पारिवारिक कलहले सडकमै बास

-घर छाडेर हिँडेका र कोहीलाई भने आफन्तले नै घर निकाला गरेर सडकमा छाडेका
-अलपत्र महिला र बालबालिकाको उद्धार र संरक्षणका लागि सम्बन्धित स्थानीय सरकारलाई जिम्मेवारी

काँकडभिट्टा — पूर्वपश्चिम राजमार्गको मेचीनगर, इँटाभट्टा खण्डको बस बिसौनीनजिकै एक अधवैंसे महिला सधैं टोलाएर बसिरहेकी हुन्छिन् । स्थानीयका अनुसार करिब दुई वर्षदेखि यी महिला इँटाभट्टाको सडकपेटीमा बस्दै आएकी छन् ।

पारिवारिक कलहले सडकमै बास

टन्टलापुर घाम, दर्के झरीमात्रै होइन पुसको चिसोको पनि उनलाई पर्वाह छैन । स्थानीय रामवती राजवंशीका अनुसार उनको लामो समयदेखि सडकपेटीकै बास छ ।

स्थानीयले थाहा पाएअनुसार उनी भारतको असमबाट आएकी नेपालीभाषी हुन् । मानसिक सन्तुलन गुमेको छ । त्यसैले यिनले सडकपेटीलाई नै घर ठानिन् । एक स्थानीयका अनुसार उनलाई घर लिएर जान आफन्तहरू पटकपटक आए । तर, यिनी पटक्कै मानिनन् । बरु सवैलाई लखेट्न सफल भइन् । ‘छोरा मान्छे त देख्यो कि झम्टी हाल्छिन्’, स्थानीय रामवतीले भनिन्, ‘खै किन हो छोरा मान्छे देख्नै सक्दिनन् ।’ सडकपेटीमा रात बिताउने नाम, थर र ठेगाना समेत ज्ञात नभएकी यी महिला स्थानीयले दिएको जुठोपुरो खानाबाट गुजारा गरिरहेकी छन् ।

अर्की वृद्धा महिलाको व्यथा पनि उस्तै । पवित्रीदेवी नामकी यी महिला मेचीनगर ६ भट्टराई चोकको एउटा घरको पेटीमा रात काट्छिन् । ठेगाना थाहा छैन । झट्ट हेर्दा मधेसी मूलकीझैं लाग्छ । घरीघरी हिन्दीमा केही भनिरहेकी हुन्छिन् । मैथिली पनि बोल्छिन् । स्थानीय एक महिलाका अनुसार दुई महिनाअघि उनलाई कसैले रातको समयमा छाडेर भागेको थियो । त्यसपछि लिन कोही आएको छैन ।

सडकपेटीमा रात काट्न बाध्य छिन् । स्थानीय एक नास्ता पसलमा जुठो भाँडा माझ्छिन्, त्यसबापत बिहान बेलुकी खाना पाएकी छन् । ‘मेरो आफ्नो कोही पनि छैन सबै मरिसके’, ७० वर्ष हाराहारीकी वृद्धाले भनिन्, ‘मलाई कसले यहाँ ल्याएर छाड्यो थाहा छैन ।’ स्थानीयवासीले वृद्धाका आफन्तले नै छाडेर गएको आशंका गरेका छन् ।

घरमा आनन्दले बसेर छोरा नातिको कमाइ खाने उमेरमा एउटी ७५ वर्षकी वृद्धा दिनभर पोको बोकेर माग्न हिँडछिन् । अरूले दिएको जुठोपुरो खान्छिन् र सडकपेटीमा रात गुजार्छिन् । मेचीनगर ६ वडा कार्यालय नजिकै खुला आकासमुनि यिनको रात बित्छ । यिनी हुन् तिलकुमारी सुवेदी । मानसिक रूपमा यिनी स्वस्थ देखिन्छिन् । पतिले सौतेनी ल्याएर काठमाडौंतिर दोस्रो घरजम गरेपछि यिनी बेसाहाराझैं बनेकी हुन् । एउटा छोरो छ । पशुपतिनाथ मन्दिर छेउछाउ पुरेत्याइँ गरेर बस्छन् । तर, यी वृद्धा आमाको वास्ता कसैलाई छैन । यिनको खास घर इनरुवा नजिकै वलाह भन्ने ठाउँमा हो । ३ वर्ष अघि आफन्तले नै यिनलाई यो सीमा सहरमा बेवारिसे छाडेर हिँडेका थिए ।

‘बिर्तामोडमा पनि आफन्त छन्’, वृद्धाले विलौना गाइन्, ‘तर, कोही भेट्न आउँदैनन्, लगेर एक छाक खुवाउँदैनन् ।’ दु:खलाग्दो कुरा यिनको नागरिकता पनि छैन । नागरिकता भएको भए वृद्धा भत्ता पाउने थिइन् । ‘बुढा छोराले हेर्दैनन्’, उनी आक्रोसित हुँदैथिइन्, ‘हेर्ने भए त सँगै राख्थे होलान् नि, आज यो उमेरमा मागेर सडकमा सुतेर किन हिँड्नु पथ्र्यो होला र ?’

यी तीन प्रतिनिधि महिला पात्र हुन् । झापाका सडकपेटीमा यस्ता महिलाहरू छ्यासछ्यास्ती छन् । प्राय: महिला मानसिक रूपमा विक्षिप्त देखिन्छन् । पारिवारिक कलहलगायतका समस्याले उनीहरू घर छाडेर हिँड्ने गरेको र कोहीलाई भने आफन्तले नै घर निकाला गरेर सडकमा छाडेको देखिन्छ ।

सडकमा अलपत्र महिला तथा बालबालिकाको उद्धार गरी संरक्षण गर्ने जिम्मेवारी पाएको सरकार मातहतको महिला तथा बालबालिका कार्यालय अहिले छैन । यो निकाय सम्बन्धित नगर र गाउँपालिकामा गाभिएको छ । अधिवक्ता दिपेन्द्र भट्टराईका अनुसार यस्ता महिलाको उद्धार र संरक्षणका लागि सम्बन्धित स्थानीय सरकारलाई जिम्मेवारी तोकिएको छ । तर, कुनै पनि स्थानीय तहले सडकपेटीमा अलपत्र परेकाहरूको सहयोगमा कदम चालेको देखिँदैन ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को खण्ड ‘त’ मा ज्येष्ठ नागरिकलगायतका समस्याको समाधान र व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । ऐनमा मानसिक सन्तुलन गुमाएका र सशक्तहरूलाई पुनस्र्थापना र संरक्षणको दायित्व समेत तोकिएको छ ।

उता मुलुकी देवानी संहिताले वृद्ध भएका वा आमालाई गच्छेअनुसार पालनपोषण गर्नुपर्ने उल्लेख छ । ‘दुवै काुननले समातेको छ’, अधिवक्ता भट्टराई भन्छन्, ‘कानुनी व्यवस्था पूर्ण रूपमा छ तर, कार्यान्वयन पक्ष छँदैछैन ।’

प्रकाशित : आश्विन ७, २०७५ ०९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?