रूख काटिए, वृक्षरोपण गरिएन
उदयपुर — तीन वर्षयता चुरे र महाभारत पर्वत शृंखलामा हजारौं रुख काटिएका छन् । विद्युत र सडक विस्तारसँगै सामुदायिक वनको कार्ययोजनाअनुसार भन्दै २६ हजार ५ सय २१ रुख काटिएको हो ।

सामुदायिक वन क्षेत्रबाट ८ हजार ३ सय ९३ रुख काटिएको छ । बाँकी सगरमाथा लोकमार्ग, नगदाह–फत्तेपुर–धरान/चतरा–सिन्धुली–हेटौडा सडक योजना, सोलु कोरिडोर र हेटौंडा/ढल्केबर दुहबी ४०० भेभिए प्रसारण लाइन आयोजना विस्तारका लागि रुख काटिएका हुन् ।
आयोजना विस्तारका क्रममा हरियो रुख नै काटिएका छन । सामुदायीक वनले भने ढलापडा/सुख्खा रुख कटान गरेको हो । सरकारले तोकेको मापदण्ड अनुसारनै रुख काटिए पनि वृक्षरोपण भने गरिएको छैन ।
एक रुख काटिएवापत २५ वटा रुख रोप्नुपर्ने भनिए पनि यसो गरिएको छैन । सडक र विद्युत विस्तारका लागि रुख काटिएपनि रुख रोप्ने काम नभएको डिभिजन वन कार्यालयले जनाएको छ । सडक विस्तार भएको क्षेत्रका ४१ सामुदायीक वन क्षेत्रका रुख काटिएको छ ।
सडक र विद्युत विस्तार अयोजनका लागि वातवरणीय असर प्रभाव मूल्याकन गरेर काटिएको छ । तर सामुदायिक वन उपभोक्ता समूहले वातवरणीय असर प्रभाव मूल्यांकन नगरेको वनसम्वद्ध अधिकारीले बताए ।
‘रुख काटिएको क्षेत्रमा हालसम्म वृक्षारोपण भएको छैन,’ डिभिजन वन कार्यालय गाईघाटका उपसचिव वासुदेव झाले भने, ‘रुख काटिएको क्षेत्रमा त्यसबापत २५ गुणा बढी संख्यामा रुख रोप्नुपर्ने हो ।’ तर अहिलेसम्म वृक्षरोपणको काम नभएको उनले बताए ।
रुख रोप्नका लागि बजेट माग गरिए पनि हालसम्म निकासा नभएको धरान/चतरा/ हेटांैडा सडक योजना पूर्वी खण्ड कार्यालय गाईघाटले जनाएको छ । ‘रुख रोप्नका लागि १ करोड ५७ लाख ३४ हजार रुपैयाँ लागत लाग्नेछ,’ डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत लालबाबु यादवले भने, ‘तर हालसम्म रकम उपलब्ध भएको छैन ।’ रकम उपब्ध भए वन कार्यालयले नै रुख रोप्ने उनले बताए ।
सडकले कटान गरेको रुखको क्षतिपूर्ति स्वरुप ७१.८७ हेक्टरमा १ लाख १४ हजार ९ सय ९२ विरुवा रोप्नुपर्ने हुन्छ । तर हालसम्म एउटा रुख पनि रोपिएको छैन । बिरुवा रोप्नुपर्ने ७१.८७ हेक्टर जग्गा उपलब्ध गराउन पनि समस्या हुने वन अधिकारी बताउँछन् ।
सडक विस्तारका लागि ठूलो संख्यामा रुख काटिँदा असर पर्ने सर्वसाधारणले गुनासो गरेका छन् । एकैपटक ठूलो संख्यामा रुख काटिने र त्यसको क्षतिपूर्तिस्वरुप रुख नरोप्दा वातावरणमा असर पर्ने चौडण्डीगढी नगरपालिका प्रमुख खग्रेन्द राईले बताए । ७ सय ९९.५ वर्गमिटर क्षेत्रफल रहेको उदयपुरमा ५३.७३ प्रतिशत क्षेत्रफल वनजंगलले ओगटेको छ ।
प्रकाशित : आश्विन ११, २०७५ १०:२२