कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गाउँ फर्किएका सांसदलाई स्वागतसँगै गुनासो 

दीपेन्द्र शाक्य

संखुवासभा — प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतम यति बेला गाउँगाउँ पुगिरहेका छन् । निर्वाचनअघि गरेको वाचा पूरा गर्न गौतम गाउँ अभियानमा हिँडेका हुन् ।

गाउँ फर्किएका सांसदलाई स्वागतसँगै गुनासो 

जहाँ पुगे पनि विकास निर्माणको माग बढेको उनले बताए । गाउँ छिर्नासाथ स्थानीयले भव्य स्वागत पनि गर्छन् । त्यसपछि सुरु हुन्छ स्थानीयका गुनासै गुनासो ।


आइतबार मकालु गाउँपालिकाको केन्द्र नुम पुगेका सांसद गौतमलाई स्थानीयले पहिले फूलमाला लगाएर भव्य स्वागत गरे । त्यसपछि सोधे, ‘केन्द्रीय प्रसारण लाइनको बिजुली हामीले कहिलेदेखि बाल्न पाउँछौं ?’


खाँदबारीसँग जोडिएको नुममा केन्द्रीय प्रसारण लाइन पुगेको छैन । उनीहरू धिपधिपे उज्यालोमा बस्छन् । मकालु गाउँपालिकाका प्राय सबै वडामा सोलारको उज्यालो मात्र छ । ‘त्यो पनि मज्जाले घाम लाग्दामात्रै राति बल्छ, स्थानीय दुर्गा पराजुलीले भने, ‘बिजुली नहुँदा समस्यै समस्या छ, नुममा दिनभर हुस्सु लाग्ने भएकाले सोलारले पनि राम्रो व्याटी चार्ज गर्न सक्दैन, बिजुली नभएपछि सञ्चारबाट पनि वञ्चित छौं ।’


नुमका सबैको घरमा सोलारको पाता भने जोडिएको छ । सामान्य बत्ती बालेर रात बिताउनु परेको पराजुलीले सुनाए । कार्यवाहक अध्यक्ष चमेलीलाईले बिजुली नहुँदा सोलारको भरमा सेवा दिइरहेको बताइन् । ‘घाम नलाग्दा काम हुँदैन,’ उनले भनिन्, ‘ब्याट्री चार्ज नभएपछि झ्यापझयाप्प निभ्छ, यसले ठूलो क्षति पारेको छ । धेरै कम्युटर बिग्रिसकेको उनले गुनासो गरिन् । बिजुली उपलव्ध भए गाउँबासीलाई सेवा दिनु सजिलो हुने थियो ।’


चुनावअघि सबै राजनीतिक दलका नेताहरूले बिजुली बालिदिने आवासन दिएका थिए । तर, वर्ष दिन बित्न लाग्दा पनि वाचा पूरा नभएको पराजुलीले बताए । नुमका तारावीर राईले पनि विकास निर्माण र बिजुलीको पर्खाइमा रहेको बताए । उनले यो दसैं पनि अँध्यारैमा मनाउनुपर्ने बताए ।


सांसद गौतमले स्थानीयको माग छिट्टै पूरा हुने आश्वासन दिए । उनले नुममा विजुली बाल्नका लागि अन्तिम तयारी भइरहेको बताए । ‘तपाईहरूको बिजुली बाल्ने सपना पूरा हुँदैछ,’ उनले भने, ‘प्राविधिक कारणले केही समस्या आएको हो, काम भइरहेको छ ।’


उनले बिजुली बाल्न पोल र तार टाँगिसकिएको पनि बताए । बर्षातका कारण पनि समस्या आएको उनले बताए । उनले अरुण तेस्रो आयोजनाको सुरुङ मार्गको पनि अनुगमन गरे । ‘अरुण तेस्रोको काम सोचे जति नभएको पाइयो,’ उनले भने, ‘तीव्र गतिमा काम भएको छैन ।’ उनले अब विकासले फडको मार्ने बताए ।


उत्तरी क्षेत्र र सदरमुकाम आसपासका गाउँमा पुग्दा स्थानीयले विकास चाहेको सांसद गौतमले बताए । ‘जिल्लाका धेरै गाउँमा बीसौं वर्षअघि निर्माण भएका झोलुङगे पुलहरू छन्, उनले भने, ‘सबै पुराना भएकाले गाउँलेको माग पक्की पुल, गाउँसम्म जाने कच्ची नै भए पनि सडक छ, सबै माग एकै पटक पूरा गर्न सकिँदैन, प्राथमिकताका आधारमा सबै माग पूरा हुनेछ ।’

प्रकाशित : आश्विन २२, २०७५ १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?