२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

बिरामीको हितमा ‘बायोइथिक्स’

कान्तिपुर संवाददाता

सुनसरी — चिकित्साशास्त्र र जीव विज्ञानले गरेको प्रगतिबाट उत्पन्न ‘नैतिक विवाद’ को अध्ययन गर्ने बायोइथिक्स (जैवनैतिक) सम्बन्धी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार छलफल गरियो  ।

बिरामीको हितमा ‘बायोइथिक्स’

जैवनैतिकले जैवप्रोद्योगिकी र औषधिसँग जोडिएको राजनीति, कानुन, जीव विज्ञान चिकित्साशास्त्रका विभिन्न पक्षसँग जोडिएका नैतिक मुद्दा उठाउने गरेको छ । विश्वभरि सञ्जाल रहेको बायोइथिक्स समूहमा नेपाल सन् २०१४ मा संलग्न भएपछि प्रतिष्ठानका चिकित्सक विद्यार्थीले प्रत्येक वर्ष जैवनैतिक विषयमा परिचर्चा गर्दै आएका छन् ।

उक्त अवसरमा मानसिक रोग विशेषज्ञसमेत रहेका नेपाल युनिटका प्रमुख प्रा.डा. धनरत्न शाक्यले चिकित्सा, स्वास्थ्य र जीव विज्ञान क्षेत्रमा हुँदै आएका वैज्ञानिक अनुसन्धानमा नीतिनियम (इथिक्स) को अध्यापन, तालिम र अनुसन्धानका लागि बायोइथिक्सको आवश्यकताबारे युनेस्कोको इथिक्स चेयरले जोड दिएको बताए । उनले भने, ‘मानिस र अन्य जीवका प्रजातिको अस्तित्व कायम राख्नका लागि जैवविज्ञान, इकोलोजी, औषधि र मानवीय मूल्य मान्यताको बीच अनुशासनको पाठ सिकाउने विषय बायोइथिक्स मात्र छ ।’

सहभागीले बायोइथिक्स प्राचीनकालदेखि नै बहसको विषय भए पनि पछिल्लो समयमा मानव क्लोनिङ, सरोगेसी, स्टिमसेल, गर्भपतन, इच्छामृत्यु–युथेनेसिया, औषधिको ट्रायल लगायतमा बायोइथिक्सले सवाल उठाउँदै आएको छ । बायोइथिक्सले प्रविधिको विकाससँगै मानवीय स्वास्थ्य अधिकारक्षेत्रमा गरिने प्रयोग व्यावहारिक, मानवतावादी, करुणाशील र मानवीय मूल्य मान्यता मैत्री हुनुपर्नेमा जोड दिँदै आएको सहभागीहरूले बताए ।

बायोइथिक्स विज्ञ प्रा.डा. रानोमल पिर्यानीले बायोइथिक्सको प्रमुख नियम रहेको बताए । उनका अनुसार विश्वव्यापी रूपमा मानिएका मूलभूत नियममा जानेर अन्जानमा कुनै पनि बिरामीलाई हानि नोक्सानी पुर्‍याउनु हुँदैन, बिरामीको हितमा सही निर्णय लिनुपर्ने र चिकित्सकले त्यो निर्णय बिरामीलाई सूचित गर्नुपर्ने, बिरामीलाई उपचारको फाइदा र शल्यक्रिया वा औषधिको साइड इफेक्ट र उपचार खर्चबारेमा जानकारी दिनु र उपचारका लागि चिकित्सक वा अस्पतालमा आएका बिरामी जतिसुकै गरिब भए पनि उपचार गर्नु बायोइथिक्सले भन्दै आएको छ ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?