१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

वृद्धभत्ता दसैंलाई दक्षिणा १

आनन्द गौतम

ताप्लेजुङ — फुङलिङ नगरपालिका ८ दोखुका ७३ वर्षीय लालबहादुर विश्वकर्माले वृद्ध भत्ताबापत पाएको रकम खुद्रा बनाएर राखेका छन  । दलित भत्ताबाट पाएको श्रीमान् श्रीमतीको ८ हजार रुपैयाँलाई ५ देखि पाँच सयसम्मको नयाँ नोट बनाएका हुन्  ।

वृद्धभत्ता दसैंलाई दक्षिणा १

पाँच हजार रुपैयाँलाई सय र पचास बनाएका हुन् । पाँच सयका तीनवटा मात्रै छन् । बाँकी २०, १० र ५ का । परिवारको जेठो उनले यो पैसा दसैंमा आउने ज्वाइँचेला, छोरीचेली र बुहारीलाई दिनेछन् ।


यही टोलका जसबहादुर विश्वकर्माको बन्दोबस्ती अलि बढी छ । किनकि उनको संस्कारमा छोरालाई पनि टीका लगाएर पैसा दिनुपर्छ । तर, यसलाई दक्षिणाचाहिँ भनिँदैन । खाली टीका लगाउनु हुँदैन भन्ने मान्यता भएकाले हात खाली नगर्न टीका लगाएर पैसा दिने गरिएको छ ।


उनले पनि वृद्धभत्ताबापत आएको रकम र अलैंची टिपेर जम्मा गरेको पैसा खुद्रा गरेका हुन् । लालबहादुरको तुलनामा जसबहादुरले २ हजार बढी जोहो गरेका छन् । दक्षिणा र आशिश बापत दिइने पैसा नयाँ दिन नेपाल बैंक लिमिटेडमा लाइन लागेर पैसा साटेका छन् । विश्वकर्मा दाजुभाइ जस्तै नजिकैका दुर्गाप्रसाद गौतमले पनि भत्ताको पैसा साटेर राखेका छन् । भत्ता थाप्तै खुद्रा दिन अनुरोध गरेर ल्याएका हुन् ।


वृद्धवृद्धालाई परम्परादेखिको दक्षिणा भार बन्ने गरेको छ । आकासको जुन जस्तो उमेरका वृद्धले दिएको दक्षिणा थाप्ने भने बालबालिकादेखि अल्लारेसम्म हुने गर्छन् । जसबहादुरले भने, ‘पाँच हजार रुपैयाँसम्म त टीकाकै दिन सिद्धिन्छ ।’


उनले दशमीको टीका लगाउने दिन एउटा थालीमा टीका, अर्कोमा जमरा र अर्कोमा पैसा राख्ने गरेका छन् । दियो, कलश, गणेशसँगै यी तीन चिजलाई पनि पूजा गरिन्छ । त्यसपछि क्रमश: टीका, जमरा लगाएर र पैसा दिइन्छ । कतिपयले चाहिँ विदावारि भएर हिँड्ने बेलामा दिने गरेका छन् । उमेर समूह, हैसियत, नाताअनुसारको दक्षिणा दिने लालबहादुरले बताए ।


सबैभन्दा बढी दक्षिणाको भागीदार ज्वाइँ बन्छन् । उनीहरूले ल्याउने कोसेलीको पनि हिसाव हुन्छ । तर कोसेलीको पैसा भने घरका श्रीमतीले छुट्टै पनि दिन्छन् । ‘मासुको फिलो लिएर आए भने हजारभन्दा माथि नै बड्नुपर्छ,’ जसबहादुरले भने, ‘रक्सी, चिनी, केरा जस्ता कोसेली ल्याए भने त्यहीअनुसारको हेरिहेरी दुई–तीन सय दिनुपर्छ ।’ स–सानालाई पनि १० रुपैयाँदेखि दिनुपर्ने उनले बताए ।

सामान्यतया धेरै कोसेली विवाह गरेर पहिलो पटक आउनेले ल्याउँछन् भने दक्षिणा धेरै पनि उनीहरूलाई नै दिइन्छ । ‘छोरी आफ्नै भएकाले अलिक कमै दिन्छौं, ज्वाइँ कुटुम्ब भएकाले छोरीको तुलनामा चार दोब्बर बढीसम्म दिन्छौं,’ लालबहादुरले थपे, ‘के गर्नु इज्जत राख्न गाह्रो छ नि १’ सबैले दसैंमा दक्षिणा दिन्छन् तर यसको भार वृद्धवृद्धालाई धेरै परेको अनुभूति गरेको फुङलिङ नगरपालिका ७ का वडाध्यक्ष राजन गुरुङ बताउँछन् । ‘आशिर्वाद थाप्न भनेर बूढाबूढीकामा जान्छौं तर दक्षिणा लिदैनौंचाहिँ नभन्दा रहेछौं,’ गुरुङले भने, ‘भत्ता बाँढिरहँदा र यो पैसा के गर्नुहुन्छ भनेर सोद्धा दक्षिणाको बोझ भएको अनुभूति मैले पनि गरें ।’


वडा ३ का वडाध्यक्ष युवराज बराल ६० वर्षमाथिकासँग दक्षिणा नलिने योजना ल्याउनुपर्ने आवश्यकता देखेको बताउँछन् । ‘पहिला भत्ता के गर्नुहुन्छ भन्दा ७५ प्रतिशत बढीले दवाइपानी खान्छौं भन्थे,’ बरालले जोडे, यो वर्ष पनि सोधेको अधिकांशले दसैं मान्नुपर्दैन भने ।’ दसैंमा पनि केमा खर्च गर्ने भन्दा केहीले चिनी चिउरा किन्ने भने पनि धेरै वृद्धवृद्धाले टीको लाएर दक्षिणा दिनुपर्छ नानी १ भनेको उनले सुनाए ।


टीका लगाउन आउनेले पनि बुढापाकालाई कपडा जस्ता केही चिज भने ल्याउने गरेको बरालले बताए । उनले भने, ‘बुढापाकासँग पैसा थाप्नु राम्रो होइन यसलाई वडामा योजना बनाएर लाने तयारीमा छु । कमाउन नसक्ने आशा गर्ने उमेरका हातबाट दक्षिणा लिनु राम्रो होइन । वातावरण संरक्षण तथा विकास मञ्चका सामाजिक कार्यकर्ता अम्विका हाङवाङ चाडबाड भित्रका यस्ता परम्परा निरुत्साहित गर्नुपर्ने बताउँछन् । यसले चाडपर्वलाई नै असर पार्छ त्यसैले निरुत्साहित गर्न पाइला चाल्नुपर्छ ।


दक्षिणा नलिने पनि छन्
समाजमा दक्षिणा नलिने पनि छन् । कालिका मावि नाङखोल्याङका प्रधानाध्यापक समेत रहेका घनेन्द्र आचार्यले अहिलेसम्म दक्षिणा लिएका छैनन् । ‘सुरुका केही दिन निकै गाह्रो हुन्छ , कसैले ठूलो भएको भन्छन्, कसैले जवरजस्ती गर्न खोज्छन् त्यसलाई निरुत्साहित गरेपछि कर गर्न छोड्छन्,’ आफ्नो अनुभव सुनाउँदै उनले भने, ‘कतिपयलाई त रिसाउनु पनि पर्‍यो ।’ आफ्नै अगाडि अरूलाई दक्षिणा दिँदा घनेन्द्र वास्ता गर्दैनन् ।


‘आफू लिन्न अरुको विषयमा चासो गर्दिन,’ उनले भने, अभियानै चलायो भने सफल भइन्छ, मान्छेको सोचमा परिवर्तन ल्याउनुपर्छ ।’

प्रकाशित : आश्विन ३०, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?