कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद्मा राजधानी र नामकरणको चर्चा

‘चाँडै संसद्मा औपचारिक छलफल होस्’
स्थायी राजधानी विकेन्द्रीकरण नगर्न अधिकांश सांसदको सुझाव
लीलावल्लभ घिमिरे

विराटनगर —  सदनमा प्रस्ताव नै प्रवेश नभई राजधानी र नामांकनको बहस हुन थालेको छ । प्रदेशसभा बैठकमा बोल्ने सांसदले प्रदेशको स्थायी राजधानी र नामांकनबारे कुरा उठाउन थालेका छन् ।

संसद्मा राजधानी र नामकरणको चर्चा

आइतबारको प्रदेशसभा बैठकमा ‘प्रदेश खेलकुदका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलमा भाग लिने क्रममा सत्तापक्षकी सांसद सरिता थापाले प्रदेशको स्थायी राजधानी र नामांकनले बाहिरी माहोल तातेको भन्दै सरकारलाई जनताको भावना बुझ्न आग्रह गरिन् ।

‘विधेयक माथिको सैद्धान्तिक छलफलमा भाग लिन आएको छु,’ उनले भनिन्, ‘तर बाहिरको माहोलले राजधानी र नामांकन मात्र दिमागमा छ ।’ उनले यसो भनिरहदा सभामुख प्रदिपकुमार भण्डारीले भने, ‘विषयमा केन्द्रित हुनुहोला ।’ सभामुखको रुलिङपछि थापाले विधेयकका दफा पल्टाउन थालिन् ।


बैठकको शून्य समयमा बोल्दै सत्ता पक्षका सांसद बलबहादुर साम्सोहाङले सदनमा प्रदेशको राजधानी र नामांकनको प्रस्ताव पेस हुन नपाउँदै बजारमा व्यापक बहस सुरु भएको भन्दै प्रस्ताव चाँडो ल्याउन आग्रह गरे । ‘बजारमा चर्चा परिचर्चा चाहिनेभन्दा बढी हुन थालिसक्यो,’ उनले भने, ‘सदनमा बोल्ने माननीयहरू समेत मैले भनेको ठाउँ र नाउँ भएन भने ज्यान समेत खतरामा पर्छ भन्दै संसदीय मर्यादाको समेत खिल्ली उडाइरहेका छन् । सरकारले यसबारे बोल्ने बेला आएको छ ।’


प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद महमद ताहिर मियाँले प्रदेशको राजधानी विकेन्द्रीकृत गर्ने कुरा आफूहरूलाई सह्य नहुने वताए । ‘जहाँ गर्नु छ एकै ठाउँमा गर्नु होस्, जतना र सांसदलाई नै दु:ख दिने काम गर्नु हुँदैन,’ उनले भने, ‘धेरै ढिलो गरी चर्चा सुरु भएको छ । त्यसमा पनि अहिलेसम्म सदनमा प्रस्ताव समेत आउन सकेको छैन ।’


यसैगरी अर्की सदस्य शान्ता पौडेलले प्रदेशको राजधानी एकै ठाउँमा राख्न माग गर्दै भनिन्, ‘सांसदहरूले पनि स्थायी राजधानी र नामांकनको बहस बजार हल्लाबाट सुन्नुपर्ने अवस्था भयो, त्यसैले यो विषयलाई चाँडो सदनमा प्रवेश गराउनुपर्छ ।’


यसअघि बिहीबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने अधिकांश सदस्यहरूले राजधानी र नामांकनका बारेमा बोलेका थिए । संघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्बाहाम्फेलगायत स्थायी राजधानी र नामांनका बारेमा बोलेका थिए । चर्चासँगै पेचिलो बन्दै गएको प्रदेशको स्थायी राजधानीको प्रस्ताव चालु अधिवेशनमा नै ल्याउने तयार सरकारले गरेको थियो । प्रदेशको राजधानी विकेन्द्रीकरण गर्न सकिने अभिव्यक्ति मुख्यमन्त्री शेरधन राईले दिएसँगै सत्तारुढ दल नेकपाको प्रदेश संसदीय दलको बैठकमा पनि यो विषयले प्रवेश पायो ।


स्थायी राजधानी विकेन्द्रीकरण नगर्न अधिकांश सांसदले सुझाव दिएका थिए । २ दिनसम्म बसेको नेकपा संसदीय दलको बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको थियो । तेस्रो दिन लगातार बस्ने भनेको दलको बैठक अनिश्चित बनेको छ । तेस्रो दिनको बैठकमा मन्त्रीहरूले धारणा राख्ने र निर्णय लिने भनिएको थियो । अहिलेसम्म बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन ।


‘भोलिसम्ममा एउटा निर्णयमा पुग्छौं,’ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले भने, ‘मुख्यमन्त्री काठमाडौं जानुभएको छ, आज साँझसम्म आउनुहुन्छ भोलि छलफल गरेर एउटा टुंगोमा पुग्छौं ।’ अहिले सरकार चालु अधिवेशनमा स्थायी राजधानी र नामांकनको प्रस्ताव ल्याउने कि दसैं समेत लागिसकेकाले सदन स्थगन गर्ने भन्ने निर्णयमा पुग्न सकेको छैन ।

प्रकाशित : आश्विन २२, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?