२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

करसम्बन्धी विधेयक पारित

कान्तिपुर संवाददाता

विराटनगर — प्रदेशसभा बैठकले प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । ५७ दफामा रहेको यो विधेयकले प्रदेशको क्षेत्राधिकारभित्र पर्ने कर लगाउने र उठाउने काम गर्नेछ ।

करसम्बन्धी विधेयक पारित

विधेयकले छुट्टै प्रदेश कर कार्यालयको परिकल्पना गरेको छ । प्रदेश सरकारका स्वीकृत दरबन्दीका आधारमा एक वा त्यसभन्दा बढी तहका कर अधिकृतहरू, कर सहायक तथा सहयोगीलाई काम लगाउन सक्ने कानुन बनाउन लागेको छ ।


विधेयकको दफा ९ मा घरजग्गा रजिष्ट्ेरशन शुल्कसम्बन्धी व्यवस्था छ । यस्तो शुल्क स्थानीय तहले उठाउने छन् । यसरी उठेको शुल्कमध्ये ६० प्रतिशतले हुने रकम स्थानीय तहले स्थानीय सञ्चित कोषमा राखी ४० प्रतिशत रकम मासिक रुपमा प्रदेश सञ्चित कोषमा जम्मा गर्नुपर्ने छ ।


दफा १० मा सवारीसाधन करको व्यवस्था छ । सवारी कर भन्नाले इन्धन वा ऊर्जा प्रयोग गरी यान्त्रिक शक्तिबाट सडकमा चल्ने साधनलाई भनी परिभाषा गरिएको छ । टाँगा, रिक्सा, पावर टेलर, र विद्युतीय रिक्सालाई समेत सवारीसाधन कर सम्बन्धित स्थानीय तहले लगाउने र उठाउने गर्न सक्ने व्यवस्था छ ।


प्रदेशले मनोरन्जन कर, विज्ञापन करका साथै कृषिमा समेत कर लगाउने भएको छ । विधेयकको दफा १३ मा कृषि आयमा करको व्यवस्था छ । कृषि आयमा लाग्ने कर स्वयंकर निर्धारण प्रणालीमा आधारित हुनेछ । यो कर लगाउने प्रक्रिया प्रदेश सरकारले तोकेबमोजिम हुने जनाइएको छ ।


यसैगरी प्रदेशले पर्यटन शुल्क लगाउने भएको छ । यसरी लगाउने कर पर्यटन क्षेत्रको विकासका लागि जुन तहबाट जति प्रतिशत लगानी भएको छ, त्यहीका आधारमा करको रकम बाँडफाँट गरिने व्यवस्था छ तर प्रदेशमा प्रवेश गरेको आधार मानी भने पर्यटन शुल्क लगाइनेछैन ।


सार्वजनिक महत्त्वमा ध्यानाकर्षण
प्रदेश सांसदले विभिन्न सार्वजनिक महत्वका विषयमा संसद वैठकको शून्य समयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सदस्य साबित्राकुमारी रेग्मीले मानसीक रोगीका लागि निशुल्क उपचार सहितको आवासगृह स्थापनाको माग गरिन् । यसैगरी अर्की सदस्य इन्दिरा राईले संविधान दिवसकै दिन राष्ट्र विखण्डनकारीले खुलासभा गर्दासमेत सरकार मुकदर्शक बनेको भन्दै त्यस्ता गतिविधि रोक्न माग गरिन् ।


सदस्य गोपालचन्द्र वुढाथोकीले सरकारले राजपत्रमा प्रकाशित गरेको चिया मजदुरको दैनिक ज्याला नदिने चिया उद्योगहरूलाई कारबाही गर्न माग गरे । उनले मेची अञ्चलका चिया मजदुरहरू आन्दोलनमा रहेको बताए । यसैगरी अर्का सदस्य उपेन्द्र घिमिरेले मोरङको उत्तर क्षेत्रको शान्ति सुरक्षा दिन प्रतिदिन खस्कँदो अवस्थामा रहेको भन्दै दैनिकजसो हुने चोरी डकैतिको नियन्त्रण गर्न समेत सुरक्षा निकायले नसकेको आरोप लगाए ।


उनले सदनमा मन्त्रीको जवाफ समेत प्रष्ट आउन नसकेको गुनासो गरे । स्थानीय तहले ढुंगा, गिटी, बालुबाको निकासी ठेक्का लगाउने अधिकार दिएको तर कार्य विधि समेत नहुँदा दोहन बढ्ने भन्दै चिन्ता व्यक्त गरे । सदस्य खिनु लङबा लिम्बुले सामाजिक सञ्जाल र विज्ञापनमा महिलाका अश्लील तस्वीर तथा भिडियो राखिएका कारण बलात्कारका घटना बढेको भन्दै प्रदेश १ मा यस्ता कार्यलाई रोक लगाउन माग गरिन् ।

प्रकाशित : आश्विन ११, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?