कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

धरान–धनकुटा रूटमा मनपरी भाडा

रमेशचन्द्र अधिकारी

धनकुटा — चाड पर्वको मौका छोपेर कोसी राजमार्गको धरान धनकुटा सडक खण्डमा मनपरी रूपमा भाडा लिन थालिएपछि यात्रु मारमा परेका छन्  । धरानबाट धनकुटा जानेक्रममा निर्धारित दरभन्दा तीन गुनासम्म बढी भाडा लिएको यात्रुको गुनासो छ  ।

धरान–धनकुटा रूटमा मनपरी भाडा

धरानमा अपरान्ह ३ नबज्दै गाडी अभाव हुने गर्दा यात्रुले सास्ती खेप्नु परेको जनाएका छन् ।


सवारी साधनको कृतिम अभावसँगै महँगो भाडा तिरेर यात्रा गर्नु परेको यात्रु रोशन सुवेदीले गुनासो पोखे । धरानबाट धनकुटा जानेक्रममा उनले ३ सय रुपैयाँ भाडा तिर्नु परेको बताए ।


‘गाडीमा अग्रीम टिकट नदिई बीच बाटोमा बढी भाडा असुलियो’, उनले भने, ‘कन्डक्टरले हामीलाई दसैं लागेको भन्दै सबैसँग बढी भाडा लिए ।’ कतिपय यात्रुले बढी भाडा नलिन आग्रह गर्दा बीच बाटैमा झारिदिने भन्दै धम्क्याएपछि चुपचाप बस्न बाध्य भएको बताएका छन् ।


यसैगरी अर्का यात्रु निशान गजुरेलले त ५ सय रुपैयाँ तिरेको जनाए । धरानदेखि धनकुटासम्मको बस भाडा १ सय ७१ रुपैयाँ रहे पनि ५२ किलोमिटर दूरीको उक्त रूटमा ३ सयदेखि ५ सय रुपैयाँ भाडा असुल्ने गरिएको यात्रुको भनाइ छ ।


धरान धनकुटा सडकमा दसैंको अवसरमा पारेर सामान्य अवस्था भन्दा दर्जनौं सवारी साधन थप गरिएको पूर्व नेपाल यातायात व्यवसायी कम्पनीका इन्चार्ज यादव अधिकारीले बताए । बिहान सबेरैदेखि मध्यान्हसम्म सवारी साधन व्यस्त हुने र त्यसपछि क्रमश: घटदै गएपछि यात्रुलाई सास्ती हुने उनको भनाइ छ । यात्रुसँग बढी भाडा लिएकोबारे आफूलाई थाहा नभएको उनले बताए ।


यसैबिच प्रहरीले धरान धनकुटा सडकमा बढी भाडा असुलिएकोबारे गुनासो आउने गरेको जनाएको छ । प्रहरीले यात्रुको गुनासोको आधारमा धनकुटाको मुलघाट, जिरो प्वाइन्ट लगायतका स्थानबाट चेकजाँच गरी बढी भाडा लिएका सवारी साधनबाट यात्रुलाई रकम फिर्ता गराएको छ ।


यात्रुको गुनासोको आधारमा प्रहरीले चेकजाँच कार्यलाई तीव्रता दिएको प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । ‘कृतिम अभाव र बढी भाडा लिएका सवारी साधनलाई कारवाही गरिनेछ,’ उनले भने, ‘बढी भाडा लिएका सवारी साधनबाट यात्रुलाई पैसा फिर्ता गराइएको छ ।’


यस्तै भेडेटारदेखि राजमार्गको विभिन्न स्थानमा चेकजाँच गरिएको ट्राफिक प्रहरी इन्चार्ज सुरेन्द्र खडकाले बताए । सवारी साधनमा यात्रुले सास्ती खेप्न नपरोस् भन्ने उद्देश्यले प्रहरीले विभिन्न स्थानमा सहायता केन्द्र समेत स्थापना गरेको जनाएको छ ।


हिलेदेखि पाख्रिबाससम्मको ५ किलोमिटर दूरीमा पनि दोब्बर गुना भाडा लिने गरेको गुनासो छ । रातो प्लेटका सवारी साधनले भाडामा सञ्चालन गरेर १ सय रुपैयाँ भाडा लिएको यात्रुले गुनासो गरे । हिले पाख्रिबास रूटमा भाडा दर व्यवस्थित गर्न स्थानीय प्रशासन र जनप्रतिनिधि समेतले चासो लिएको जनाएको छ ।


बढी भाडा असुल्ने गुनासोका आधारमा भाडा निर्धारण गरी यात्रुलाई सहज यात्राका लागि आफूहरू जुटेको पाख्रिबास नगरपालिकाका प्रमुख विर्षबहादुर राईको दाबी छ । यस्तै धनकुटाबाट धरान जानेक्रममा क्षमताभन्दा बढी यात्रु बोकेरका सवारी साधनले प्रहरी चेक पोस्ट पुग्नु अगावै यात्रुलाई उतारेर पैदल हिँडाउने र फेरि केही पर रोकेर चढाउने गरेका छन् । मुलघाट प्रहरी चौकी अगाडि रहेको चेकपोस्टभन्दा माथिल्लो घुम्तीमा यस्तो कार्य गरिने यात्रुले बताए ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?