१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

भूकम्पप्रभावित २५ सयको निवेदन

कान्तिपुर संवाददाता

धनकुटा — भूकम्प प्रभावित भएर पनि अनुदानका लागि मापदण्डमा नपरेको भन्दै उजुरी गर्नेको संख्या थपिएको छ । हालसम्म २ हजार ५ सय १५ प्रभावितले निवेदन दिएका छन् । ग्रामिण क्षेत्रका बासिन्दाले पर्याप्त जानकारी नपाउँदा लाभदायी सूचीमा समावेश गर्नबाट छुट भएको गुनासो छ ।

भूकम्पप्रभावित २५ सयको निवेदन

पुनर्निर्माण प्राधिकरणले पछिल्लो समय पुन: पत्राचार गरेर छुट भएकालाई समावेश गर्ने मौका दिएपछि यसको संख्या अझ बढेको जनाइएको छ । पीडितहरूले जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यावस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयमा प्रभावितको सूचीमा नपरेको भन्दै उजुरी दर्ता गराएका हुन् ।


पर्याप्त सूचना अभावका कारण यसअघि नाम समावेश गराउने समयसीमाभित्र पीडितको नाम दर्ता नभएको प्रमुख दीपनारायण शाहले जानकारी दिए । ‘उजुरी दिएका तथा अन्य छुट भएका सबैलाई समावेश गर्न सकिनेछ’ कार्यालय प्रमुख शाहले भने, ‘सूचीकृत हुनबाट छुट भएकालाई प्राधिकरणले फेरि मौका दिएको छ ।’


सबैभन्दा बढी महालक्ष्मी नगरपालिकामा १ हजार ७ सय १८ र कम साँगुरीगढी गाउँपालिकामा ४४ जनाले छुटका लागि गुनासो दर्ता गराएका छन् । सात तहमध्ये सबैमा छुट भएकाको कार्यालयमा उजुरी परेको छ ।


धनकुटा नगरपालिकामा १ सय २, सहिदभूमि गाउँपालिका १ सय ३५, चौबिसेमा ६३ जना प्रभावितले भूकम्प प्रभावितबाट वञ्चित भएको भन्दै गुनासो दर्ता गराएका छन् । प्राविधिक खटाएर वास्तविक प्रभावितको टुंगो लागेपछि अनुदानका लागि सूचीकृत गरिने जनाइएको छ ।


तेस्रो किस्ताको अनुदानका लागि निवेदन आए पनि कतिपयले पहिलो र दोस्रो किस्ताबापतको रकमले घर निर्माण प्रक्रियासमेत नगरेकाले स्थलगत रूपमा निरीक्षण गरेर अनुदान रकम निकासा गरिने जनाइएको छ । जिल्लामा तेस्रो किस्ताबापत २७ करोड ९६ लाख रुपैयाँ अनुदान दिइने तयारी गरिएको छ ।


भूकम्पपीडितलाई पहिलो किस्ता ५० हजार, दोस्रो किस्ता १ लाख ५० हजार र तेस्रो किस्ताबापत १ लाख रुपैयाँ गरी कुल ३ लाख रुपैयाँ वितरण गरिने व्यवस्था रहेको स्रोतले जनाएको छ । जिल्लाका भूकम्प प्रभावितलाई पहिलो र दोस्रो किस्ताबापत ३४ करोड २७ लाख अनुदान रकम वितरण गरिएको छ ।


जिल्लाका २ हजार ७ सय ९६ प्रभावितले पहिलो र दोस्रो किस्ताबापतको रकम प्राप्त गरेको जसअन्तर्गत हालसम्म सात स्थानीय तहका भूकम्प प्रभावित लाभग्राहीमध्ये पहिलो किस्ता अनुदान रकम २ हजार ४ सय ८३ घरलाई १२ करोड २१ लाख ५० हजार र दोस्रो किस्ताबापत १ हजार ४ सय ५७ घरले २१ करोड ८५ लाख रुपैयाँ अनुदान पाएको शाहले बताए ।

प्रकाशित : आश्विन १०, २०७५ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?