२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

जंगलको निगुरो काठमाडौंसम्म

विराटनगर — झट्ट हेर्दा जंगलमा पाइने सामान्य निगुरो । तर त्यही निगुरोले मोरङको चारकोसे जंगलको आसपास बस्ने अधिकांशको गुजारा चलेको छ । यो जंगलबाट सिजनमा मासिक लाखौं रुपैयाँको निगुरो अन्यत्र निर्यात हुने गरेको छ ।

जंगलको निगुरो काठमाडौंसम्म

पथरी, बेलवारी, जाँते, लेटाङ, केरावारी, भाउन्ने, कानेपोखरी र लक्ष्मीमार्गका सयौ परिवारको गुजारा यही निगुरोले धानेको छ । ती स्थानवाट दैनिक आधा दर्जन गाडी निगुरो अन्यत्र निर्यात हुने गरेको व्यवसायीको भनाई छ ।


वेलवारी ११ भाउन्नेकी चन्द्रकला राई जंगलवाट दैनिक ५० मुठा निगुरो संकलन गर्छिन् । बेच्न अन्यत्र लैजानु पर्दैन । गाडीसहित भाउन्ने चोकमै आउने व्यापारीलाई उनी प्रतिमुठा १५ रुपैयाँमा बेच्छिन् । जंगलको निगुरो संकलन गर्दा हुने दैनिक सरदर ६–७ सय रुपैयाँले पाँचजना परिवारको गुजारा चलाउदै आएको राईको भनाइ छ ।


भाउन्ने क्षेत्रका सयभन्दा बढी परिवारको मुख्य आय स्रोत निगुरो बिक्री हो । उनीहरू हरेक दिन बिहान चारकोसे जंगल पसेर निगुरो संकलन गर्छन । अनि चोकमा ल्याएर निर्यातकर्तालाई बेच्छन् । ‘१० वर्षदेखि यही काम गरेर परिवारको गुजारा चलाउदै आएको छु,’ ममता विकले भनिन्, ‘बिहान चार घण्टा जंगलमा निगुरो संकलन गर्दा दैनिक ५–६ सय रुपैयाँ आम्दानी हुन्छ ।’


सुरुमा जंगलबाट निगुरो टिपेर बिक्री गर्दा स्थानीय सामुदायिक वन र स्थानीय निकायले प्रतिमुठा ५० पैसा कर लिन्थे । विकका अनुसार अहिले त्यो कर तिर्नु पर्दैन । हरेक दिन मोरङको भाउन्ने, कानेपोखरी, लेटाङ, जाँते, पथरी, लक्ष्मीमार्ग लगायतका स्थानमा निगुरो खरिद गर्न पिकअप भ्यान लिएर व्यापारी पुग्छन । त्यहाँ खरिद गरेको निगुरो प्राय काठमाडौं पुग्ने गरेको व्यवसायी वलराम राईको भनाई छ ।


‘सिजनमा चारकोसे जंगलबाट दैनिक १० गाडीसम्म निगुरो काठमाडौं जान्थ्यो’ उनले भने, ‘अहिले दैनिक तीन गाडीसम्म निर्यात भइरहेको छ ।’ चारकोसे जंगलको मोरङ खण्डमा मात्र निगुरो टिप्ने व्यवसायमा ५ सयभन्दा बढी महिला संलग्न छन । उनीहरू दिनहुँ बिहान निगुरो टिप्न जंगल पसेर १० बजे भित्रमा चोकमा आइपुग्छन् ।


व्यवसायी रामकुमार खत्रीका अनुसार निगुरो काठमाडौंमा प्रतिमुठा २५ रुपैयाँसम्ममा बिक्री हुन्छ ।


उनका अनुसार मोरङबाट काठमाडौं लैजाँदा सुनसरीमा एक गाडीबापत ४ सय रुपैयाँ जिल्ला निकासी कर तिर्नुपर्छ ।


‘एउटा पिकअप भ्यानमा ५ हजार मुठासम्म निगुरो लोड हुन्छ एक मुठा काठमाडौं पुर्‍याउदा ५ रुपैयाँ खर्च पर्न आउँछ,’ उनले भने, ‘एक मुठो निगुरो काठमाडौं पुर्‍याउदा खर्च कटाएर ५ रुपैयाँ नाफा हुन्छ ।’

प्रकाशित : आश्विन ९, २०७५ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?