीले ढाका कपडा उत्पादन गर्ने काममा रोजगारी पाएका छन् । उद्योगमा महिला र निम्न आय भएकालाई पहिलो प्राथमिकतामा राखेर काम दिएको उद्योगी पराजुलीले बताए । गाउँगाउँमा ३ सय बढी हाते तान दिएर ढाकाका कपडा उत्पादन गर्न लगाएको उनले बताए ।

उद्योगमा कामदारले हातले ढाकाको टोपी, रुमाल, टाई, ब्लाउज, साडी, चोलो, बर्की, कुर्तासुरुवाल, ब्यागलगायत सामान उत्पादन गर्छन् । ‘सबै काम हातैले गर्नुपर्छ,’ श्रमजजीवी ढाका कपडा उद्योगका सञ्चालक रामसिंह आलेले भने, ‘त्यही भएर यति धेरैले एकैसाथ रोजगारी पाएका हुन् ।’ आफ्नो उद्योगमा द्वन्द्वपीडित, दलित,महिला, निम्न आय भएका र सहाराविहीनलाई खोजेर रोजगारी दिएको उनले बताए ।

ढाका कपडा उत्पादन गर्ने उद्योगमा काम गरेबापत प्रत्येक कामदारले न्यूनतम १० देखि ३० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । तेह्रथुमलगायत पाँचथर, धनकुटा, संखुवासभा, इलाम, ताप्लेजुङ, झापा र मोरङका कामदारलाई रोजगारी दिइएको ढाका कपडा उद्योगले जनाएका छन् ।

गाउँगाउँमा निजी स्तरबाट खुलेका ढाका कपडा उद्योगले उत्पादन गरेको कपडा नेपालमा ‘तेह्रथुमे ढाका’ का नामले लोकप्रिय छ । ढाकाका कपडा लोकप्रिय भएपछि ढाका कपडामा चासो राख्ने साना उद्योगीले ‘एक गाउँ एक उत्पादन’ को नाराका साथ जिल्लाका गाउँगाउँमा हाते तान राखेर उद्योग सञ्चालनमा ल्याएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ ।

यहाँ उत्पादित ढाका कपडाको माग नेपालका धरान, इटहरी, विराटनगर, दमक, पोखरा, काठमाडौं लगायत ठूला सहर बजारमा अत्यधिक बढेको ढाका कपडाका व्यापारी बोधराज कार्कीले बताए ।

प्रकाशित : आश्विन ६, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?