१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

कुहिएको मासु बेच्दै व्यवसायी

प्रदीप मेन्याङ्बो

सुनसरी — इटहरी उपमहानगर क्षेत्रका विभिन्न मासु पसलमा अनुगमन गर्दा खसी र कुखुराका कुहिएको मासु फेला परेको छ । ती खान अयोग्य रहेको अनुगमनमा रहेका जिल्ला भेटेनरी अस्पतालका डा. मनोजकुमार महतोले बताए । 

कुहिएको मासु बेच्दै व्यवसायी

डा. महतोले अनुगमन गरिएको धेरै पसलको मासु स्वास्थ्यका हिसावले खान खान योग्य नरहेको उल्लेख गर्दै भने, ‘पशु वधशाला तथा मासु जाँच नियमावली २०५७ बमोजिमको मापदण्ड कसैले पनि पालना गरिएको पाइएन ।’ उनका अनुसार मासु व्यवसायीले उपभोक्ताका लागि बिक्री गर्न राखिएका मासुको सुरक्षा र स्वस्थताका लागि मासु पसलमा जाली र सिसा नभएको, टायल लगाएर सजिलै सफा गर्न सकिने अवस्था नभएको, मूल्यसूची बोर्ड नभएको, औजार र जोख्ने सामान सफा सुग्घर नभएको पाइएको थियो । उनले बजारको अनुगमनको क्रममा कुहिएको मासु समेत बेच्न राखेको पाइएकाले मानवीय स्वास्थ्यमाथि मासु व्यवसायीले खेलबाड गरेको बताए ।


डा. महतोले भने, ‘मासुको प्रयोजनका लागि मारिने अस्वस्थ, रोगी पशुपक्षी र मासुका कारण मानिसमा २ सय ७५ किसिमका रोग सर्ने भएकाले उपभोक्ता सचेत रहनुपर्ने अवस्था छ ।’


इटहरी उपमहानगरले गरेको अनुगमनमा सहभागी उपभोक्ता मञ्च नेपालका अध्यक्ष ठगेन्द्र आचार्यका अनुसार केही पसलमा खसी र कुखुराको कुहिएको मासु समेत बेच्न राखेको पाइएकाले त्यस्तालाई कारवाहीको दायरामा ल्याउनुपर्ने बताए । उनले खुला रूपमा नालीका छेउमा समेत मासु पसल राखेको पाइएको, अधिकांश मासु पसलले व्यवसाय दर्ता नै नगरी पसल सञ्चालन गरिरहेको पाइएको बताए ।


बजार अनुगमन टोली संयोजक विजयकुमार मगरले पहिलोपटक सुधारका लागि सचेत गराइएको अर्कोपटक अनुगमन गर्दा सुधार नगरे कारवाहीको प्रक्रियामा जाने मगरले बताए । उद्योग वाणिज्य संघ इटहरीका वाणिज्य सचिव उमेश दाहालले मासु पसलहरूको नाजुक अवस्था भेटिएको, ढक तराजु समेत ढुंगा राखेको पाइएकाले उपमहानगरले व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : आश्विन २६, २०७५ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?