२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

यातायात व्यवस्थापनमा चुनौती

चाडबाड लागेपछि ह्वात्तै बढ्ने सवारीको चापले यातायात व्यवस्थापन चुनौती थप्दै
कुम्भराज राई

ओखलढुंगा — दसैं, तिहार नजिकिएपछि सहरतिर बस्नेलाई ठूलो चिन्ता कसरी सकुशल घर पुग्ने भन्ने हुन्छ । अग्रिम टिकट बुकिङ खुलि नसक्दै सिट नपाइने समस्याले यात्रुलाई सताउँछ । तर यहाँ चाडबाड लागेपछि हात्तै बढ्ने सवारीको चापले यातायात व्यवस्थापन चुनौती बन्ने गरेको छ ।

यातायात व्यवस्थापनमा चुनौती

यस्तो समस्या लामो दूरीको सवारीमा भन्दा छोटो दूरीका सवारीमा बढी देखिने गरेका हुन् । बसमा भन्दा जिपमा यस्तो समस्या देखिने गरेको हो । जिप व्यवसायी सेवा दिनेभन्दा शुल्क असुल्ने धन्दामा लाग्ने गर्छन् । चिशंखुढी गाउँपालिकाको कुइभीर र खानीभन्ज्याङका लागि गत बर्खादेखि बस सञ्चालन हुन सकेका छैनन् । बाटो बस चल्न नसक्ने भन्दै त्यस रुटमा सञ्चालन हुँदै आएका बसहरू बन्द भए ।


बस नचलेपछि बोलेरो र अन्य जिपले मनपरी भाडा असुलेर यात्रु बोक्न थाले । गाउँपालिका अध्यक्ष निशान्त शर्माको पहलमा शुक्रबार जिल्ला प्रशासनमा बस सञ्चालन गर्ने बारे बैठक बसेको छ । बैठकमा माथिल्लो सगरमाथा, हिमाल तराई लगायतका बस सञ्चालक कम्पनीले तत्काल बस सञ्चालन गर्न सहमति जनाएका छन् । बाटो बिग्रिएको ठाउँमा गाउँपालिकाले मर्मत गर्ने प्रतिबद्धता जनाएको छ ।


रिजर्भको नाममा मनपरी भाडा लिएर यात्रु बोक्ने जिपलाई व्यवस्थित गर्ने भन्ने विषय प्रमुख चुनौती भएको स्थानीय अशोक थापाले बताए । कम्पनीमा दर्ता भई रुट परमिट लिएर सञ्चालनमा आएका जिपभन्दा डबल क्यापका बोलेरोहरू समस्या भएको ट्राफिक प्रहरीका नायब निरीक्षक कुमारप्रसाद फुयालले बताए । रातो नम्बर प्लेटबाट कालो नम्बर प्लेटमा परिणत गराएपनि कम्पनीमा दर्ता नभएको कारण बोलेरो जिपसँग रुट परमिट छैन ।


रुट परमिट नभए पनि त्यस्ता बोलेरोले यात्रु बोक्ने भएकाले भाडा मनपरी लिने गरेका छन् । प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेको अध्यक्षतामा बसेको बैठकले बोलेरोलाई समेत टिकट प्रकाशन गरी यात्रुलाई अनिवार्य टिकट उपलब्ध गर्न लगाउने निर्णय गरेको छ । चाड नजिकिएको कारण हाललाई कारबाही नगर्ने र निश्चित समयावधि तोकेर कम्पनीका रूपमा दर्ता गरी सञ्चालन गराउन पहल गरिने प्रजिअ न्यौपानेले बताइन् ।


रुट परमिट नभएका सवारी साधनले नयाँ रुटमा जानुपर्‍यो भने यातायात कार्यालयबाट ‘पटके’ (शुल्क) तिर्नका लागि लहान पुग्नुपर्ने समस्या छ । यसअघि पनि सोलुखुम्बु, ओखलढुंगा र खोटाङका लागि उदयपुर र ओखलढुंगाको सिमानामा पर्ने हर्कपुरमा यातायात कार्यालयको अस्थायी पोस्ट स्थापना गर्न पहल भएको थियो । तर हालसम्म स्थापना हुन नसक्दा सवारीहरू बेलाबेलामा ट्राफिकको कारबाहीमा पर्ने गरेका छन् ।


बसपार्कको अभाव, ट्राफिक जनशक्ति थोरै, खराब बाटोलगायतका समस्याले गर्दा दसैं तिहार जस्ता चाडमा सदरमुकामको कयरे, रमाइलोडाँडा, गोरुमारेभन्ज्याङ जस्ता स्थानमा अस्तव्यस्त हुनेगर्छ । यातायात व्यवस्थापनमा सहयोग गर्नका लागि स्थानीय तहहरूलाई समेत अनुरोध गर्ने प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले बताए ।

प्रकाशित : आश्विन २०, २०७५ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?