ढुंगाबाट टायल्स बनाउँदै

प्राकृतिक ढुंगा टायल्स घरको बाहिर र भित्र पर्खाल, पिल्लर, भान्छा कोठा, शौचालय, भर्‍याङ, पार्किङ स्थललगायत ठाउँमा लगाउन प्रयोग गरिने
देवनारायण साह

मोरङ — लामो समय विदेश बसेर फर्किएका ५५ बर्षिय बैधकुमार राई अहिले ढुंगा काटदै छन्  । उनले बिभिन्न रंगको ढुंगा काटेर बनाएको टायल्सले बजार लिन थालेको छ  ।

ढुंगाबाट टायल्स बनाउँदै

पदमा पोखरेली ढुंगा कटिङ बेलबारी ४ दत्र्ता गराएर उनले व्यवसायिक ढुंगा टायल्स उत्पादन थालेका हुन् ।


बेलबारी ४ का राईले १७ बर्षको उमेरमा रोजगारीका लागि भारत गएका थिए । ‘काम गर्दै गएपछि भारतीय सेनामा प्रवेश गरेर १८ बर्ष बिताएँ,’ उनले भने, ‘सेनाबाट अवकास प्राप्त जीवन गुजार्न सन् २००५ मा गाउँ फर्केर सुरु गरेको खेती पोसाएन र २००७ मा पून: भारतको रिलायन्स कम्पनीको जहाजमा काम गर्न गएँ ।’


जहाजमा माल्दिभ्स पुगेको बेला एउटा मन्दिरमा ढुंगाको टायल्स लगाएको देखेपछि आफू आकर्षित भएको उनी भन्छन् । ‘हाम्रो देशमा ढुंगैढुंगा छ, यो कसरी काटेर लगाएको होला भन्ने जिज्ञासा बढदै गयो तर त्यहाँ भाषिक कठिनाईले त्यस बारेमा जान्न पाएनौं,’ राईले भने, ‘जहाजमा तीन बर्ष काम गरेपछि अफगानिस्तान स्थित अमेरिकन दुताबासमा सेक्युरिटी गार्डमा काम गर्न गएँ ।’


उनी अफगानिस्तानबाट विदामा घर आएको बेला सँगै काम गर्ने पोखराका साथि बिष्णु गुरुङको घरमा पार्सल पुर्‍याउन गएका थिए । त्यहाँ पनि ढुंगाको टायल्स घरमा लगाएको हेरेको उनले सुनाए । ‘टायल्सको बारेमा बिष्णुको घरमा जिज्ञासा राखेपछि उनको भिनाजुले पोखरा औद्योगिक क्षेत्रमा देखाउन लग्नु भयो,’ राईले भने, ‘औद्योगिक क्षेत्रमा ढुंगा काटेको टायल्स राखेको हेरेँ ।’


पोखरास्थित भुजरुङ खोलामा रहेको ढुंगा काटेर टायल्स बनाउने गरेको जानकारी प्राप्त गरेपछि आफै खोलामा हेर्न गएको उनले बताए । ‘खोलामा एक हप्ता बसेर ढुंगा काट्नेलगायतको सम्पूर्ण काम नै सिकेर घर आएर पून: अफगानिस्तान फर्केँ,’ उनले भने, ‘आफूले रुचाएको काम सिकिसकेकोले अफगानिस्तानबाट फर्केर आफ नै खेती रहेको १० कठ्ठा जग्गामा पदमा पोखरेली ढुंगा कटिङ प्राली स्थापना गरेँ ।’


राईले फाल्गुनबाट ढुंगाको टायल्स उत्पादन सुरु गरेको बताए । ‘पोखरा औद्योगिक क्षेत्रबाट ढुंगा कटिङ डायमण्ड मेसिन २ लाख ५५ हजार रुपैयाँमा खरिद गरेर घर ल्याइसक्दा तीन लाख खर्च लाग्यो,’ उनले भने, ‘तेह्रथुमको जिरिखिम्तीस्थित निजी जग्गाबाट दुधे, दलसिंह, तीन किसिमको कालो र रातो, पहेलो झिर्के र रफ ढुंगा ल्याएर टायल्स उद्योग सञ्चालन गरिरहेको छु ।’ उनले एक ट्रकको ढुंगाको ४२ हजार लागत पर्ने गरेको र २ ट्रक ल्याएपछि ६/७ महिना पुग्ने बताए । अब भोजपुरको लेगुवाबाट ल्याउने तयारी गरेको राईले सुनाए ।


अहिलेसम्म आफैले ढुंगा काट्ने गरेको र साथमा एक जना हेल्फर र ३ जना ढुंगा र टायल्स मिलाउने र ३ जना मिस्त्रिलाई रोजगारी दिएको उनले बताए । ‘प्राकृतिक ढुंगा टायल्स घरको बाहिर र भित्र पर्खाल, पिल्लर, भान्छा कोठा, शौचालय, भर्‍याङ, पार्किङ स्थललगायत ठाउँमा लगाउन प्रयोग गरिन्छ,’ उनले भने, ‘घरमा ढुंगे टायल्स लगाउँदा बाहिरको तातो र चिसो दुबै कोठाभित्र जाँदैन जसले गर्मीमा चिसो र जाडोमा तातो रहन्छ ।’


राईका अनुसार प्राकृतिक ढुंगे टायल्स लगाएपछि घर रहुञ्जेल रंग लगाउने झण्झटबाट मुक्त हुन्छ र आफूले रोजे जस्तो बुट्टा र रंगको टायल्सले घरलाई आकर्षक डिजाइनमा ल्याउन सकिन्छ ।


आफूले २ रुपैयाँ मुनाफा राखेर प्रति टायल्स ३५ रुपैयाँमा बिक्री गरिरहेको राइले बताए । ‘ठेक्कामा पनि टायल्स लगाउन सुरु गरेको छु,’ उनले भने, ‘सामान्य डिजाइनमा ३ सय र आकर्षक डिजाइनमा ३ सय ५० रुपैयाँ प्रति वर्ग फिटमा ढुंगे टायल्स लगाउने गरेको छु ।’ हालसम्ममा बेलबारीमा ३, इटहरीमा, लक्ष्मिमार्ग र उर्लाबारीमा १/१ वटा घरमा ढुंगे टायल्स लगाइसकेको उनले सुनाए । घरमा लगाउन ढुंगे टायल्स र शौचालय, भान्छा, भर्‍याङ र पार्किङ स्थलमा लगाउन प्लेट उत्पादन गरेर बिक्री गरिरहेको उनको भनाई थियो ।


हालसम्ममा टायल्स बेचेर करिव ७ लाखसम्मको टायल्स र ढुंगा गोदा मगर्न सफल भएको राईले सुनाए । ‘टायल्स उद्योगले आफ्नै देशमा उत्पादनमूलक काम गर्ने धोको पुरा भएको छ,’ उनले भने, ‘प्रदेश १ र २ मा आफूले पहिलो पटक ढुंगे टायल्सको उत्पादन सुरु गरेको र यसको बजार पनि धेरै ठूलो रहेको छ ।’


राईले आफ्नो एक मात्र छोरा वैदेशिक रोजगारिका लागि कतार गएको र अब उनलाई पनि यही व्यवसायलाई अघि बढाउन फर्काउने योजना रहेको बताए । सरकारले यही केही गर्ने सोच भएका युाहरूलाई सहज रुपमा सुबिधा दिनसके विदेश पलायनमा न्यूनीकरण हुने उनको भनाई छ । ‘मैले विद्युत लाइन दिन नै कर्मचारीले ११ महिना अल्झाएर राखे,’ उनले भने, ‘केही गर्ने सोच भएका व्यक्तिलाई सरकारले बिना झण्झटिलो सहज रुपमा तत्काल सेवा दिने व्यवस्था गर्नुपर्छ ।’

प्रकाशित : आश्विन २७, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?