कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

व्यापारिक केन्द्रमा चहलपहल

दसैं आयो
चन्द्र कार्की

तेह्रथुम — दसैं नजिकिँदै गर्दा जिल्लाका बजार क्षेत्रमा व्यापारिक चहलपहल वढेको छ  । ग्रामीण क्षेत्रमा गत वर्ष खनिएका सडकमा सवारी नचलेपछि खाद्यान्नलगायत सामान लिन गाउँगाउँबाट मानिस सदरमुकाम लगायत बजार क्षेत्रमा आएका छन्  ।

व्यापारिक केन्द्रमा चहलपहल

म्याङलुङ, वसन्तपुर, जिरिखिम्ती, संक्रान्ती, शुक्रबारे, मोराहाङलगायत बजार क्षेत्रमा चहलपहल बढेको हो । ग्रामीण सडकमा सवारी नचल्दा गाउँलेले सामान ढुवानी गर्न पाएका छैनन् ।

जिल्लाको तल्लो क्षेत्रमा समेत धान पाक्न ढिला भएकाले धान खेती गर्ने किसान समेत चामल लगायतका अन्य उपभोग्य वस्तु खरिदका लागि बजार क्षेत्रमा आएका छन् । ‘यो वर्ष धान पाक्न ढिला भयो,’ लालीगुराँस नगरपालिका ६ सुङनाका लोकनाथ घिमिरेले भने ।

गाउँका कच्ची सडक वर्षाको पानीले बगाएकाले अहिले टयाक्टर समेत सञ्चालन हुन नसकेको उनले गुनासो गरे । लत्ता कपडा, चामल, चिउरा, चिनी, तेल जस्ता वस्तु किन्न गाउँलेहरू हुल बाँधेर पायक पर्ने बजारमा आइरहेका छन् ।

दसैंको चहलपहलका कारण व्यापार पनि चम्किएको उद्योग वाणिज्य संघ वसन्तपुर उपशाखाका अध्यक्ष दुर्गा सुवेदीले बताए । बजारमा खाद्यान्न र लत्ता कपडाको व्यापार निकै बढेको छ ।

दसैंका लागि सामान किन्न गाउँलेहरू आउन थालेपछि व्यापारीलाई पनि भ्याइनभ्याइ छ । वर्षभरिको व्यापार यही समयमा हुने गरेकाले व्यापारीहरू अहिले बोल्न समेत भ्याउँदैनन् । कच्ची मोटरबाटो निर्माण सँगै गाउँघरतीर खुलेका साना पसलमा सामान महँगो हुने भएकाले टाढा बाटो हिँडेर भए पनि ग्रामीण क्षेत्रका बासिन्दा ठूला सहर बजारसम्म आइरहेका छन् ।

गाउँबाट आएर अध्ययनका लागि सदरमुकाम र अन्य बजार क्षेत्रमा बसेका विद्यार्थी र उनीहरूका अभिभावकका कारण पनि चहलपहल बढी छ । दसैंमा जसरी पनि राम्रो लगाउने र मीठो खाने पुरानो संस्कार अहिलेसम्म नहटेकाले पनि किनमेलका लागि भीडभाड बढेको व्यापारीहरू बताउँछन् ।

गाउँलेहरू बजारमा सामान खरिद गर्न आउँदा आफूले उत्पादन गरेका अलैंची, खसी वोका, कुखुरा लगायतका कृषि उत्पादन तथा पशुवस्तु बिक्रीका लागि लिएर आउँछन् । झटा हेर्दा वस्तु विनिमय जस्तो देखिए पनि गाउँलेले ल्याएको कृषि उपज किन्ने व्यापारीहरू भने फरक हुने गरेका छन् ।

दसैं मनाउनकै लागि गाउँलेहरू आफूले उत्पादन गरेको अलैंची, लकडी, खसी बोका, बन्दा, काउली, मुला लगायतका कृषि उपज धमाधम बिक्री गरिरहेका छन् । यी उत्पादन नहुने र रोजगारीका लागि परदेश गएकाहरूले समेत परिवारलाई दसैं खर्चका लागि पैसा पठाइरहेका छन् ।

‘पैसा हुनेहरूले तत्काल आवश्यक नभएका सामान पनि खरिद गरीरहेका छन्,’ शुक्रबारे बजार व्यवस्थापन समितिका सचिव धामबहादुर कार्कीले भने । बजार क्षेत्रका फुटपाथदेखि ठूला पसलका व्यापारी समेत ग्राहकका कारण निकै बेफुर्दिला बनेका छन् ।

पसलमा सामान खरिद गर्न वर्षभरि नै नआउने ग्राहक पनि दसैंका बेला आउने गर्छन् । जसले गर्दा बजारमा नयाँ ग्राहकको संख्या प्रसस्तै देखिन्छ । अहिले जिल्लामा खाद्यान्न, कपडा र अन्य दैनिक उपभोग्य वस्तु खरिदमा दैनिक ५० लाख बढीको कारोबार भइरहेको अनुमान व्यापारीहरूको छ ।

ग्रामीण क्षेत्रका किसानको पनि केही वर्षयता आएर आर्थिक अवस्थामा सुधार आएकाले पहिलेको जस्तो सामान पनि बाँकी नजाने गरेको व्यापारीको भनाइ छ ।

प्रकाशित : आश्विन २९, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?