२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

संक्रमणले थला पर्दै चौपाया

माङसेबुङ १ गजुरमुखी र माङसेबुङ २ इभाङको तल्लो क्षेत्रका किसानले पालेका पशुमा खोरेत रोगको संक्रमण

इलाम — माङसेबुङ गाउँपालिका क्षेत्रमा खोरेत रोगको संक्रमणले घरपालुवा पशु बिरामी पर्न थालेका छन् । माङसेबुङ १ गजुरमुखी र माङसेबुङ २ इभाङको तल्लो क्षेत्रका किसानले पालेका पशुमा खोरेत रोगको संक्रमण देखिएको हो ।

संक्रमणले थला पर्दै चौपाया

पशुका चारैवटा खुट्टा, मुख तथा गिजामा घाउखटिरा आउने, ज्वरो आउने, र्‍याल काड्ने, घाँस नखानेजस्ता लक्षण देखा परेको कृषकले बताएका छन् । राँगा, भैंसी तथा गाईगोरुमा यी लक्षण देखिएको हो ।

माङसेबुङ १ गजुरमुखी धाम, बजार क्षेत्र, पुल एरिया र तोभाङ आसपास तथा माङसेबुङ २ का फेवाखोला बेंसी, सातबिसे, रत्नबसी आसपासमा पालिएको पशुमा खोरेतको संक्रमण देखिएको माङसेबुङ गाउँपालिका पशुसेवा शाखा प्रमुख महेशकुमार राईले बताए । त्यस क्षेत्रमा पहिलोपटक खोरेत रोगको संक्रमण देखापरेको हो ।

अन्य क्षेत्रमा समेत संक्रमण फैलन नदिन गाउँपालिकाले पशु प्राविधिकको टोलिलाई संक्रमित स्थलमा खटाएको छ । मधेसबाट ल्याइएका पशुबाट यस क्षेत्रमा रोग सरेर आएको हुन सक्ने पशु स्वास्थ्य विज्ञहरूको भनाइ छ । ‘यो क्षेत्रमा पहिलोपटक पशुमा यस्तो समस्या देखियो,’ गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले भने, ‘तत्काल महामारी नियन्त्रणका लागि सिङ्गो टिम क्रियाशील छ ।’

के हो खोरेत ?
खोरेत गाई, भैंसी, बाख्रा, सुंगुर, बागुर, बँदेल लगायत खुरफाटेका जनावरमा देखापर्ने सरुवा रोग भएको पशु स्वास्थ्यविदको भनाइ छ । यो रोग विभिन्न जनावर जातमा एकैपटक देखा पर्न सक्ने, धेरै जनावर प्रभावित भएता पनि थोरै मात्र मर्ने गर्छ ।

खोरेत विषाणु अति सूक्ष्म, थोरै समयमा धेरै सन्तान उत्पादन गर्ने क्षमता भएको, बाहिरी वातावरणमा लामो समयसम्म क्रियाशील रहन सक्ने हुन्छ । दूषित घाँसपातमा १ महिनासम्म जीवित रहन्छ भने हड्डीसहितको मासुमा लामो समय बाँचिरहन्छ । ‘भाइरल रोग भएकाले यसको पूर्ण उपचार हुँदैन,’ पशु स्वास्थ्य क्षेत्रमा कार्यरत सविन भट्टराईले भने, ‘तर रोगको प्रभाव घटाउन र रोग फैलन नदिने उपाय गर्न सकिन्छ ।’ यो रोगका कारण व्यावसायिक पशुपालक कृषकलाई भने ठूलो नोक्सानी हुने गरेको छ । छोटो समयभित्र खोरेत विषाणुले पशुलाई रोगी तुल्याउन सक्ने र विभिन्न जातका जनावरलाई एकैपल्ट आक्रमण गर्न सक्ने क्षमताका कारण यो रोग महामारीका रूपमा फैलन्छ ।

झवाट्ट हेर्दा खोरेत रोग एकै किसिमको हुने भान परे तापनि रोगको प्रकोप, महामारीको रूप र बिरामी जनावरमा देखा पर्ने घातक स्थिति धेरै हदसम्म खोरेत विषाणुको जात, उपजात र स्ट्रेनमा निर्भर गर्दछ । एक प्रकारको खोरेत विषाणुले महामारी फैलिएपछि तत्कालै अर्को प्रकारको खोरेत विषाणुले रोगी जनावर पुनसंक्रमित हुन सक्छ । गाईभैंसीमा यो रोगको स्पष्ट लक्षण देखा पर्दछ, भेडाबाख्रामा संक्रमण हुने तर लक्षणका आधारमा ठम्याउन नसकिने हुन्छ भने खसीबोका ओसारपसारका कारण नयाँ ठाँउमा खोरेत देखापर्ने गरेको छ ।

बंगुर उग्राउने जनावर जस्तो रोगाणुवाहक हुन सक्दैन तर एउटा रोगी गाईको तुलनामा एउटा रोगी बंगुरले ३ हजार गुणा बढी खोरेत विषाणु उत्पादन गर्न सक्छ । गाईभैंसीमध्ये ५० प्रतिशतको घाँटीभित्र खोरेत विषाणु लामो समयसम्म विद्यमान रहन्छ ।

खोरेत विषाणु गाईभैंसीको घाँटीभित्र ६ महिना र भेडाबाख्राको घाँटीभित्र २ वर्षम्म जीवित रहने, स्वभावमा परिवर्तन हुन सक्ने भएकाले रोगको प्रकोप भइरहन सक्छ । एकैपटक गाई, भैंसी, बंगुरमा रोग देखा पर्ने, स्वाट्ट दूध सुक्ने, खोच्याएर हिँड्ने भएमा खोरेत रोग फैलिएको अनुमान गर्न सकिन्छ । बिरामी जनावरमा सुरुमा कडा ज्वरो आउने, झोक्य्राएर बस्ने, थुतुनो सुख्खा हुने, घाँसपात नखाने, कम उग्राउने गर्छ ।

दुधालु गाई वा भैंसीले अचानक दूध दिन छोड्छ । बिरामी जनावरले खाने फुलको सेतो भाग जस्तो लस्सादार र्‍याल काढ्न सुरु गर्छ । खुरको काप, कल्चौडो र थुनमा समेत फोका र घाउ देखिन्छ । खुर पाक्ने र औंसा पर्न सक्छ । बिरामी जनावरको खुट्टा सुनिन्ने र खोच्याउने गर्छ ।

प्रकाशित : आश्विन ८, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?