कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डेढ दर्जन सडक निर्माण अन्योलमा

सडक निर्माणमा बजेट अभावले ठेकेदार कम्पनीलाई कसले भुक्तानी दिने भन्ने निश्चित नभएपछि काम अघि बढेन
अर्जुन राजवंशी

दमक — झापाका १७ वटा सडकको निर्माण अन्योलमा परेको छ  । स्रोत निश्चित नभएपछि सडक निर्माण बीचैमा रोकिएर धूलो, धूवाँ र आउजाउमा असहजताका कारण स्थानीयवासी समस्या भोग्न बाध्य छन्  ।

डेढ दर्जन सडक निर्माण अन्योलमा

जिल्लामा १७ वटामध्येका अधिकांश सडकको निर्माण यसै वर्ष सम्पन्न गर्नुपर्ने उल्लेख छ । केही सडकको निर्माण आगामी मंसिरमा सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । तर, ती सडकमा अहिलेसम्म आधा पनि काम सम्पन्न भएको छैनन् ।

लखनपुर–मंगलबारे–मयुरभिट्टा–ज्योतिनगर–शिवगञ्ज सडकमा १६ किलामिटर ग्राभेल, बालुबारी–पाठामारी सडकमा ७.१ किलोमिटर कालोपत्रे, पाठामारी–बालुबारी सडकमै ९ सय मिटर कालोपत्रेको काम अलपत्र छ । यसैगरी, चारआली–केचना चक्रपथ सडकमा ८ किलोमिटर कालोपत्रे, जलथल–अधिकारीचोक–जंगली दल्की–घेराबारी सडकमा ८.५२ किलोमिटर कालोपत्रे, उक्त सडकमै ४.२ किलोमिटर कालोपत्रे, दमक–हाइवे सेतुमारी सडकमा ७ किलोमिटर कालोपत्रे गर्ने योजना अन्योलमा परेको छ ।


गौरादह–मिलनचोक–फकिरढिप–खजुरगाछी–फत्तेपुर सडकमा ७.६ किलोमिटर कालोपत्रे, उक्त सडकमै ३.१ किलोमिटर सडकमा पनि कालोपत्रे, गौरादह–बैगुनधुरा–कोरोबारी सडकमा ६.७ किलोमिटर कालोपत्रे, कृष्ण मन्दिर–बेलडाँगी सडकमा ७ किलोमिटर कालोपत्रे, धरमपुर–मंगलबारे–बस्नेत टोल सडकमा ४.६ किलोमिटर कालोपत्रेको काम पनि प्रभावित भएको छ ।


यस्तै, दमक चक्रपथ सडकमा ३.६ किलोमिटर कालोपत्रे, उक्त सडकमै पुन: ३ किलोमिटर कालोपत्रे तथा १५ किलोमिटर ग्राभेल, धरमपुर–रानामिल–इन्द्रचोक–कुञ्जिबारी सडकमा ११ किलोमिटर कालोपत्रे, उक्त सडकमै पुन: २८ मिटर कालोपत्रे र हिमालय मावि–आमचोक–मधुमल्ला सडकमा ७ किलोमिटर कालोपत्रे गर्ने कार्य अहिले रोकिएको छ ।


डिभिजन सडक कार्यालय दमकका इन्जिनियर तथा सूचना अधिकारी माधव पौडेलले स्रोत सुनिश्चितता नभएका कारण निर्माणाधीन सडकको काम रोकिएको बताए । उनले स्रोत सुनिश्चित नभएकाले ठेकेदार कम्पनीले पनि काम अघि नबढाएको बताए । ‘सडक निर्माणमा बजेट अभाव भयो । ठेकेदार कम्पनीलाई कसले भुक्तानी दिने भन्ने नै निश्चित नभएपछि ठेकेदारले पनि काम अघि बढाउन सकेका छैनन्,’ इन्जिनियर पौडेलले भने ।


आव ०७३/७४ मा अर्थ मन्त्रालयले ती सडकलाई बहुवर्षीय ठेक्काअन्तर्गत स्वीकृति दिएको थियो । ठेक्का स्वीकृति लगत्तै ठेक्का सम्झौता भएका यी सडकहरूको निर्माण न्यूनतम १५ महिनादेखि अधिकतम ३० महिनाभित्र सम्पन्न गर्नुपर्ने उल्लेख छ । तर, आव ०७४/७५ मा ठेकेदार कम्पनीहरूले गरेको कामको निकासा नपाएकाले अहिलेसम्म ४० प्रतिशत मात्रै काम भएको पौडेलले बताए । यी सडक निर्माणका लागि ९ वटा निर्माण कम्पनीसँग ६२ करोड ५७ लाख ३९ हजार रुपैयाँको ठेक्का सम्झौता भएको छ ।


सडक निर्माणको काम रोकिएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । उनीहरूले सडककै कारण आफूहरूले दशकौंदेखि समस्या भोग्दै आएको बताए । ‘म ०२२ सालदेखि धूलो, धूवाँ सहेर यो सडक हिँडिरहेको छु । कालोपत्रे बन्छ अरे भनेर पटकपटक सुने । तर, अहिलेसम्म बनेन,’ दमक नगरपालिका ३ का कृष्णप्रसाद दाहालले भने, ‘योपटक बल्लबल्ल ठेक्का परेर अलिअलि काम भएको थियो । त्यो पनि अहिले ठप्प छ ।’


उनले ठेक्का परिसकेको सडकको निर्माण निरन्तर चल्ने गरी बजेटको व्यवस्था गर्न सम्बन्धित निकायमा माग गरे । ‘बाटो नबनिएकै कारण हामी सडक दायाँ–बायाँ रहेका घरका वृद्धवृद्धा र केटाकेटी सधैंजसो बिरामी परिरहन्छन्,’ कुलबहादुर बुढाथोकीले भने, ‘बालुवा र गिटी बोक्ने टयाक्टर र टिपर दिनमा सयपटकभन्दा बढी ओहोरदोहोर गर्छन् । ध्वनि प्रदूषण र धूलो–धूवाँले बसाइँ नै सरेर जानु जत्तिकै भएको छ ।’ निर्माणाधीन सडकको काम रोकिएकोबारे स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने जीवन लुइँटेलले बताए ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?