कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अनाथ जस्तै बालमन्दिर

विप्लव भट्टराई

इलाम — तत्कालीन एमालेका तर्फबाट सुवास नेम्वाङले पटक/पटक चुनाव जित्दा सदरमुकामको बालमन्दिरमा मतदान गरे । ज्येष्ठ सभासदको नाताले संसद्को अध्यक्षता गर्दै मुलुकमा गणतन्त्र घोषणा गर्ने कांग्रेस नेता कुलबहादुर गुरुङको केन्द्र पनि यही हो  ।

अनाथ जस्तै बालमन्दिर

यसअघि नगर प्रमुख र राज्यमन्त्री समेत बनेका केशव थापाको पनि मतदानस्थल यही हो । वर्तमान इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले पनि यही केन्द्रमा मतदान गरेका थिए । पञ्चायत कालदेखि नै धेरै राजनीतिक कार्यकर्ताका लागि मत बटुल्ने थलो बालमन्दिर थियो ।

उच्च राजनीतिक ओहोदामा पुग्न धेरै नेताको अमूल्य मत दिने थलो बनेको यही बालमन्दिर भने जीर्ण छ । बालबालिकालाई आवश्यक न्यूनतम सुविधा र अधिकारको पक्षमा काम गर्ने उद्देश्यले स्थापित बालमन्दिर पर्याप्त जमिन भएर पनि आफैं अनाथ अवस्थामा पुगेको छ । सदरमुकामको मटुमा रहेको बालमन्दिरलाई पर्याप्त सहयोग नहुँदा र आफ्नो सम्पत्ति सदुपयोग गर्न नसक्दा समस्या भएको हो ।


प्रशासनिक निकायको बीचमा बालमन्दिरसँग ७ रोपनी जमिन छ । तर जमिनको उपयोग हुन सकेको छैन । २०३९ सालमा नै बनेको पक्की भवन अहिले जीर्ण अवस्थामा पुगेको छ । बालमन्दिर परिसरमा बालमन्दिर आधारभूत विद्यालय सञ्चालित छ । तर यो जिल्ला बालसंगठन मातहत भने होइन । यही परिसरमा दृष्टिविहीनका लागि होस्टल सञ्चालन गरिएको छ । ९ जना विद्यार्थी यहाँ बसेर सदरमुकामका विभिन्न विद्यालय जान्छन् ।

आय आर्जनको कुनै स्रोत नहुँदा उद्देश्य अनुरूप सञ्चालन गर्न नसकिएको जिल्ला बाल संगठनका अध्यक्ष नारायण श्रेष्ठले बताए । ‘बालबालिको पक्षमा थुप्रै काम गर्नुपर्ने हो,’ उनले भने, ‘तर केन्द्रदेखि स्थानीय सरोकारवाला कसैले पनि ध्यान नदिँदा प्रभावकारी बन्न सकेको छैन ।’सभाहलसहितको ठूलो भवन अहिले बस्नै नसकिने अवस्थामा पुगेको छ । पटक/पटकको भूकम्पका कारण जीर्ण भवनको मर्मत सम्भारमा पनि कसैले चासो दिन सकेको छैन ।


एकतर्फ जिल्ला प्रहरी कार्यालय रहेको बालमन्दिरको प्राङ्गणको तीनतिरै पक्की सडक छ । तर मन्दिर परिसर भने झोडीले भरिएको छ । बालअधिकारका पक्षमा काम गर्ने थुप्रै संघसंस्था छन् । तर यो जेठो संस्थाको बेहाल देखेर पनि नदेखैझैं गर्ने प्रवृत्ति बढ्दो छ । यहाँ रहेको आधारभूत विद्यालयमा न्यून आयस्तर र अनाथहरू गरी २ दर्जन विद्यार्थी छन् । बालमन्दिर परिसरमा ठूलाठूला रूख रहेको र आवश्यक सरसफाइ नहुँदा भने होस्टलमा बस्नेसहितका विद्यार्थीलाई समस्या छ । यहाँ बनेको शौचालयसहितका केही संरचना जबरजस्ती बनाइएको सरोकारवाला बताउँछन् ।

ठूलो क्षेत्रफल र उपयुक्त स्थानमा रहेकाले स्रोत जुटाएर भवनसहित सडक छेउमा सटर खोल्नुपर्ने संगठनको भनाइ छ । ‘सडक छेउमा सटर खोल्ने हो भने त्यो भाडाको आम्दानीले बालबालिका लागि थुप्रै काम गर्न सकिन्छ,’ श्रेष्ठले भने । अहिले संगठनको भूमिका सामान्य गतिविधिमा नै समिति छ । वर्षमा एकपटक बालदिवसको दिन ग्रामीण क्षेत्रमा गएर खेलकुद, सांगीतिक, शैक्षिकलगायत विभिन्न प्रतियोगिता सञ्चालन गर्दै पुरस्कृत गर्नुबाहेक उति प्रभावकारी देखिएको छैन ।

संगठनसँग भएको रकमले आधारभूत विद्यालयमा १ शिक्षकको व्यवस्था गरिएको छ । तर स्रोत कम्ती भएकाले छ महिनाको मात्र तलब खाएर उनले काम गर्नुपर्ने अवस्था छ । संगठनसँग भएको ५ लाख रुपैयाँको ब्याजबाहेक अरू स्रोत छैन ।


इलाम नगरपालिकाकै फुटुकमा पनि संगठनको नाममा ८ रोपनी जति जमिन छ । तर त्यसको आम्दानी संगठनले पाएको छैन । संगठनले सञ्चालन गर्दै आएको दृष्टिविहीनको होस्टलमा निरन्तर विद्यार्थीसँग रहने गरी ब्रेललिपिको शिक्षक आवश्यक भए पनि त्यो व्यवस्था हुन सकेको छैन ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?