१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

कागजमा प्रतिबद्धता,काम शून्य

काम नगर्ने ठेकेदारलाई कारबाही नारा मात्र
कुम्भराज राई

अाेखलढु‌ंगा — खिजीदेम्बा गाउँपालिकाको खिजीचण्डेश्वरीमा निर्माणाधीन विमानस्थल वर्षौँ बित्दा पनि प्रगति नदेखिएपछि नागरिक उडड्यन प्राधिकरण कार्यालयमा ठेकेदार कम्पनीले समयमा काम सम्पन्न गर्ने भनेर शुक्रबार कागज गरे ।

कागजमा प्रतिबद्धता,काम शून्य

सांसद यज्ञराज सुनुवारको दबाबपछि प्राधिकरणको इन्जिनियरिङ विभागका प्रतिनिधिसहित बसेर गाल्बा निशान पूर्णिमा जेभीका प्रतिनिधिले प्रतिबद्धता जनाएका हुन् ।

सम्झौता भएअनुसारको बाँकी कामका लागि आवश्यक सामग्री कात्तिक २५ सम्म पुर्‍याउने र पुस मसान्तभित्र टेस्ट फ्लाइटका लागि योग्य बनाउने कागज भएको छ । यस्ता प्रतिबद्धताका लागि ठेकेदारले जतिसुकै कागज गरे पनि काम समयमा बन्दैनन् । कागजकै आधारमा काम सम्पन्न हुने विश्वास सर्वसाधारणमा टुटिसकेको छ । ठेकेदार कम्पनीलाई कारबाही त नेताहरू लोकप्रिय बन्ने नारामा सीमित बनेको छ । यसअघि प्रतिबद्धता भएका जिल्लाकै अन्य दुई महत्वपूर्ण ठेक्का अझै कछुवा गतिमा छन् । तर उनीहरूलाई कुनै कारबाही भएको छैन ।

लिखु गाउँपालिका र रामेछाप जोडिने सिरिसेदेखि टारकेराबारीतर्फको लिखु नदीमाथि बन्ने भनिएको पक्की पुल ठेक्का लागेको ६ वर्ष बितिसकेको छ । पुलको दुईवटा पिलर राख्ने भन्दा अरू काम हुन सकेको छैन । ०६८ सालमा पुल निर्माण गर्ने ठेक्का लागेको थियो । दुई वर्षमा निर्माण सम्पन्न गर्ने सम्झौतासहित कन्काई ओमबुद्ध जेभीले ठेक्का लिएको थियो । तर हाल सम्म पुल बनेको छैन ।

गत ०७३ पेसमा स्थानीय, पुलको ठेकेदार कम्पनी कन्काई ओमबुद्ध जेभिका प्रतिनिधि, सडक डिभिजन कार्यालय खुर्कोटका कार्यालय प्रमुख र सरोकारवालाको उपस्थितिमा ६ महिनामा पुल निर्माण गर्ने जनाइएको थियो । तर हालसम्म न कामले गति लिएको छ न कुनै कारबाही भएको छ ।

मोलुङ र सुनकोशी गाउँपालिका जोड्ने मोलुङ खोलाको पक्की पुल ठेक्का लागेको ६ वर्ष भइसक्यो । तर ५० प्रतिशत काम हुन सकेको छैन । दुई वर्षमा सम्पन्न गर्ने सम्झौता भएको ठेक्का हालसम्म पनि पूरा भएको छैन । राजेन्द्र लोकप्रिय जेभीले सम्झौता गरेको पुल शिलान्यास नै दुईपटक भइसक्यो ।

कम्पनीका प्रतिनिधिले पनि काम गर्ने प्रतिबद्धताको कागजमा यसअघि हस्ताक्षर गरिसकेका छन् । तर अवस्था उस्तै छ । ठेकेदार कम्पनीले काम गर्न नसकेपछि सरोकारवालाको दबाबमा पेश्की बापत् दिइएको ३३ लाख २५ हजार रुपैयाँ तीन वर्षअघि जिल्ला विकास समितिले फिर्ता लिएको थियो । सम्झौता लगत्तै दिइएको पेस्की रकम निर्माण कम्पनीको बैंक ग्यारेन्टी रकमबाट जफत गरी फिर्ता लिएको हो ।

यी केही प्रतिनिधि ठेक्का मात्र हुन् । समयमा काम सम्पन्न नहुने ठेक्काको सूचीमा अरू पनि छन् । त्यस्ता ठेकेदार कम्पनीलाई कारबाही गर्ने भन्दै केही महिनाअघि जिल्ला प्रशासनले सूची बनाएको थियो । तर कतिवटा त्यस्ता कम्पनी थिए भनेर सार्वजनिक समेत गरिएन । एकजना ठेकेदारलाई पक्राउ गरेर केही दिन नियन्त्रणमा राखियो मात्रै । काम नगर्ने अधिकांश ठेकेदार कम्पनीहरू राजनीतिक दल आबद्ध नेताका रहेको स्थानीय युवा सुदिप सुनुवारले बताए । राजनीतिक संरक्षणकै आधारमा विभाग, मन्त्रालय कसैले कारबाही गर्न नसक्ने उनले बताए ।

जिल्लाबाट निर्वाचित सांसद यज्ञराज सुनुवार भने अब ढिलासुस्ती गर्ने ठेकेदारले अटेर गरेमा जुनसुकै हालतमा कारबाहीको दायरामा लाने बताउँछन् । ‘हिजो जे जस्तो वहाना गरेर त्यस्ता कम्पनीले काम गरेनन् । अब त्यो विगत भएको छ ।’ सुनुवारले भने, ‘अब कागजमा उनीहरूले गरेअनुसारको समयभित्र काम नभएमा कसैलाई छुट दिइने छैन र दिनु हुँदैन ।’

रुम्जाटार सञ्चालन पहल
कालोपत्रे भएपछि सञ्चालन बन्द रहेको रुम्जाटार विमानस्थल सञ्चालनको पहल सुरु भएको छ । जिल्लाबासी र सांसद यज्ञराज सुनुवारको डेलिगेशन टोलीले शुक्रबार पर्यटन मन्त्री रविन्द्र अधिकारीलाई भेटी नियमित सञ्चालनको पहल गरेका हुन् । मन्त्रीले नियमित उडानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको टोलीका सदस्यले बताए । त्यसका लागि गोमा एयरसँग कुरा भएको समेत सांसद सुनुवारले बताए ।

प्रकाशित : आश्विन १४, २०७५ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?