कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बालमन्दिरमा शिक्षक अभाव

५ वटा कक्षामा ३ जनाले पढाउन समस्या भएपछि सहयोगी र बालविकासका शिक्षकले पनि पढाउँदै
कान्तिपुर संवाददाता

संखुवासभा — चैनपुरको बालमन्दिर आधारभूत विद्यालयलाई शिक्षक अभाव भएको छ । कक्षा ५ सम्म पढाइ हुने यो विद्यालयमा ३ स्थायी शिक्षक छन् । एकजना बाल विकास केन्द्रकी शिक्षिका र विद्यालय सहयोगी पनि छिन् ।

बालमन्दिरमा शिक्षक अभाव

कक्षा ५ सम्म पढाउन शिक्षक अभाव भएपछि बालविकास र विद्यालय सहयोगीलाई पनि कक्षा दिइएको छ । प्रधानाध्यापक कल्पना दाहालका अनुसार यो विद्यालयमा कक्षा ५ सम्म ७२ विद्यार्थी अध्यायनरत छन् । ५ वटा कक्षामा ३ जनाले पढाउन समस्या भएपछि सहयोगी र बालविकासका शिक्षकले पनि पढाउने गरेका हुन् ।


‘उनीहरूलाई पनि कक्षा ५ सम्म पढाउने अवसर दिएका छौं,’ उनले भनिन्, ‘योग्यता पुगेकाले कक्षा लिन दिएका हौं, यसले केही राहत मिलेको छ । हामी ३ जनाले मात्र पढाउँदा दूईवटा कक्षा एकै ठाउँमा गाभ्नुपरेको थियो, अहिले समस्या हटेको छ ।’


गरिब र असहायका बालबालिका बालमन्दिरमा पढ्न आउने गरेको उनले बताइन् । २ रोपनी ८ आना जग्गामा रहेको यो विद्यालयमा भवन अभाव छ । ‘भवन अभाव भएपछि शिक्षा कार्यालयबाट एकपटक १६ लाख र अर्को पटक १३ लाख ५० हजार बजेट आयो,’ उनले भनिन्, ‘भवन निर्माण गरिरहेका छौ । पुरानो भवन भूकम्पले भत्काएपछि समस्या भएको थियो, उनले भनिन्, ‘अहिले पुनर्निर्माण गरिरहेका छौ ।’


भवनका लागि एक जना समाजसेवीले ५० लाख रुपैयाँ सहयोग गरेको पनि बताइन् । नेपाल बाल संगठनको अगुवाइमा चैनपुरका पर्वत श्रेष्ठले दाता खोजेर रकम ल्याएको उनको भनाइ छ । ‘श्रेष्ठले शिक्षासेवी कृष्णगोपाल श्रेष्ठसँग ५० लाख सहयोग माग्नुभएछ,’ उनले भनिन्, ‘त्यसपछि नयाँ भूकम्प प्रतिरोधी भवन निर्माण भइरहेको छ, यो भवन निर्माणपछि कक्षाकोठाहरू व्यवस्थित पारिनेछ ।’


भवन निर्माणपछि विद्यालयलाई नयाँ ढंगले चलाउने पर्वतले बताए । दाता खोजेर बाल मन्दिरको संरक्षणमा लागेका छाैं,’ उनले भने, ‘भवन व्यवस्थित भएपछि सबै परिवर्तन गरेर पठनपाठन गर्नेछाैं ।’ त्यसपछि विद्यार्थी संख्या बढ्ने उनले बताए । ०६२/६३ को जनआन्दोलनपछि विद्यार्थी घटेको प्रधानाध्यापक दाहालले बताइन् ।


‘द्वन्द्वका बेला डरले गाउँ छाड्ने धेरै भए, त्यो बेला विद्यार्थी संख्या घटेर २० जनामा सीमित भयो,’ उनले भनिन्, ‘अहिले विद्यार्थी संख्या बढेको छ ।’ नजिकै रहेको माध्यमिक विद्यालयले १२ सम्मका कक्षा सञ्चालन गरेपछि बालमन्दिरलाई समस्या भएको हो ।


गोर्खा वेलयरफेयर सेन्टरका राजन राई, देवराज राई, र डा. सोवी तामाङले दिवा खाजाको व्यवस्था गरिदिएको उनले बताइन् । खाजा व्यवस्थापछि विद्यार्थी बढेका छन् । यो विद्यालयमा व्यवस्थापन समितिदेखि शिक्षकसमेत महिलामात्रै छन् ।

प्रकाशित : आश्विन ११, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?