कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झाँप बनाउन भ्याइनभ्याइ

देवनारायण साह

मोरङ — विराटनगर १३ का धिरज मालाकारलाई यतिखेर दसैंमा काली भगवतीलाई चढाउने झाँप बनाउन भ्याइनभ्याइ छ  । उनी अहिले सपरिवार झाँप बनाउन दिनरात व्यस्त देखिन्छन्  ।

झाँप बनाउन भ्याइनभ्याइ

कागज, कोइचला, बाँसको सिन्का र सुतली प्रयोग गरी झाँप बनाएर उनले बिक्री गर्दै आएका छन् ।

उनले दसैंमा काली, भगवतीलाई भक्तजनहरूले झाँप चढाउने परम्परा रहेको बताए । ‘झाँप बनाउने हामीहरूको पुख्र्यौली पेसा हो,’ उनले भने, ‘दसैंदेखि दिपावलीसम्म आफूहरूको झाँप बनाएर बिक्री गर्ने सिजन हुन्छ ।’

तराई मधेसका हिन्दु धर्मावलम्बीले देवी भगवतीको मूर्तिमाथि झाँप चढाएर पूजा गर्ने परम्परा छ । कतिपयले झाँप चढाउने भाकलसमेत गरेको हुन्छ र भाकल पूरा भएदेखि नियमित प्रत्येक वर्ष चढाउने परम्परा रहेको स्थानीय दिना मण्डलले बताए ।

स्थानीय चुन्नी मालाकारलाई पनि झाँप बनाउन भ्याइनभ्याइ छ । उनले पनि सपरिवार अहिले झाँप बनाउन व्यस्त छन् । कसैले कागज काट्ने, कसैले सिन्का तयार पार्ने र कोही झाँप बनाएर रंग्याउने काममा व्यस्त देखिए ।

‘अहिलेको सिजनमा गरेको आम्दानीले वर्षभरि गुजारा चलाउनुपर्ने भएकाले झाँप बनाउन दिनरात मिहिनेत गरिरहेका छौं,’ चुन्नीले भनिन्, ‘अहिलेको सिजनमा ९० हजारदेखि एक लाख रुपैयाँसम्म झाँप बेचेर आम्दानी हुन्छ र यसैले वर्षभरिको खाद्यान्न खरिद गरेर गुजारा चलाउँछौं ।’

झाँप बनाउने सीप एक पुस्ताबाट अर्को पुस्तामा स्वत: हस्तान्तरण हुँदै आएको उनले सुनाए । उनीसँगै उनकी नन्दले पनि झाँप बनाउने काममा सघाइरहेकी थिइन् । उनले यसरी नै सिक्दै एक पुस्ताबाट अर्को पुस्तामा यो सीप हस्तान्तरण हुँदै आएको बताइन् ।

स्थानीय सञ्जय मालाकारले १ सयदेखि ५ सय रुपैयाँसम्मको झाँप बनाएर ग्राहकलाई बिक्री गर्ने गरेको बताए । ‘पहिले हामीहरूको गाउँ हुन्थ्यो र मालाकार जातिको एउटा गाउँमा अरुले झाँप, मररी, आकाश दिप, विवाहमा बेहुलाले लगाउने मुकुट बेच्न पाउँदैन थियो,’ उनले भने, ‘गाउँभर प्रत्येक दिन फू बाँडेर वर्षभर पुग्ने धान आउँथियो तर अब त्यो परम्परा हटै गएको छ ।’ उनले सबै क्षेत्रमा व्यावसायिकताले ठाउँ लिँदै गएकाले अब सीमा नरहेको बताए ।

उनले ग्रामीण क्षेत्रमा अहिले पनि गाउँ कमाएर खाने परम्परा रहेको तर सहरी क्षेत्रमा व्यावसायिक रूपमा कारोबार भइरहेको बताए । उनले झाँप, मररी, मुलुट, आकाश दिप बेचेर दुई छोराछोरीको पढाइ लगायतको परिवारको खर्च धानिरहेको बताए । मालाकारले अहिलेको महँगी अवस्थामा ग्राहकहरूले लागतअनुसारको मूल्यमा झाँपलगायतका सामग्री खरिद नगरिदिएर केही समस्या भएको गुनासो पोखे ।

स्थानीय रामकुमारी कामतले झाँप चढाउने परम्परा रहेकाले मालाकार जातीले भनेअनुसारको मूल्यमा खरिद गरेर देवी भगवतीलाई चढाउनै पर्ने भएको बताइन् । मालाकार बाहेक अन्य कसैले पनि झाँप नबनाउने गरेकाले महँगो मूल्य भने पनि किन्नै पर्ने बाध्यात्मक अवस्था भएको बताइन् ।

‘मधेसका कतिपयको परिवारमा झाँप चढाउने परम्परा छ भने कतिपयले मररी चढाउँछन्,’ उनले भनिन्, ‘भगवतीको मन्दिर वा मूर्ति अगाडि श्रद्धापूर्वक भाकल गर्दा पूरा भएपछि झाँप र मररी चढाउने परम्परा रहेको उनले सुनाइन् ।

प्रकाशित : आश्विन २९, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?