१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

गाडी ठेल्दै, यात्रा

दीपेन्द्र शाक्य

संखुवासभा — धुपुका धर्म चापागाई खाँदबारीबाट हिले जान ट्याक्सी चढे । सभाखोलासम्मको १६ किलोमिटर सडकमा सजिलै गाडी गुड्यो । सभाखोलाबाट हिलेसम्म यात्रा गर्न भने उनलाई सकस पर्‍यो ।

गाडी ठेल्दै, यात्रा

ठाउँठाउँमा गाडी भासिएपछि ओर्लेर ठेल्नुपरेको उनले बताए । सडकमा ३ फिटभन्दा बढी खाल्डामा गाडी भासिएपछि निकाल्न घन्टौं लाग्यो, उनले भने, कच्ची सडक हिलाम्मे छ, सडक मर्मतको काम भएको छैन, यात्रुलाई समस्या छ ।


एउटा गाडी भासिए त्यसलाई नलिकालेसम्म अरू गाडी अघि बढ्न सक्दैन, उनले भने, लाइनमा घन्टौं बस्नुपर्छ । वर्षायाम सुरु भएपछि जिल्ला प्रवेश गर्ने दुवै मार्ग हिलाम्मे छ, उनले भने, एक घन्टाको सडक यातायातका लागि घन्टौं बिताउनुपर्छ, त्यो पनि दुर्घटनाको उच्च जोखिम मोलेर ।


तेह्रथुमको वसन्तपुरबाट चैनपुर आउने र धनकुटाको लेगुवा हुँदै सभाखोलासम्म आउने सडकको हालत वर्षौंदेखि यस्तै छ । हिँउदमा लाखौं खर्चेर सडक मर्मत भए पनि वर्षात्मा हिलाम्मे भएपछि यात्रु र चालक जोखिम मोलेर गन्तव्यमा पुग्छन् । हिउँदभरि धूलाम्मे सडक वर्षा लाग्नासाथ हिलोको कारण यातायात ठप्प हुन्छ ।


साँघुरो सडक त्यसमा पनि ठूला मालबाहक गाडीको आवतजावतले सडकको स्थिति झनै कमजोर बन्दै गएको स्थानीयको भनाइ छ । ‘हिउँदमा निर्माणको काममा कम ध्यान दिने, वर्षा लागेपछि काम सुरु गर्ने प्रवृत्तिले सडक अझ हिलाम्मे बनेको छ, धर्मदेवी नगरपालिकाका प्रमुख रमेश जिमीले भने, ‘स्कुटर, मोटरसाइकललगायतका साना सवारी साधनबाट आवतजावत गर्ने त कुरै छैन, ठूला सवारीबाट एक किलोमिटर पार गर्न पनि घन्टौं लाग्छ ।’


‘धर्मदेवी नगरमा पर्ने टुटे देउरालीदेखि मुढेसम्मको १२ किलोमिटर सडकको कुरा गरिसाध्य छैन, उनले भने, हिलोको कारण यातायात सञ्चालन गर्न अत्यन्तै सास्ती बेहोर्नुपरेको छ’ यो समस्या यस वर्ष मात्र नभएर वर्षौंदेखिको हो, उनले भने, पक्की सडक निर्माणका लागि ठेक्का लिएको याक्थुमहाङ्ग निर्माण सेवाले निर्माण सम्पन्न गर्ने अवधि सकिन लाग्दा २५ प्रतिशत मात्र काम गरेको छ ।’


लेगुवा–तुम्लिङटार सडकको अवस्था पनि बेहाल छ । बीच बाटोमा निर्माण भइरहेकाले पनि बाटो धेरै हिलाम्मे बनेको छ । ४० करोडको लागतमा स्तरन्नोति भइरहेको छ । निर्माणको सम्झौता एक वर्षअघि भएको थियो, यसको सम्पन्न गर्ने मिति अझै एक वर्ष बाँकी छ ।


निर्माण अवधिको आधा समय बित्दा ३० प्रतिशत मात्र काम भएको सडक डिभिजनले जनाएको छ । वर्षातको समयमा गरिने निर्माणले यात्रुले पाउनुसम्मको सास्ती पाएका छन् । दुवै सडकमा सास्ती भएपछि स्थानीयलाई यात्रा गर्न समस्या भएको खाँदबारीका रमेश भट्टराईले बताए । उनले सडक गतिलो नभएकाले हुटमा राखिएको सामान बाटैमा हराउने गरेको गुनासो गरे ।


चुनाबका बेला यी सडक बाह्रै महिना सञ्चालन गर्ने मुख्य ‘एजेन्डा’ लिएर निर्वाचनमा होमिएकाहरूले अहिले चासो नदिएको स्थानीयको गुनासो छ । ‘चुनावमा हार्नेहरू त हारेर गए, जित्नेहरूको पनि आँखा पुगेको जस्तो लाग्दैन,’ धर्मदेवी १ का धननाथ अधिकारीले भने, बाटोको हालत खराब हुनुमा जनप्रतिनिधि पनि दोषी छन् ।


सडक सहज नहुनुको सम्पूर्ण जिम्मेवारी निर्माण कम्पनीले लिनुपर्ने प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमको तर्क छ । निर्माणको सुरुआतदेखि नै समयमा निर्माण सम्पन्न गर्न दबाब दिए पनि उनीहरूले अटेर गरेको उनले बताए ।


निर्धारित समयमा निर्माण नसक्ने कम्पनीका लागि समय नथप्ने गौतमले पटकपटक ठेकेदारलाई चेतावनी दिएका छन् । टुटे देउराली–मुडे सडकको निर्माण अवधि सकिन लागेको छ, उनले भने, 'अब उसका लागि कुनै बहानामा समय थप हुँदैन । डिभिजन सडकका प्रमुख कृष्णराज अधिकारीले भने ‘पेनाल्टी’ लगाएर काम गराउन उचित हुने बताए । ठेक्का तोडेर अर्को प्रक्रिया सुरु गर्न थप दुई चार वर्ष लाग्छ,' उनले भने, ‘अहिले काम गरिरहेका ठेकेदार कम्पनीलाई कारबाही गरेर थप समय थप्न प्राविधिक हिसाबले राम्रो देखिन्छ ।’

प्रकाशित : आश्विन १०, २०७५ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?