कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मापसे सवारी चालक परीक्षा दिँदै

देवनारायण साह

मोरङ — मादक पदार्थ सेवन गरी सवारी चलाउने १ सय ६४ जनाले जिल्ला प्रहरी कार्यालय मोरङमा ट्राफिक नियमसम्बन्धी परीक्षा दिएका छन्  ।

मापसे सवारी चालक परीक्षा दिँदै

सवारी दुर्घटना न्यूनीकरणका लागि मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई ट्राफिक नियमलगायत ऐन कानुनसम्बन्धी परीक्षा दिनुपर्ने नयाँ व्यवस्था मोरङ प्रहरीले मंगलबारदेखि जिल्लाभर लागू गरेको छ ।


जिल्लामा भएका सवारी दुर्घटनाको प्रमुख कारण मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा भइरहेकाले मोरङ प्रहरीले नयाँ नियम लागु गरेको हो । प्रहरीले बुधबारबाट मादक पदार्थ सेवनकत्तर्त चालकको लिखित परीक्षा लिनु सुरु गरेको छ ।


जिल्लाका विभिन्न ठाउँमा चेकजाँच गर्ने क्रममा मंगलबार ८८ र बुधबार ७६ जनाले मादक पदार्थ सेवन गरी सवारी चलाएको ट्राफिक प्रहरीले फेला पारेको थियो । मादक पदार्थ सेवनकर्ता चालकको कागज पत्र नियन्त्रणमा लिई प्रहरी कोड नम्बर लेखेको चिट थमाएका थिए र चालकका आफन्तलाई बोलाएर सबारी जिम्मा लगाइएको प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए ।


‘बुधबार सम्पन्न भएको पहिलो दिनको परीक्षामा ८८ जनामध्ये १५ जनामात्रै उत्तीर्ण भए,’ उनले भने, ‘उत्तीर्ण भएको प्रमाण पत्र प्रदान गरेर ट्राफिक ऐनअनुसारको कारबाही गरी चालक अनुमति पत्रलगायतको कागजातका लागि जिल्ला ट्राफिक प्रहरीमा पठाइएको छ ।’ अनुत्तीर्ण हुनेहरूले पुन: परीक्षा दिएर पास गरेपछि मात्रै कागजात पाउने उनले बताए ।


केसीका अनुसार बिहीबार भएको परीक्षामा २३ जना उत्तीर्ण भएको छ । परीक्षामा सोधिएका ८० वटा प्रश्नमध्ये ६४ वटाको सही जवाफ मादक पदार्थ सेवनकर्ता चालकलाई दिनुपर्ने व्यवस्था गरिएको छ । ६४ वटाको जवाफ नदिनेलाई पुन: परीक्षा दिनुपर्ने व्यवस्था गरिएको केसीले सुनाए ।


‘चाँडपर्व सुरक्षा योजनाअन्तर्गत दुर्घटना न्यूनीकरणका लागि ल्याएको नयाँ नियमलाई निरन्तरता दिन्छौं,’ उनले भने, ‘मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकले घरै बसेर मोबाइलबाटै अनलाइन परीक्षासमेत दिन पाउने सुविधाका लागि प्रविधिको विकास गरेका छौं ।’

मोबाइलबाट अनलाइन परीक्षा दिनका लागि जिल्ला प्रहरी कार्यालय मोरङको वेबसाइटमा गएर क्लिक गरेपछि प्रहरीले दिएको चिट नम्बर माग्छ र त्यो नम्बर लेखेपछि सफटवेयर खुल्ने उनले बताए । सफटवेयर खुल्ने बित्तिकै अटो भिडियो रेकर्ड सुरु हुने व्यवस्था रहेकाले परीक्षामा अरूले सघाउन र चोरी गरेर जवाफ दिनसमेत नपाउने केसीले बताए ।


केसीले सफ्टवेयरमा प्रवेश गरेपछि पहिलो पटक १५ देखि २० वटा प्रश्न आउँछ र त्यसको जवाफ दिएपछि पून: अर्को २० वटा प्रश्नको सेट आउने बताए । उक्त परीक्षामा पास भएपछि जरिवानालगायतका कानुनी कारबाही सुरु हुने र सवारी चालक अनुमति पत्र र सवारीको कागजात प्राप्त गर्न सकिने व्यवस्था गरेकाले मादक पदार्थ सेवन नगरी सवारी चलाउन उनले सबैलाई आग्रह गरे । ‘बढ्दो सवारी दुर्घटना नियन्त्रणका लागि मोरङ प्रहरीको यो नयाँ प्रयास हो,’ केसीले भने, ‘यसअघि मादक पदार्थ सेवन गर्ने सवारी चालकलाई जरिवाना तिराएर ट्राफिक नियम बारे जानकारीमूलक कक्षा दिएर छाड्ने गरेका थियौं तर त्यसले दुर्घटनाको संख्यामा न्यूनीकरण नआएपछि नययाँ व्यवस्था गरेका हौं ।’


यसअघि पहुँचवाला मादक पदार्थ सेवन गरी सवारी चलाउनेले भनसुन गराएर छुट्ने गरेको थियो तर अब डयुटीमा खटेका प्रहरीले मादक पदार्थ सेवन गरेको थाहा पाउने प्रहरीको मोबाइल एपबाट फोटो खिच्ने व्यवस्था गरेको उनले बताए । एपमा फोटो आइसकेपछि कसैको पनि भनसुन काम नलाग्ने केसीको भनाई छ । साउनयता मात्रै मोरङमा एक सय ७१ वटा सवारी दुर्घटना भएका छन् । ८० प्रतिशत दुर्घटना मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा भएको उनले बताए । दुर्घटनामा परेर साउन यता मोरङमा १७ जनाको मृत्यु भएको छ ।

प्रकाशित : आश्विन २६, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?