कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मजदुरको दसैं: ‘सीमित खर्चले जसोतसो मनाउँछौं’

देवनारायण साह

मोरङ — मुलुकको जेठो उद्योग विराटनगर जुट मिल्समा कार्यरत ५० वर्षीया सावित्री राईले आइतबार ७ हजार ८ सय १६ रूपैयाँ तलब थापिन्  । यही तलबले दसैं मनाउनुपर्ने उनले सुनाइन्  ।

मजदुरको दसैं: ‘सीमित खर्चले जसोतसो मनाउँछौं’

राईले छोराबुहारीले पनि कतै काम नगरिरहेकाले त्यति नै तलबले यसपालीको दसैं जसोतसो मनाउनुपर्ने बताइन् । ‘तीन छोराबुहारी र पतिका लागि यसैबाट लुगा किन्छु,’ उनले भनिन्, ‘बाँकी रहेको पैसाले खसी नभए पनि कुखुराकै मासु खाएर दसैं मनाउँछौं ।’


यसअघि कृषि मजदुरका रूपमा काम गर्दै आएकी उनी विराटनगर जुट मिल्स सञ्चालनमा आएपछि काम गर्न थालेकी छन् । ‘विराटनगर जुट मिलस बन्द भएदेखि यसअघि १/२ सय रुपैयाँमा महिनामा १०/२० दिन कृषि मजदुरको काम गरेर गुजारा गर्दै आएका थियौं,’ उनले भनिन्, ‘अहिले केही दिनदेखि मिल्स सञ्चालनमा आएपछि पुन: काम पाएकाले दैनिक रोजगारीमा छु ।’ यस्तै, विराटनगर जुट मिल्सका अर्का मजदुर विराटनगर १६ का देवीप्रसाद खतिबडाले पनि ७ हजार ३ सय १५ रुपैयाँ तलब थापेको बताए । यही पैसाले यसपालीको दसैं मनाउनुपर्ने भएको उनले बताए । उनको परिवारमा २ छोरा, २ बुहारी १ नाति र पत्नी ७ जना छन् । उनले नाति र बुहारीलाई लुगा किनिदएर बाँकी रहेको पैसाले मीठो मसिनो खाएर दसैं मनाउने सुनाए ।


‘दसैंमा टीका थाप्न नै आउने ५०/५५ जनालाई १०/२० रुपैयाँ दिएर पनि परम्परा धान्ने पर्ने अवस्था छ,’ उनले भने, ‘दसैं मान्न अपुग पैसा ऋण सापट गरेर भए पनि जुटाउने योजना छ ।’ यस्तै, विराटनगर १५ घर भई विराटनगर जुट मिल्समा कार्यरत कृष्ण बस्नेतले पाएको तलबले नै दसैं मनाउने योजना बनाएको छ । ‘चोरेर ल्याउनु भएन र ढाँटेर ल्याउन मिल्दैन, जे तलब आउँछ त्यहीबाट काम चलाउँछु,’ उनले भने, ‘अरूले खसीको मासु खाएर दसैं मनाउँछ, मैले कुखुराको भए पनि खाएर मनाउनै पर्ने अवस्था छ ।’


वर्ष दिनको चाँड जसोतसो पनि मनाउनै पर्ने बस्नेतले बताए । उनले मिल्सबाट पाएको तलबले २ छोरालाई नयाँ लुगा किनिदिएर बाँकी रहेको पैसाले दसैं मनाउने बताए । ‘म लोग्ने स्वास्नीलाई नयाँ लुगा नभए पनि चल्छ,’ उनले भने, ‘हुनेले बियर खाएर दसैं मनाउँछ मैले घरेलु मदिरा खाएर भए पनि दसैं मान्नै पर्ने हुन्छ ।’ जुट मिल्सका प्राविधिक सुधिर सिंहले दसैं मनाउन पैसा हुनुपर्ने आवश्यक नभएको बताए । ‘हुनेखाने वर्गले महँगा ब्रान्डका लुगा, खसीको मासु र ब्रान्डवाला रक्सी खानुका साथै मोजमस्ती गरेर दसैं मनाउँछ तर हामी जस्ता गरिवले मनले मनाउँछ,’ उनले भने, ‘देवी भगवतीको प्रार्थना गरेर जे पुग्छ जस्तो हुन्छ त्यसैले श्रद्धापूर्वक दसैं मनाउँछौं ।’ साना छोराछोरीलाई नयाँ लुगा किन्दिएर
बाँकी रहेको पैसाबाट मीठो मसिनो खुसीपूर्वक खाएर नै दसैं मनाउने उनको भनाइ थियो ।


मुलुकको जेठो उद्योग विराटनगर जुट मिल्स भदौ २६ गतेबाट सञ्चालन भएपछि अहिले एक सय जनाले रोजगारी पाएका छन् । मिल्सभित्र मात्रै ६५ जना मजदुरले काम गरिरहेका छन् । उनीहरूलाई मिल्सका अध्यक्ष बसन्त बनले आइतबार तलब दिएका छन् ।


२०६५ असोज २४ गते पूर्ण रूपमा बन्द भएको जुट मिल्स विवादका बीच अध्यक्ष बनले सञ्चालनमा ल्याएको हो । मिल्सको दुई हप्ता परीक्षण गरेर २३ दिनमा करिव २४ टन सुतली उत्पादन गरेर बिक्री प्रक्रिया थालेको छ । एक दशकपछि मिल्सले पहिलोपटक आफ्नो उत्पादन बजारमा ल्याउन लागेको हो ।


मिल्सका वेस्टेज क्वालिटी कन्ट्रोल इन्चार्ज सुचेन्द्र झाले सुतली खरिदकर्ताहरूसँग छलफल भइरहेको र यही १/२ दिनमा नभए दसैंपछि बिक्री गर्ने योजना गरेको बताए ।
‘धेरै दिनदेखि बन्द रहेको मिल्स मर्मत गर्दै सञ्चालन गरेपछि राम्ररी सञ्चालन हुन केही दिन समय लाग्यो,’ उनले भने, ‘भदौ २६ गतेबाट परीक्षणका लागि सञ्चालन गरिएको मिल शनिबारदेखि क्रमश: दैनिक १/डेढ टन उत्पादनको लक्ष्यका साथ सञ्चालन भएको छ ।’ अहिलेसम्ममा ९० इन्चको १५ टन र ७५ इन्चको ९ टन सुतली तयारी गरेर बिक्रीका लागि प्याकिङको काम भइरहेको झाले बताए । मिल्सका अध्यक्ष बसन्त बनले दैनिक ६ टन जुटको सुतली उत्पादनका लागि आवश्यक जनशक्तिलगायतको इस्टिमेट तयार गर्न निर्देशन दिएपछि इस्टिमेट दिएको उनले बताए ।


अध्यक्ष बनले क्रमश: मिल्सलाई सञ्चालनको प्रयास गरिरहेको बताए । ‘धेरै दिनदेखिको बन्द मिल्सलाई क्रमिक रूपमा मर्मत गर्दै मेसिनहरूलाई एकपछि अर्को सञ्चालनमा ल्याइरहेको छु,’ उनले भने, ‘अहिले सुतली उत्पादन सुरु भएको र अब दसैंपछि जुटको बोरा उत्पादनको काम थाल्छौं ।’

प्रकाशित : आश्विन ३०, २०७५ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?