कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कारागारमा दसैं उल्लास

कुम्भराज राई

ओखलढुंगा — कारागारलाई ‘सुधार गृह’ भनिन्छ । आफूले गरेको गल्ती वा अपराधको सजाय भोग्न कारागारमा बस्नुपर्ने हुन्छ । त्यसैले कारागार कानुनी समाजको एउटा पाटो हो । कारागारमा हाम्रा सामाजिक संस्कार र संस्कृतिको प्रभाव नपर्ने कुरै भएन ।

कारागारमा दसैं उल्लास

यहाँको जिल्ला कारागारमा आइतबार संघीय सांसद यज्ञराज सुनुवार, प्रमुख जिल्ला अधिकारी मुनका न्यौपाने, प्रहरी नायव उपरीक्षक अनन्तराम शर्मा, उपमेयर इच्छाकुमारी गुरुङको टोली ठूलो खसी लिएर पुग्यो । दसैंको अवसरमा सांसद सुनुवारले कैदीबन्दीलाई उपहारस्वरूप खसी प्रदान गर्ने भएपछि टोली कारागार पुगेका थिए । कारागारमा खसी उपहार पाउँदा कैदीबन्दी समेत खुसी देखिए ।


दसैंको उल्लास कारागारभित्र समेत देखियो । कतिपय कैदीबन्दीले ढाकाको कपडा, बाँसको मुडा बेचेर दसैं खर्च जोहो गरेका छन् । सिद्धिचरण नगरपालिकाले २० हजार नगद खसी किन्नका लागि कारागार व्यवस्थापनलाई उपलब्ध गराइसकेको छ । कारागार व्यवस्थापन र कैदीबन्दीले एउटा राँगा फूलपातीका दिन पूजा गर्न भनेर तयार गरिसके ।


‘जेलभित्र परेँ भनेर सधैं शोकमा बसे जस्तो बस्ने कुरा पनि त भएन ।’ एक कैदीले भने, ‘हामीले मान्दै आएको संस्कार र चाडबाड त जहाँ बसे पनि मान्नै पर्‍यो नि ।’ तत्कालीन एमाले नेता छवि कार्कीको हत्या अपराधमा संलग्न तत्कालीन माओवादीका नेता नवराज बस्नेत लगायतले समेत सांसद यज्ञराज सुनुवारसित भलाकुसरी गरे । छवि कार्कीको हत्या भएको बखत एमालेका जिल्ला अध्यक्ष यज्ञराज रहेका थिए । अहिले पार्टी समेत एकीकरण भई नेकपा भइसकेको छ । ‘दसैंका अवसरमा कैदीबन्दीसँग भएको भेटघाटले सद्भाव पनि कायम गरेको छ ।’ सुनुवारले भने, ‘परिस्थितिजन्य अवस्था र कानुनी अज्ञानताले पनि कतिपय व्यक्ति अपराधमा संलग्न हुनुपर्छ । त्यसैले सबैलाई नकारात्मक दृष्टिकोणबाट हेर्नु हुन्न ।’
सांसद सुनुवारले विगत ४ वर्षदेखि दसैंको अवसरमा कैदीबन्दीलाई खसी उपहार दिँदै आएका छन् । कैदीबन्दीले पनि सांसद, सिडिओ सहितको टोलीलाई आफ्ना आधारभूत समस्याबारे अवगत गराए । जम्मा २५ जना क्षमता रहेको कारागारमा महिला पुरुष सहित ६१ जना बस्दै आएका छन् । जीर्ण बनिसकेको कारागारमा सुत्न बस्न समेत कोचाकोच हुने गरेको उनीहरूको गुनासो थियो ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?