कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पाथीभरामा दर्शनार्थी बढे

पहिला बोकापाठाको बली चढाउने गरिएकोमा पछिल्ला वर्ष भने माना, पाथीमा भरेर सिक्का चढाउने प्रचलन
आनन्द गौतम

ताप्लेजुङ — झापा बिर्तामोडदेखि ताप्लेजुङसम्म जमरे औंसीदेखि दसैंका लागि आउजाउ गर्नेहरूका कारण चहलपहल बढेको छ  । बिर्तामोडदेखि चारआली हुँदै ताप्लेजुङ सुकेटारसम्मको २ सय ४० किलोमिटर मेची राजमार्ग सानाठूला सवारी साधनको दोहोरीलत आउजाउ भइरहेको छ  ।

पाथीभरामा दर्शनार्थी बढे

तराईबाट पहाड उक्लने र फर्कनेको ताँती सुरु भएको छ । बर्सेनि छुट्ने यो ताँती वडा दसैंको पूर्वसन्ध्यामा गरिने धार्मिक भ्रमणमा निस्किएको हो । ३ हजार ७ सय ९४ मिटर उचाइमा अवस्थित पाथीभरामा यो सिजनमा दैनिक पाँच हजारसम्म तीर्थयात्री आउने गरेको माथिल्लो फेदीका होटल ब्यवसायी बताउँछन् ।


पाथीझै चुलिएको मन्दिरमा पुग्न उनीहरूले फुङलिङ नगरपालिका ११ फुरूम्वूको काफ्ले पार्टीसम्म गाडीमा यात्रा गर्नुपर्छ । सुकेटार विमानस्थलदेखि काफ्ले पार्टीसम्मको १२ किलोमिटर भने कच्ची सडकको यात्रा गर्नुपर्छ । त्यसपछिको साढे चार किलोमिटर पैदल यात्रा ।


दर्शनका लागि आउने तीर्थयात्रीको संख्यालाई दृष्टिगत गरी पाथीभरा मन्दिर क्षेत्रमा स्वयंसेवक, सुरक्षाकर्मी परिचालन, होटलहरूको व्यवस्थापन लगायतको काम गरिएको छ । पाथीभरामा क्रियाशील संस्थाहरू पाथीभरा देवी मन्दिर संरक्षण तथा संवद्र्धन समिति, पाथीभरा क्षेत्र विकास समिति र स्थानीय प्रशासनले यसको व्यवस्थापन मिलाएका हुन् ।


फुङलिङ नगरपालिका १० र ११, पाथीभरा ३, सिरिजङ्गा ३, र फक्ताङलुङ गाउँपालिका ४ को शीरमा चुलिएर बसेको मन्दिरमा पुग्ने पैदलमार्गसम्म जस्तै बनाइएको छ । मोटरबाटो पुगेको काफ्ले पार्टीदेखि मन्दिरसम्मै ठूला ढुंगा ओछ्याएर यात्राका लागि सहज बनाइएको र यात्रुलाई कुनै समस्या नहुने समिति उपाध्यक्ष नारान थापा बताउँछन् ।


उकालोमा खानका लागि ठाउँठाउँमा पानीको व्यवस्था गरिएको छ भने मन्दिरमा चिया र तातोपानी खुवाउने व्यवस्था छ । सुकेटारसम्म कालोपत्रे र गोरेटो बाटो पनि हिँड्न सहज भएकाले त्यो बीचको कच्ची सडक नियमित सञ्चालनका लागि १२ जना सडक हेरालु राखिएको क्षेत्र विकास समितिका सदस्य गोपाल न्यौपाने बताउँछन् ।


न्यौपानेका अनुसार उनीहरूले १५ दिनअघिदेखि खाल्डामा ढुंगा हाल्ने, पानी कटाउने र यातायात सञ्चालनमा सहज बनाउने काम गरिरहेका छन । धेरै बिग्रेको सडकमा स्काइभेटर मेसिनले सडक बनाउने कामसमेत गरेको उनले बताए । सडक नियमितताको जिम्मेवारी तत्कालीन जिविस सदस्य ओमप्रकाश राईलाई दिइएको छ । साँझ बिहान हिँड्न सहज बनाउन सडक बत्तीको व्यवस्था गरिएको छ ।


माथिल्लो फेदी अस्थायी प्रहरी चौकीको तथ्यांकअनुसार देसको कुनै पनि जिल्लाका नागरिक पाथीभरा आउनबाट वञ्चित छैनन् । यहाँको चौकीमा तीर्थयात्रीको विवरण राखिन्छ । सबैभन्दा बढी तराईको झापा, मोरङ, सुनसरी र काठमाडौंका यात्रु आउने गरेका छन् । भारतको सिक्किम, आसाम, मनिपुर र दार्जेलिङबाट पूजाका लागि भक्तजन आउँछन् । अधिकांशले समूह बनाएर आफैंले गाडी लिएर आउने उनीहरू सदरमुकाम फुङलिङ र सुकेटारदेखि स्थानीय गाडीमा जान्छन् । सुरक्षा र सहयोगका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले नौरथ सुरु भएसँगै थप जनशक्ति परिचालन गरेको छ ।


स्वास्थ्यका लागि माथिल्लो फेदीमा स्वास्थ्यकर्मीको टिम छ । तल्लो फेदीदेखि माथिल्लो फेदीसम्म बाक्लैगरी होटल तथा लज रहेकाले यात्रीलाई खानबस्नको समस्या नरहेको होटल व्यवसायी इन्द्रनारायण भट्टराई बताउँछन् । प्रशासनले होटलमा रेट बाहिरै टाँस्न लगाएको छ ।


प्राकृतिक सुन्दरता र जैविक विविधताको भण्डार यो क्षेत्रमा शोधकर्ता र पर्यटनमा रमाउनेहरू पनि आउने गरेका छन् । दुर्लभ रेडपाण्डाको प्रमुख बासस्थान यही क्षेत्रमा हो । सुकेटारदेखि भालुगौंडेसम्मको क्षेत्रलाई रेडपाण्डा संरक्षण क्षेत्रका रूपमा लिइएको छ ।


मौसम खुल्दा मन्दिर परिसरवाट ताप्लेजुङमै रहेका ७ हजार मिटर माथिका ११ वटा हिमाल देख्न सकिन्छ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा (८,५८६ मिटर) संखुवासभाको मकालु (८,४६३ मि.) सहजै नियाल्न सकिन्छ तीर्थयात्रीले यिनै हिमाललाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्ने गरेका छन् । उत्पत्तिकालदेखि नै जातजाति, भाषाभाषीको विवाद र विभेद नभएको पाथीभरा सबै जातजातिलाई जोड्ने सेतु पनि हो । त्यसैले यहाँ पूजा र दर्शनमा सबैको सहभागिता रहने गरेको छ ।


परापूर्वकालमा भेडापालकको बथान अकस्मात हराएपछि हतासिएका भेडापालकले चारै दिशामा खोजी गर्दा पनि नपाएको र सपनामा देवीको दर्शन पाएपछि पूजा गर्ने चलन सुरु भएको एकमात्र किंबदन्ती छ । त्यो ओडार अहिले पनि छ । तर, विकटस्थानमा भएकाले त्यहाँ जान भने प्रोत्साहित गरिदैन ।


तत्कालीन राजा वीरेन्द्र, ज्ञानेन्द्र, युवराज दिपेन्द्र, पारसदेखि राष्ट्रप्रमुख विद्यादेवी भण्डारीले दर्शन गरेको पाथीभरा नपुगेका कुनै सरकार प्रमुख नरहेको समिति पदाधिकारी बताउँछन् । विभागीय मन्त्रीहरू त पैदल हिँडेरै देवीको दर्शनका लागि आउने गरेका छन् । प्रधानमन्त्री भने हेलिकप्टरमा आएर फर्कने गरेका छन् ।


पाथीभरामा पहिला बोकापाठाको अधिक बली चढाउने गरिएको थियो । पछिल्ला वर्ष भने माना, पाथीमा भरेर सिक्का पैसा चढाउने तर बली नदिने प्रचलन बढदो छ ।

प्रकाशित : आश्विन २६, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?