कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

जटिल शल्यक्रियामा सफलता

पाठेघरबाहिर गर्भ रहेकी महिलाको सफल शल्यक्रिया
दीपेन्द्र शाक्य

संखुवासभा — मकालु ५ पाथीभरा उम्लिङकी सृष्टि राई सामान्य पेट दुखेपछि जिल्ला अस्पताल खाँदबारी आइन् । अस्पताल आएको केही बेरपछि उनलाई थामिनसक्नु गरी पेट दुख्न सुरु भयो । चिकित्सकले भिडियो एक्सरे गरे ।

जटिल शल्यक्रियामा सफलता

त्यसपछि थाहा भयो उनको पाठेघरबाहिरै गर्भ बसेको रहेछ । गर्भ फुटेपछि आन्तरिक रक्तश्राब सुरु भइसकेको थियो । चिकित्सकले पनि उनलाई थप उपचार गर्न रिफर गर्‍यो । तर, सडक मार्ग वर्षाले हिलाम्मे भएकाले उनको शल्यक्रिया गर्न सुविधासम्पन्न अस्पताल पठाउन समस्या भयो । हवाई जहाजबाट पठाउन पनि टिकट मिलेन ।


त्यसपछि जिल्ला स्वास्थ्य प्रमुख डा. लक्ष्मण खड्का, डा युवराज बस्नेत, डा. श्रृजना पाण्डेय लगायत चिकित्सक टोली अन्योलमा पर्‍यो । शल्यक्रियापछि राईलाई आईसियुमा राख्नुपर्ने पनि हुन सक्थ्यो । त्यो सुविधा यहाँ थिएन ।


चिकित्सकका अनुसार हिलाम्मे सडकमा बाहिर रिफर गर्दा बीचमै ज्यान गुमाउने सम्भावना त्यतिकै थियो । मौसमका कारण जहाजमा पनि पठाउने सम्भावना भएन । ‘व्यथाले झनझन च्यापिसकेको थियो, उपचारमा संलग्न डा. युवराज बस्नेतले भने, ‘सडक मार्ग र जहाजबाट लैजान नसक्ने भएपछि हामीले यहीँ शल्यक्रिया गर्ने आँट गर्‍यौं ।’


झन्डै साढे २ घण्टा लामो प्रयासपछि शल्यक्रिया सफल भयो । ‘पाठेघरबाहिर करिब ७ हप्ताको गर्भ फुटेको थियो,’ स्वास्थ्य प्रमुख डा. खड्काले भने, ‘ठूलो जोखिम मोलेर मंगलबार शल्यक्रिया भयो ।’ उनका अनुसार आन्तरिक रक्तस्रावका कारण पाठेघरमा ३ लिटर रगत जमिसकेको थियो । पर्याप्त उपकरण नहुँदा सुरुमा जोखिम लिन आँट नगरेको तर सबैको सल्लाहअनुसार यहीँ सफल शल्यक्रिया गरिएको उनले बताए ।


शल्यक्रियापछि उनलाई ३ युनिट रगत दिइएको छ । बिहान ८ बजे पेट दुख्न थालेपछि उनका श्रीमान् उत्तमकुमारले अस्पताल ल्याएका थिए । उनको दिउँसो ४ बजे शल्यक्रिया भएको थियो । ‘सृष्टिको गर्भ रहेको समेत पत्तो थिएन, उत्तमले भने, ‘अस्पतालमा डाक्टरले पाठेघरबाहिर बसेको गर्भ फुटेको जानकारी दिएपछि छक्क परें ।’


शल्यक्रियापछि बिरामीको अवस्था सामान्य हुँदै गएको अस्पतालले जनाएको छ । बुधबार पनि चिचिला गाउँपालिका २ की २६ वर्षीया पासाङ शेर्पाको पनि यही प्रकृतिको सफल शल्यक्रिया गरिएको छ । उनको पनि पाठेघरबाहिर गर्भ बसेको थियो । उनको पाठेघरमा राईको भन्दा बढी रगत जमिसकेको थियो । डिस्चार्ज भएर जाँदा सृष्टि र पासाङलाई यातायात खर्चबापत रकम पनि अस्पतालले उपलब्ध गराउने भएको छ ।

प्रकाशित : आश्विन ११, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?