भोजपुरका २२ वडा ‘अलैंची जोन’

कान्तिपुर संवाददाता

भाेजपुर — खेती विस्तार गर्दै कृषकले उत्पादन गरेको अलैंचीको बजार व्यावस्थापन र भण्डारण गर्ने लक्ष्यले अलैंची जोन कार्यक्रम ल्याइने भएको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लाका नौवटा स्थानीय तहमध्ये चार स्थानीय तहका २२ वडामा कार्यक्रम लागू हुनेछ  ।

भोजपुरको टेम्के मैयुङ गाउँपालिका २ का किसान अलैंचीका बेर्ना गोड्दै । तस्बिर : एलिसा/कान्तिपुर

अलैंची जोन क्षेत्र निर्धारणका लागि केन्द्रीय स्थलगत प्राविधिक, कषि प्राविधिक र सरोकारवालाको संयुक्त बैठकले यस्तो निर्णय गरेको थियो । कार्यक्रम स्वीकृत भए पनि ती वडाहरूमा क्षेत्र निर्धारणका लागि केन्द्रमा सिफारिस पठाइएको कार्यालयले जनाएको छ ।


Yamaha

क्षेत्रको कार्यालय स्थापनाका लागि कृषिमन्त्रीको उपस्थितिमा सम्पन्न बैठकबाट सिफारिस स्वीकृत भएर आएपछि मात्र उक्त काम सुरु हुने कार्यालयका सूचना अधिकारी युकमणि भट्टराईले बताए । जिल्लाको कुल ३ सय ६० हेक्टर भन्दा बढी क्षेत्रफलमा लगाइने अलैंचीका लागि भोजपुुर, बोखिम, सिद्धेश्वर, गुप्तेश्वर, भैंसीपंखा, हेलौंछा, दोभाने, खावा, ओख्रे, तिम्मा, श्यामशिला, षडनन्द नगरपालिका क्षेत्र, कोट, चम्पे बोया, गोगने, खार्ताम्छा, कुदाककाउले, किमालुङ, आम्तेकलाई पकेट क्षेत्र मानिन्छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाइ खुमलटार ललितपुरको बैठकबाट भोजपुर नगरपालिकाको १ र २, गुप्तेश्वरको ३, सिद्धेश्वरको ४, बोखिमको ५, पोखरेको ५, काउलेको ९, भौसीपंखा १० र आम्तेकको १ मा अलौची जोन क्षेत्र लागू गर्ने निर्णय गरिएको हो । यस्तै षडानन्द नगरपालिकाको ९, किमालुङको १०, साङपाङको १३ , टेम्केमैयुङ गाउापालिकाको १, २, ३, ४, ५, ७, ८, ९, रामप्रसाद राई गाउँपालिकाको १, ओख्रे र अरुण गाउँपालिकाको २, चम्पेगरी जिल्लाका ८१ वटा वडामध्ये २२ मा अलैंची जोन कार्यक्रम लागू गरिने परियोजनाका वरिष्ठ कृषि इन्जिनियर सरोज अधिकारीले जानकारी दिए ।

केन्द्रबाटै प्राविधिक आएर उक्त क्षेत्रको स्थलगत अनुगमनपश्चात् उक्त स्थानहरूमा अलौची जोन कार्यक्रम गरिने भएको हो । गतवर्ष जिल्लाबाट कुल एक सय ९२ टन अलैंची निर्यात गरिएको थियो । ३ वर्षअघि मात्र प्रतिमन १ लाख ३० हजारसम्म बिक्री भएको अलौचीको मुल्य यो वर्ष प्रतिमन २७ हजारमा बिक्री भएको साबिक कृषि विकास कार्यालयले जनाएको छ । अलैंचीको भाउमा आएको भारी गिरावट र अलैंचीमा लाग्ने रोग र बाादर आतंकले गर्दा किसान झन् मारमा पर्ने गरेका छन् । भोजपुरमा रामसई, गोलसई र डम्बरसई जातका अलैंची खेती लगाइन्छ ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:०३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अनाथ जस्तै बालमन्दिर

विप्लव भट्टराई

इलाम — तत्कालीन एमालेका तर्फबाट सुवास नेम्वाङले पटक/पटक चुनाव जित्दा सदरमुकामको बालमन्दिरमा मतदान गरे । ज्येष्ठ सभासदको नाताले संसद्को अध्यक्षता गर्दै मुलुकमा गणतन्त्र घोषणा गर्ने कांग्रेस नेता कुलबहादुर गुरुङको केन्द्र पनि यही हो  ।

यसअघि नगर प्रमुख र राज्यमन्त्री समेत बनेका केशव थापाको पनि मतदानस्थल यही हो । वर्तमान इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पनि यही केन्द्रमा मतदान गरेका थिए । पञ्चायत कालदेखि नै धेरै राजनीतिक कार्यकर्ताका लागि मत बटुल्ने थलो बालमन्दिर थियो ।

उच्च राजनीतिक ओहोदामा पुग्न धेरै नेताको अमूल्य मत दिने थलो बनेको यही बालमन्दिर भने जीर्ण छ । बालबालिकालाई आवश्यक न्यूनतम सुविधा र अधिकारको पक्षमा काम गर्ने उद्देश्यले स्थापित बालमन्दिर पर्याप्त जमिन भएर पनि आफैं अनाथ अवस्थामा पुगेको छ । सदरमुकामको मटुमा रहेको बालमन्दिरलाई पर्याप्त सहयोग नहुँदा र आफ्नो सम्पत्ति सदुपयोग गर्न नसक्दा समस्या भएको हो ।


प्रशासनिक निकायको बीचमा बालमन्दिरसँग ७ रोपनी जमिन छ । तर जमिनको उपयोग हुन सकेको छैन । २०३९ सालमा नै बनेको पक्की भवन अहिले जीर्ण अवस्थामा पुगेको छ । बालमन्दिर परिसरमा बालमन्दिर आधारभूत विद्यालय सञ्चालित छ । तर यो जिल्ला बालसंगठन मातहत भने होइन । यही परिसरमा दृष्टिविहीनका लागि होस्टल सञ्चालन गरिएको छ । ९ जना विद्यार्थी यहाँ बसेर सदरमुकामका विभिन्न विद्यालय जान्छन् ।

आय आर्जनको कुनै स्रोत नहुँदा उद्देश्य अनुरूप सञ्चालन गर्न नसकिएको जिल्ला बाल संगठनका अध्यक्ष नारायण श्रेष्ठले बताए । ‘बालबालिको पक्षमा थुप्रै काम गर्नुपर्ने हो,’ उनले भने, ‘तर केन्द्रदेखि स्थानीय सरोकारवाला कसैले पनि ध्यान नदिँदा प्रभावकारी बन्न सकेको छैन ।’सभाहलसहितको ठूलो भवन अहिले बस्नै नसकिने अवस्थामा पुगेको छ । पटक/पटकको भूकम्पका कारण जीर्ण भवनको मर्मत सम्भारमा पनि कसैले चासो दिन सकेको छैन ।


एकतर्फ जिल्ला प्रहरी कार्यालय रहेको बालमन्दिरको प्राङ्गणको तीनतिरै पक्की सडक छ । तर मन्दिर परिसर भने झोडीले भरिएको छ । बालअधिकारका पक्षमा काम गर्ने थुप्रै संघसंस्था छन् । तर यो जेठो संस्थाको बेहाल देखेर पनि नदेखैझैं गर्ने प्रवृत्ति बढ्दो छ । यहाँ रहेको आधारभूत विद्यालयमा न्यून आयस्तर र अनाथहरू गरी २ दर्जन विद्यार्थी छन् । बालमन्दिर परिसरमा ठूलाठूला रूख रहेको र आवश्यक सरसफाइ नहुँदा भने होस्टलमा बस्नेसहितका विद्यार्थीलाई समस्या छ । यहाँ बनेको शौचालयसहितका केही संरचना जबरजस्ती बनाइएको सरोकारवाला बताउँछन् ।

ठूलो क्षेत्रफल र उपयुक्त स्थानमा रहेकाले स्रोत जुटाएर भवनसहित सडक छेउमा सटर खोल्नुपर्ने संगठनको भनाइ छ । ‘सडक छेउमा सटर खोल्ने हो भने त्यो भाडाको आम्दानीले बालबालिका लागि थुप्रै काम गर्न सकिन्छ,’ श्रेष्ठले भने । अहिले संगठनको भूमिका सामान्य गतिविधिमा नै समिति छ । वर्षमा एकपटक बालदिवसको दिन ग्रामीण क्षेत्रमा गएर खेलकुद, सांगीतिक, शैक्षिकलगायत विभिन्न प्रतियोगिता सञ्चालन गर्दै पुरस्कृत गर्नुबाहेक उति प्रभावकारी देखिएको छैन ।

संगठनसँग भएको रकमले आधारभूत विद्यालयमा १ शिक्षकको व्यवस्था गरिएको छ । तर स्रोत कम्ती भएकाले छ महिनाको मात्र तलब खाएर उनले काम गर्नुपर्ने अवस्था छ । संगठनसँग भएको ५ लाख रुपैयाँको ब्याजबाहेक अरू स्रोत छैन ।


इलाम नगरपालिकाकै फुटुकमा पनि संगठनको नाममा ८ रोपनी जति जमिन छ । तर त्यसको आम्दानी संगठनले पाएको छैन । संगठनले सञ्चालन गर्दै आएको दृष्टिविहीनको होस्टलमा निरन्तर विद्यार्थीसँग रहने गरी ब्रेललिपिको शिक्षक आवश्यक भए पनि त्यो व्यवस्था हुन सकेको छैन ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:०२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT