१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

सडकमै पार्किङले दुर्घटना बढ्दो

विनोद भण्डारी

विराटनगर — महानगरका मुख्य सडकमा सामानसहितका ढुवानी साधन जथाभावी पार्किङ गर्दा दुर्घटना बढेको छ । शनिबार राति सडकमै पार्किङ गरेर राखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवकको ज्यान गएको छ ।

सडकमै पार्किङले दुर्घटना बढ्दो

महानगर ४ स्थित एयरपोर्ट लाइनको राजेश हार्डवेयर पसल अगाडि पार्किङ गरिएको ना५ख ५८८६ नम्बर ट्रकमा राति सवा १० बजे को८प ७२१५ नम्बर मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको हो । ट्राफिक प्रहरी निरीक्षक शिव पोखरेलका अनुसार ज्यान गुमाउनेमा महानगर ३ का २० वर्षीय अनिश राजबंशी र पथरी शनिश्चरेका २४ वर्षीय रोशन शेर्पा छन् ।


एयरपोर्ट लाइनको निर्माणाधीन सडक खण्डमा पर्ने आँपको रूखमुनि अँध्यारो ठाउँमा पार्किङ गरिएको उक्त ट्रकमा कोसी राजमार्गतिर जाँदै गरेको द्रुतगतिको मोटरसाइकल ठोक्किएको थियो । शेर्पाको घटनास्थलमै र राजबंशीको उपचार क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । सडकमा राति गरिने जथाभावी पार्किङ र दुर्घटनामा अढाई महिनामा मोरङमा मात्रा १६ जनाको ज्यान गएको ट्राफिक प्रहरीको तथ्यांक छ ।


‘दिउँसो महानगर भित्रपर्ने कोसी राजमार्गमा लोड भएका र अनलोड गरिएका कुनै पनि ढुवानीका साधनलाई पार्किङ गर्न दिएका छैनांै,’ पोखरेलले भने, ‘राति अन्यत्रबाट लोड लिएर महानगर प्रवेश गरेका ढुवानीका साधन सडकमै पार्किङ गरेकै कारण शनिबार घटनामा दुई जनाको ज्यान गएको हो ।’


तीन महिनाको अवधिमा ट्राफिक प्रहरीले जथाभावी पार्किङ गर्ने ४ सय ५४ मोटरसाइकल र ३ सय ३१ बस, लहरी र ट्रकलाई कारबाही गरेर ५ लाख १७ हजार ५ सय जरिवाना असुली गरेको छ । त्यस अवधिमा मोरङमा भएका ९५ दुर्घटनामा १६ जनाको ज्यान गएको निरीक्षक पोखरेलले जनाए । उनका अनुसार महानगरभित्रका अधिकांश सडक निर्माणाधीन रहेकाले पनि ट्राफिक व्यवस्थापन गर्न समस्या कठिन भएको हो ।


ट्यांकर पनि सडकमै
नेपाल आयल निगम क्षेत्रीय डिपो विराटनगरमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ३ सय ८० ट्यांकर छन् । तीमध्ये ४५ वटामा १२ हजार लिटर र बाँकी सवैमा २० हजार लिटर पेट्रोलियम पदार्थ अटाउने क्षमता छ । सबै ट्याङकर लोड भएको अवस्थामा पनि राति र दिउँसो विराटनगर–धरान सडकमै पार्किङ गरिदै आएका छन् ।


पार्किङस्थल नभएकाले जोखिमपूर्ण अवस्थामा इन्धन लोड भएका ट्याङकर सडकमा पार्किङ गर्न बाध्य भएको डिपोको भनाई छ । निगमको भण्डारण डिपोसँग जोडिएको १० कठ्ठा जमिनलाई पार्किङ बनाइएको छ । त्यसमा मुस्किलले ६० ट्याङकर पार्किङ हुन्छन् । त्यसबाहेकका सवै लोड भएका ट्यांकर प्रत्येक दिन र रात व्यस्त सडकै पार्किङ गर्नुपर्ने बाध्यता छ । ‘पेट्रोलियम पदार्थ लोड गरिएका ट्यांकर व्यस्त सडकमा दिउँसो र राती पार्किङ गर्दा कुनै घटना भए बाँच्न सक्ने अवस्था छैन,’ निरीक्षक पोखेरलले भने, ‘यो समस्याको समाधान गर्न आयल निगम र महानगरपालिकासँग पटकपटक समन्वय गर्दा पनि समाधानको बाटो निस्कन सकेको छैन ।’


निगमसँग पार्किङका लागि जमिन छैन । लोड गरिएका ट्यांकर सडकमा पार्किङ गर्दा कुनै पनि बेला दुर्घटना भए ठूलो क्षति हुने भन्दै सरोकारवाला निकायको पटकपटक ध्यानाकर्षण गराउने गरिएको छ । डिजल पेट्रोल लोड गरिएका ट्यांकर सडकमै पार्किङ गर्दा कुनै पनि बेला दुर्घटना हुन सक्ने अवस्था रहे पनि तत्काल सुरक्षित पार्किङस्थल निर्माण गर्न गाह्रो भएको महानगर कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन १५, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?