१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पारि तर्‍यो दसैं बजार

विनोद भण्डारी

विराटनगर — सीमावर्ती जोगबनी बजारका कारण विराटनगरको व्यापार प्रभावित हुने क्रम रोकिएको छैन । मुख्य पर्व होस् वा अन्य सिजनमा यताका ग्राहक पारि पुग्ने गर्छन् । तुलनात्मक रूपमा कपडा, खाद्यान्न र दैनिक उपभोग्य वस्तु सस्तो पाइने भन्दै उपभोक्ता सीमापारिको बजार जाने गरेका हुन् ।

पारि तर्‍यो दसैं बजार

स्थानीय उत्पादनबाहेक प्राय: सबै उपभोग्य वस्तु पारिबाटै भन्सार र भ्याट तिरेर आयात हुन्छ । ‘त्यही भन्सार मूल्य र भ्याटका कारण विराटनगरमा भन्दा जोगबनीमा उपभोग्य वस्तुको मूल्य फरक छ,’ मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडा भन्छन्, ‘त्यसैले यताका ग्राहक उता जानु स्वाभाविक हो ।’

दसैंमा खासगरी कपडा, जिरा, चिनी, तोरी तेल र खाद्यान्नको कारोबार बढी हुन्छ । ‘ती सामानको खरिद–बिक्री विराटनगरमा छँदै छैन भन्दा पनि हुन्छ,’ सारडाले भने, ‘तिनै सामान किन्न उपभोक्ता सीमापारि पुगेपछि यहाँका पसलमा साहुमात्र भेटिन्छन् ।’

उनका अनुसार विराटनगर बजारमा दसैंको नाममा सुन चाँदी, विद्युतीय सामान र सवारीका साधनको खरिद–बिक्री मात्र भइरहेको छ । अम्बिका वस्त्रालयका अम्बिका अग्रवालका अनुसार गाउँबाट बूढापाका आएर दसैंमा कपडा किन्थे । अहिले किनमेलमा युवा पुस्ता सक्रिय छन् । उनीहरू नै पारि पुगेपछि स्थानीय बजारमा चहलपहल घटेको छ ।

जोगबनीमा सस्तोमा उपभोग्य वस्तु पाइने बहानामा स्थानीय ग्राहक सीमापारि पुग्दा विराटनगरको व्यापार सुस्ताउँदै गएको कपडा व्यवसायी संघका कावा अध्यक्ष नन्दु जाजुको बुझाइ छ । दसैंमा विराटनगरमा दैनिक सरदर १० करोड रुपैयाँको व्यापार हुनुपर्ने हो । ‘तर अहिले सरदर डेढ करोडको व्यापार पनि छैन । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुण्दडाले भने ‘खुला सिमाना र जोगबनी बजारको आकर्षणले विराटनगर सुक्यो ।’

कपडामा १५ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याटका कारण विराटनगर बजार पछि परेको उनको बुझाइ छ । जोगबनी बजारबाट दसैंको नाममा यसबेला दैनिक सरदर ५ करोडभन्दा बढी मूल्यका सामान उपभोक्तामार्फत भित्रिने गरेको मुन्दडाको अनुमान छ । विराटनगरमा यसबेला सुन, विद्युतीय सामान र सावरी साधनको बिक्री बढ्दो छ । लगनको सिजनबाहेक अन्य दिनमा सरदर एक किलो सुनको व्यापार हुन्थ्यो ।

सुनचाँदी व्यवसायी संघका अध्यक्ष गणेश भगतले भने अहिले दसैंको नाममा दैनिक सरदर आढईदेखि तीन किलोसम्म सुनको कारोबार भइरहेको छ । उनका अनुसार दसैंको नाममा विराटनगरमा अहिले दैनिक डेढ करोड मूल्य बराबरको सुनको कारोबार भइरहेको छ ।

त्यसैगरी यसबेला यहाँ सवारी साधनको बिक्री पनि बढेको सम्बद्ध व्यवसायीको भनाइ छ । जग्गाको कारोबार घटेसँगै सवारी साधनको खरिद–बिक्री घटेको थियो । तर दसैंको नाममा बिक्री सुरु भएको छ । अटोमोबाइल्स एसोसिएसन मोरङका उपाध्यक्ष सुवास आचार्यका अनुसार दसैं र तिहारमा विराटनगरमा एक अर्बभन्दा बढी मूल्यमा २ हजार पिस मोटर साइकल र २ सय पिस चार चक्के बिक्री हुने अनुमान छ ।

विराटनगर बजारमा यसबेला टेलिभिजन, फ्रिज, वासिङ मेसिन र ओभनको बिक्री पनि ह्वात्तै बढेको छ । दसैंमा मात्र करिब २० लाख मूल्य बराबरका यस्ता सामान बिक्री हुने लक्ष्य छ । सम्बद्ध व्यवसायी अजय गिरीले भने, ‘दसैं र तिहारमा विराटनगरमा करिब ४ करोड मूल्य बराबरका वासिङ मेसिन, ओभन र फ्रिज बिक्री हुने अनुमान छ ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?