विराटनगरमा धमाधम मल

विनोद भण्डारी

विराटनगर — प्रदेश १ को अस्थायी राजधानी विराटनगरमा पछिल्लो समय व्यापारिक मल खुल्ने क्रम बढेको छ । सीमावर्ती भारतीय बजार जोगबनीबाट नजिकै खुलेका मलले त्यतातिरको प्रभाव हट्दै जाने व्यापारीको अनुमान छ ।

विराटनगरमा धमाधम मल

ठूलो लगानीमा सञ्चालनमा आएका र केही सातापछि सञ्चालनमा आउने तयारीमा रहेका मलमा नुनदेखि सुनसम्मको कारोबार हुने सम्बद्ध सञ्चालकको भनाइ छ । पछिल्लो समय झन्डै ५ अर्ब रुपैयाँको लगानीमा व्यापारिक मल महानगरमा निर्माण भएका छन् ।

नयाँ वर्षसँगै भाटभटेनी सुपर मार्केटले एक अर्ब रुपैयाँको लगानीमा आफ्नो १५ औ शाखा सञ्चालनमा ल्याएको थियो । भाटभाटेनीले कारोबार सुरु गरेसँगै विराटनगरको व्यापारमा पर्दै आएको जोगबनीको प्रभावमा सुधार आएको सम्बद्ध व्यवसायीको बुझाइ छ ।

सात तले भवनमा कपडा, पेय पदार्थ, जुत्ता, चप्पल, तरकारी, फलफूल, विद्युतीय सामग्रीलगातयत ४० करोड रुपैयाँ मूल्यभन्दा बढीका १ लाख २५ हजारभन्दा बढी प्रकारका सामग्री रहेको भाटभटेनी सञ्चालनकको दाबी छ ।

मेनरोडका अतिथि सदन अगाडिको १८ कठ्ठामा करिब एक अर्ब रुपैयाँको लगानीमा बनिरहेको सेन्ट्रल मल आउँदो दसैंदेखि सञ्चालनमा आउने त्यसका सञ्चालक प्रकाश मुन्दडाले बताए । विशाल ग्रुप, मुन्दडा ग्रुप र सरभी ग्रुपको संयुक्त करिब एक अर्बको लगानीमा सञ्चालनको तयारीमा रहेको महलमा नुनदेखि सुनसम्मको कारोबार हुने उनको भनाइ छ ।

मलमा सिनेमा हल, डिपार्टमेन्ट स्टोर, सयवटा पसल, रेस्टुरेन्ट, बालबालिकाका लागि मनोरञ्जन स्थललगायतको सुविधा रहने बताइएको छ । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका मुन्दडाका अनुसार सञ्चालनमा आएका र आउने तयारीमा रहेका व्यापारिक मलको कारोबारपछि सस्तो मूल्यमा सामान पाइने बहानामा सीमावर्ती जोगबनी बजार पुग्ने उपभोक्ता यतै आकर्षित हुनेछन् ।

त्यसैगरी १ अर्ब ७० करोड रुपैयाँको लागतमा सेञ्चुरियन मल निर्माण भइरहेको छ । यसलाई ८ महिनाभित्र सञ्चालनमा ल्याउने सञ्चालक मोती दुगडले बताए । उनका अनुसार धरान रोडनजिक १ बिघा ८ कठ्ठामा निर्माणाधीन छ ।

त्यस्तै यहाँको जनआन्दोलन चौकमा यसअघि डिपार्टमेन्ट स्टोर र रेस्टुरेन्ट सञ्चालन गर्दै आएको नेपाल बजारले पनि कोसी राजमार्गको धरान रोडमा आफ्नो व्यावसायिक मल निर्माण गरिरहेको छ । उक्त भवनमा सुपरमार्केट, रेस्टुरेन्टसहित खेलकुदका लागि व्यवस्था गरिने बताइएको छ ।

यी मल सञ्चालनमा आएपछि जोगबनी बजारको प्रभाव विराटनगरमा शून्य हुने मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाको बुझाइ छ । त्यसैगरी नयाँ वर्षकै अवसर पारेर यहाँ ५० करोड रुपैयाँको लागनीमा होटल बिग सञ्चालनमा आएको छ ।

रोडशेष चोकमा सञ्चालनमा आएको यो होटलले थ्री स्टारस्तरको सुविधा उपलब्ध गराउने सञ्चालकको दाबी छ । यो होटलमा वातानुकूलित ५३ कोठा, ३ स्वीट रुम छन् । स्विमिङपुल र रुफ टप रेस्टुरेन्टको सुविधा रहेको होटलले जनाएको छ ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?