मूल्य घट्दा किसान मारमा
तेह्रथुम — दसैं अघिसम्म उच्च रहेको पूर्वी पहाडको बेमौसमी बन्दा, काउली र मुलाको मूल्य दसैंको मुखमा आएर घटेको छ । दुई साताअघिसम्म स्थानीय बजारमै प्रतिकेजी १८ रुपैयाँ मूल्य रहेको बन्दाको मूल्य घटेर अहिले १२ रुपैयाँमा आइपुगेको छ ।
काउली र मुलाको पनि मूल्य घटेको छ । जसले किसानलाई दसैंको मुखमा अप्ठ्यारो परेको छ ।
साता अघिसम्म प्रतिकेजी ४० रुपैयाँमा बिक्री भइहरेको काउलीको मूल्य पनि घटेर २५ रुपैयाँमा आइपुगेको छ । मुलाको मूल्य पनि केजीमा ६ रुपैयाँसम्म घटेको व्यापारीको भनाइ छ । अघिल्लो वर्ष दसैंको समयमा तरकारीको मूल्य बढेको थियो ।
तर यो वर्ष प्रतिकेजी ६ रुपैयाँदेखि १५ रुपैयाँसम्म मूल्य घटेको धनकुटामा रहेको सिंधुवा कृषि भण्डारका प्रमुख बजार व्यवस्थापक मेघेन्द्र गुरुङले बताए । भण्डारमार्फत तेह्रथुम सहित धनकुटा र संखुवासभाका किसानले उत्पादन गरेको हरियो तरकारी नेपालका प्रमुख बजार र भारतीय बजारतर्फ निर्यात हुने गरेको छ ।
पहाडी जिल्ला संखुवासभा, तेह्रथुम र धनकुटाका किसान आफूले बारीमा लगाएको बेमौसमी तरकारीको मुल्य दसैंको मुखैमा घटेपछि निरास भएका छन् । दसैंको समयमा मूल्य थप बढ्ने आशामा तरकारी बिक्री नगरी बारीमै राखेका किसानले थप नोक्सान व्यहोर्नु परेको बताए ।
‘अघिल्ला वर्षहरूमा दसैंको समयमा तरकारीको मूल्य राम्रै हुन्थ्यो’, धनकुटाको महालक्ष्मी नगरपालिका १ घुमाउनेका किसान टेकबहादुर गुरुङले भने, ‘मूल्य बढ्ने आशामा कुर्दा कुर्दै उल्टै नोक्सान खेप्नु पर्यो ।’ मुख्य आम्दानीको स्रोत तरकारी खेतीलाई बनाएका यहाँका तीन जिल्लाका किसानले चाडबार्डको समयमा बेमौसमी तरकारी नोक्सान लगाएको गुनासो गरे ।
माथिल्लो क्षेत्रका किसानको आमदानीको मुख्य स्रोत बन्दा, काउली र मुलाले मूल्य नपाउँदा चाडबाड मनाउनै समस्या परेको लालीगुराँस नगरपालिका ३ बसन्तपुरका किसान कुलबहादुर भटराईले बताए । अन्य आम्दानीको स्रोत नभएका र व्यावसायिक बेमौसमी तरकारी खेतीमा लागेका किसानका लागि चाडबाडको समयमा मूल्य घटदा समस्या भएको छ । तेह्रथुमको फुलेक, सुङनाम, सोल्मा, जिरिखिम्ती, हमरजुङ, आङदिम, दाँगपा, वसन्तपुर संखुवासभाको तामाफोक, मामलिङ र धनकुटाको मारेककटहरे, डाँडागाउँ, परेवादिन, मुर्तीढुङ्गा, ताङखुवा, भिरगाउँ, पाख्रिबास, तेलिया जोरपाटी लगायतका दर्जन बढी गाउँका किसान व्यावसायिक बेमौसमी तरकारी खेतीमा लागेका छन् । गत वर्ष यही सिजनमा प्रतिकेजी २० रुपैयाँदेखि ३० सम्ममा बिक्री भएको बन्दाको मूल्य यो वर्ष झन्डै आधाले घटेको छ । प्रतिकेजी २० रुपैयाँसम्म मूल्य पाउँदा यहाँका प्रत्येक किसानले चाडबाडको यो समयमा ३ लाख रुपैयाँदेखि ३० लाख रुपैयाँसम्म रकम भित्र्याउने गर्छन् । तर अहिले मूल्य घटेकाले किसानका घरमा भित्रिने आमदानीको स्रोत समेत घटेको छ ।
२०४९ सालतिर यस क्षेत्रमा भित्रिएको बेमौसमी तरकारी खेती यहाँका किसानको आर्थीक अवस्थामा सुधार ल्याउने गतिलो माध्यम बनेको छ । धनकुटाको हिलेदेखि तेह्रथुमको लसुने र संखुवासभाको मुढेशनिश्चरे सम्मका सडकका दायाँबायाँका हजारौं रोपनी क्षेत्रफलमा बेमौसमी तरकारी खेतीले बारी ढाकेको छ । यहाँका गाउँमा वार्षिक ४५ करोड भारतीय रुपैयाँ भित्रिने गरेको सिंधुवा कृषि भण्डारका प्रमुख बजार व्यवस्थापक गुरुङले बताए ।
डेढ दशक घि सिप्रेड नामक एक गैरसरकारी संस्थाले यस क्षेत्रका किसानलाई तरकारी खेतीसम्बन्धी तालिम दिएर आफ्नो उत्पादन आफैं बिक्री गर्ने प्रविधि समेत सिकाइदिएपछि भित्रिएको बेमौसमी तरकारी खेती अहिले आएर यस क्षेत्रका किसानका लागि प्रमुख आमदानीको स्रोत बनेको छ । सिप्रेडले उन्नत बिउ र बैज्ञानिक ढंगले तरकारी खेती गर्न सिकाएको प्रविधि किसानले अहिले पनि प्रयोग गरिरहेका छन् ।
उक्त प्रविधि अपनाएर खेती गरिरहेका किसानले वर्षा याममा पनि पुर्वी तराईदेखि भारतका विभिन्न सहर बजारसम्म उपभोक्तालाई बन्दा, काउली, मुला, हरियो मटरकोसा, आलु र रायोको साग जस्ता हिँउदे तरकारी पुर्याउँदै आएका छन् ।