कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पर्यटन गन्तव्य बन्दै हिलेधाप

हिलेधापबाट भारतको मिरिक, खरसाङलगायत रमणीय स्थानको दृश्य देखिने

झापा — मिनी माउन्टेन, कृष्णथुम्की जस्ता पर्यटकीय गन्तव्य रहेका पूर्वोत्तर झापाको बाहुनडाँगीमा अर्को एउटा गन्तव्य पनि थपिएको छ । यहाँको ‘हिलेधाप’ पुग्नेहरू प्राकृतिक दृश्यबाट लोभिने गरेका छन् ।

पर्यटन गन्तव्य बन्दै हिलेधाप

‘अर्कै संसार पुगेजस्तो अनुभव भयो’, घुमघामका लागि परिवारसहित पुगेका काँकडभिट्टाका गणेश वस्नेतले भने ‘अत्यन्तै सुन्दर र रमणीय लाग्यो ।’ मेचीनगर १ को देवीगन्जमा पर्ने यो गन्तव्य साँच्चै रमणीय छ । बाहुनडाँगी वजारदेखि करिव ४ किलोमिटर यात्रा तय गरेपछि हिलेधाप पुगिन्छ ।

भौगोलिक रुपमा सुन्दर देखिने हिलेधापवाट भारतको मिरिक, खरसाङलगायत स्थान अवलोकन गर्न सकिन्छ । ‘हिलेधाप झापाको सुन्दर पर्यटकीय गन्तव्य वन्दै छ’, ग्रामीण पर्यटनमा सक्रिय युवा अर्जुन कार्की भन्छन्, ‘यसको प्रवद्र्धनमा अझ मेहनत गर्नुपर्ने अवस्था छ ।’

विगतमा यो क्षेत्र बाह्रै महिना पानी जमिरहने सिमसार जस्तो थियो । तर, स्थानीय श्याम भट्टराईलगायतको प्रयासले यसको स्वरूप फेरिएको हो । उनी एक्लैले अहिलेसम्म करिब ५० लाखभन्दा वढी खर्च गरिसकेको बताएका छन् ।

काठमाडौ, पोखरा आदि स्थानमा २१ वर्षजति च्यउ खेतीमा रमाएका श्याम भूकम्पपछि आफ्नै गाउँ फर्किएका थिए । त्यसयता उनी निरन्तर गाउँको विकासमा छन् । करिब ६ विघा ४ कठ्ठा जमीन लिजमा लिएका छन् । त्यही जमीनलाई पर्यटकीय गन्तव्य वनाउन सक्रिय छन् ।

यहाँ साना ठूला गरी १७ वटा पोखरी छन् । अनेक जातका माछा छन् । टर्की, लोकल कुखुरा, हाँसको त बथान देख्न सकिन्छ । पर्यटकका लागि होमस्टे पनि शुरु गर्ने तयारी भइरहेको उनले बताए । पोखरीमा सयर गर्ने पर्यटकका लागि डुंगा सञ्चालनको तयारी पनि गर्दैछन् । श्याम भन्छन्, ‘अब २० लाख जति खर्च गर्दा पर्यटकका लागि सबै सुविधा उपलव्ध हुनेछ ।’ स्थानीय सन्तोष सुवेदीका अनुसार हिलेधाप यस भेगकै उत्कृष्ठ पर्यटकीय गन्तव्य बन्न सक्ने प्रशस्त सम्भावना रहेको बताए ।

प्रकाशित : आश्विन ८, २०७५ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?