१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पर्यटन गन्तव्य बन्दै पाख्रिबास

संसारी सीमसार संरक्षण क्षेत्र आन्तरिक तथा वाह्य पर्यटक आकर्षणको केन्द्र
पाख्रिबासबाट मकालु हिमशृंखला, अरुण उपत्यकालगायतका रमणीय स्थान देखिने
रमेशचन्द्र अधिकारी

धनकुटा — हेटौंडाबाट घुम्न पुगेका सुमन गौतम दंग देखिन्थे । तस्बिर कैद गर्न उनी तल्लीन थिए । जता हेरे पनि हरियाली र प्राकृतिक सुन्दरताले सजिसजाउ स्थानमा गौतमसँगै पुगेका आन्तरिक पर्यटक रमाइरहेका थिए ।

पर्यटन गन्तव्य बन्दै पाख्रिबास

विगतमा चिहानघारी र झाडीजंगलले दिउँसै पुग्दा पनि मनमा डर उब्जिने पाख्रिबास बजारबाट नजिकै रहेको संसारी सीमसार संरक्षण क्षेत्र अचेल आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ । एकातर्फ ३० फिट अग्लो बुद्धको प्रतिमा त अर्कोतर्फ जोर पोखरी अनि वरिपरि चिया बगान र हरियो चौरले सजिएको उक्त क्षेत्र धनकुटाको पर्यटकीयस्थल हिले बजारबाट ६ किलोमिटर दूरीमा पर्दछ ।


घुम्नका लागि धनकुटा पुग्ने पर्यटकका लागि सीमसार क्षेत्र नयाँ गन्तव्य बनेको छ । ०६९ सालदेखि सीमसार संरक्षण क्षेत्रमा थालिएको निर्माण कार्य पछिल्लो समय आकर्षक स्थलका रूपमा पाएपछि स्थानीयवासी समेत खुसी छन् । पर्यटक आउने क्रम बढेपछि राम्रै प्रयास गरेको भान भइरहेको निर्माण कार्य समितिका अध्यक्ष ज्ञानबहादुर गुरुङको तर्क छ । ‘पानीको स्रोत रहेको स्थानमा पोखरी बनाउने सुरले अगाडि बढदै जाँदा आकर्षक गन्तव्य बन्न पुगेको छ’, उनले भने, ‘यसको श्रेय स्थानीयवासी, जग्गादाता र सरोकारवाला सबैलाई जान्छ ।’ सीमसार क्षेत्र संरक्षण कार्यमा हालसम्म करिब ८० लाख लगानी भइसकेको जनाइएको छ ।


उक्त स्थानमा २२ लाखको लागतमा आकर्षक बुद्ध प्रतिमा निर्माण गरिएको छ । बेलायत, हङकङ लगायतमा बस्दै आएका व्यक्ति र तत्कालीन सांसद धनमाया विकले रकम जुटाएकी थिइन् । विकले १० लाख उपलब्ध गराएको समिति अध्यक्ष गुरुङले बताए ।


२५ रोपनी क्षेत्रफलमा रहेको आकर्षक गन्तव्य सीमसार क्षेत्र निर्माणका लागि तत्कालीन जिल्ला विकास समिति, भूसंरक्षण कार्यालय, वन कार्यालय, स्थानीय विकास मन्त्रालय लगायतले आर्थिक अनुदान उपलब्ध गराएका हुन् । यस्तै प्रदेश सांसद कुसुम श्रेष्ठले गत साल ४ लाख र यस वर्ष १० लाख उपलब्ध गराउने भएकी छन् । स्थानीय तहले समेत चासो दिएको निर्माण समितिका प्रेमबहादुर गुरुङले बताए ।


त्यहाँ रहेका जोर पोखरीमा माछा पालन समेत गरिएको छ । ३० फिट गहिरो पोखरीमा डुंगा शयर गराउने तयारी गरिएको छ । सीमसार संरक्षण कार्यमा स्थानीय रेवत भट्टराई, ज्ञानबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ, विदुर न्यौपाने लगायतले अगुवाइ गरेका थिए । यसैगरी स्वर्गीय गोपाल मानन्धर लगायतले जग्गा उपलब्ध गराएका थिए । बगेर खेर जाने खोलालाई बाँध बाँधेर जोर पोखरी निर्माण गरिएको थियो ।


उक्त स्थानमा पिकनिक, बाल उद्यान, सेमिनार हल लगायतका कार्य तयारी गरिँदैछ । त्यहाँ दैनिक सय बढी आन्तरिक तथा वाह्य पर्यटक भ्रमण गर्दै आएको जनाइएको छ । सीमसार संरक्षण क्षेत्र पर्यटकको प्रमुख गन्तव्य बन्दै गएको पाख्रिबास नगरपालिकाका प्रमुख विर्खबहादुर राईले बताए । पाख्रिबासबाट नियाल्न सकिने मकालु हिमशृंखला, अरुण उपत्यका लगायत आकर्षक थुंकाथुंकीले पनि पर्यटकको मन लोभ्याउने इटहरीबाट पुगेका गोकुल अधिकारीको भनाइ छ ।

प्रकाशित : आश्विन २२, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?