३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

मुख्य कर्मचारी सरुवा: गाउँपालिका ठप्प

असार १० गते हिँडेका प्रमुख प्रशासकीय अधिकृत भदौ लागेपछि मात्र आए र एक साता पनि बसेनन्
एलिसा श्रेष्ठ

भोजपुर — सिंगो गाउँपालिकाको कार्यालय चलाउने मुख्य कर्मचारीहरू विभिन्न बहानामा सरुवा लिएर गएपछि साल्पासिलिछो गाउँपालिकामा समस्या भएको छ । गाउँपालिकाको सामान्य काम गर्न पनि समस्या पर्ने गरेको छ ।

मुख्य कर्मचारी सरुवा: गाउँपालिका ठप्प

प्रमुख प्रशासकीय अधिकृत, सह–लेखापाल, प्रशासन हेर्ने खरिदार एकैचोटी सरुवा भएर गएपछि गाउँपालिकाको दैनिक काम ठप्पजस्तै बनेको छ ।


असार १० गते सम्पन्न पहिलो गाउँसभापछि आर्थिक वर्ष ०७५/७६ को दोस्रो गाउँसभा साउनभित्र गर्नुपर्छ भनेर हिँडेका प्रशासकीय अधिकृत भदौ लागेपछि मात्रै आएका थिए । एक साताजति बसेर आर्थिक लेखा परीक्षण तथा बैंकिङ खाता सार्नुपर्ने भन्दै फेरि गएका थिए ।


गाउँपालिकाको ६ वटै वडाको सार्वजनिक सुनुवाइमा सहभागी नभई प्रशासकीय अधिकृत, सह–लेखापाल, प्रशासनका खरिदार र वडा ३ का सचिव भदौ २९ गते नै सरुवा लिएर हिँडेपछि अहिले कार्यालयमा करारका कर्मचारीमात्र छन् ।


कार्यालय खोल्ने र बस्ने मात्रै काम भइरहेको कार्यालय सहयोगी वीरबहादुर बुढाथोकीले बताए । ‘अहिले भएका सबै करार कर्मचारीलाई कार्यालयमा आएर ढोका खोल्नु र टेबुल रुँघ्नुबाहेक केही काम छैन । मुख्य सरहरू सबै सरुवा जानुभएपछि अहिले खासै काम चलेको छैन ।’


कर्मचारी सरुवा लिएर हिँडेपछि नजिकिएको गाउँपालिकाको दोस्रो गाउँसभा समेत अन्योलमा परेको छ । योजनाहरू सञ्चालन गर्न, बजेट निकासा गर्न, लेखा प्रशासनका काम हेर्ने मुख्य कर्मचारी नै नहुँदा करार कर्मचारीहरूको तलबभत्ता पनि निकासा हुन सकेको छैन ।


प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइराला ५ महिना पूरा नहुँदै सरुवा भएर काभ्रे र सहलेखापाल दलबहादुर भट्टराई बढुवा लिएर सिरहा गएपछि गाउँपालिकाको दैनिक कामदेखि सामान्य बैठकसमेत सञ्चालन गर्न समस्या भएको छ ।


प्रशासन फाँट हेरिरहेका खरिदार सन्तोष लुइँटेल मोरङको सुन्दरहरैंचा पुगेका छन् । वडा ३ का सचिव पेमाध्वज तामाङ पनि सरुवा लिएर रामेछाप गइसकेका छन् । हाल गाउँपालिकाको कामचलाउका लागि निमित्त प्रशासकीय अधिकृतको रूपमा स्वास्थ्य शाखा संयोजक जगन्नाथप्रसाद साहलाई राखिएको छ ।


गाउँपालिकाका १ र २ वडा वडासचिवले धानिरहेका छन् भने वडा ४ सचिवविहीन छ । दसैं नजिकिँदै गर्दा कर्मचारी अभावले विकास बजेट विनियोजन तथा कर्मचारी, शिक्षकको तलब वितरणसमेत अन्योलमा परेको गाउँपालिकाका सूचना तथा सञ्चार प्रविधि अधिकृत ईश्वरप्रसाद भट्टले बताए । ‘दसैं नजिकिएको बेला तलब आउने कुनै छाँट देखिँदैन,’ उनले भने ‘बिजोग भएको छ ।’


असोज २० गतेभित्र गाउँसभा सम्पन्न गरिसक्ने लक्ष्यले कर्मचारी ल्याउन गाउँपालिकाका अध्यक्ष महेश राई मन्त्रालय धाइरहेका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्वीकृति दिए समयमै गाउँसभा गरेर सबै कर्मचारीको तलबभत्ता खुवाउन सहज हुने अध्यक्ष राईले बताए । ‘एकैपटक तीनैजना हिँडेपछि हामीलाई योजनाका कामहरू चलाउन समस्या भएको छ । आर्थिक पाटो पुरै बन्द छ,’ उनले भने ‘सबैजसो काम ठप्प भएको छ, दोस्रो गाउँसभा पनि सर्‍यो ।’


कर्मचारी नहुँदा दैनिकजसो सयौंको संख्यामा आउने सेवाग्राहीहरू रित्तो हात फर्कने गरेका छन् ।

प्रकाशित : आश्विन ९, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?