कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दूषित पानी पिउँदै उपमहानगरवासी

कान्तिपुर संवाददाता

सुनसरी — खानेपानी संस्थानले वितरण गरेको पानीमा हानिकारक कीटाणु ‘फिकल कोलिफर्म’ भेटिएको छ  । धरानको खानेपानीका विभिन्न स्रोतको पानीको गुणस्तर परीक्षण गर्दा मानव शरीरका लागि हानिकारक कीटाणु कोलिफर्म भेटिएको आइतबार आयोजित ‘पानी चौतारी’ छलफलमा विज्ञले बताए  ।

दूषित पानी पिउँदै उपमहानगरवासी

अन्तर्राष्ट्रिय संस्था साउथ एसियन इन्स्टिच्युट अफ एडभान्स स्टडी (सियास) ले धरानका विभिन्न पानीका स्रोतको ल्याव परीक्षण गर्दा अत्यधिक कोलिफर्म फेला परेको सियासकी सल्लाहकार डा. नानी रावतले बताइन् । उनले भनिन्, ‘नमुनाका लागि गत वैशाखदेखि धरानका विभिन्न स्रोतको पानीको ल्याव परीक्षण गर्दा पिउन अयोग्य र प्रदूषित पानी उपभोक्ताले प्रयोग गरिरहेको पाइयो ।’

सियासले ३ वर्षदेखि धरान र धुलीखेल उपमहानगर पालिकाहरूमा पानी व्यवस्थापनसम्बन्धी अध्ययन अनुसन्धान गर्दै आएको छ ।

संस्थानले विस्तार गरेको पाइपलाइन तीन दशकअघिको पुरानो संरचना रहेको, मुहानमा मानवीय गतिविधि नुहाउने, लुगाधुने, वनभोज खाएर फोहोर मुहानमा फाल्ने, पानीलाई पिउन योग्य बनाउन संस्थानले आधुनिक प्रविधिक प्रयोग नगर्नु, भेलबाढीमा बगेका पानी पनि सीधै रिजर्भवायर ट्यांकीमा हाल्नु जस्ता कारणले कोलिफर्म भेटिएको विज्ञले बताएका छन् ।

पानीको ल्याव टेस्ट गरिएका २० स्थानमध्ये नेपाल खानेपानी संस्थानको एउटा रिजर्भवायर ट्यांकी, वार्ड न ७ को पाइपलाइन, विष्णुचोकको पाइपलाइन, मकालु बस्तीको ५ स्थान वार्ड नम्बर १४ को ८ स्थानवाट लिएको पानीको नमुनामा कोलिफर्म पाईएको डा रावतले बताइन् ।

कोलिफर्म भएको पानी खाँदा झाडापखाला, जन्डिस, टाइडफाइड र छालासम्बन्धी रोग लाग्ने चिकित्सकहरू बताउँछन् ।

उपमहानगराकी कार्यवाहक प्रमुख समेत रहेकी धरान खानेपानी व्यवस्थापन वोर्डका संयोजक मन्जु भण्डारीले यही दसैंदेखि नयाँ परीयोजना अन्तर्गतको स्वच्छ सफा र प्रसस्त पानी खुवाउने चाहना हुँदाहुँदै धरानकै एक संस्थाले अदालतमा मुद्दा हालेका कारण शुद्ध पानी खुवाउन नसकिएको बताइन् ।

‘एकीकृत सहरी विकास परियोजनाअन्तर्गतको खानेपानी आयोजनाले उत्पादन गरेको पानी संस्थानले आफ्नो ट्यांकीमा इन्टरकनेक्सन गर्न दिएको छैन,’ उनले भनिन्, ‘यसैबीच एक संस्थाले आयोजनाविरुद्ध सर्वाेच्च अदालतमा मुद्दा लगाएकाले उपभोक्तालाई पानी वितरण गर्न सकिएको छैन ।’

खानेपानी वोर्डका सदस्य आनन्द श्रेष्ठले ३५ हजार रूपैयाँ घर धुरी भएको धरानमा १७ हजार ग्राहकलाई कोलिर्फमसहितको प्रदूषित पानी नेपाल खानेपानी संस्थानले खुवाइरहेको बताए । उनले भने, ‘अन्य १८ हजार परिवारले आफैंले स्रोत खोजेर पानी खाइरहे पनि त्यसमा पनि असुरक्षित पानी खाइरहेका छन् ।’

उनले धरानमा सञ्चालित नयाँ परियोजनाले धरानका सवै वार्डमा स्वच्छ सफा पानी खुवाउने लक्ष्य रहेको बताए । जलवायु परिवर्तनसम्बन्धी विषयका विज्ञ तथा सियासका अध्यक्ष नगेन्द दाहालले शुद्ध सफा पानी खुवाउनु संस्थान र परियोजनाको मुख्य उद्देश्य हुनुपर्नेमा जोड दिए ।

खानेपानी आयोजनका इन्जिनियर राजु पोख्रेल, सियास नेपालका विज्ञ डा. चन्द्र पाण्डे, डा. रचना उपाध्याय, कौस्तुप न्यौपाने र उपमहानगर पालिकाकी अधिकृत हेमा थलङले कोलिफर्म युक्त खानेपानी वितरणले कुनै पनि बेला महामारी फैलिन सक्ने भएकाले उपभोक्ता बेलैमा सचेत हुनुपर्ने बताएका थिए ।

प्रकाशित : आश्विन २९, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?