२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

लोप हुँदै रोटेपिङ

कुम्भराज राई

ओखलढुंगा — कुनै समय यस्तो थियो, रोटेपिङ नखेली दसैंको मजा हुन्छ भन्नेमा कसैले पनि विश्वास गर्दैन थे । तर अचेल दसैंका बेला पहाडी क्षेत्रमा निकै लोकप्रिय रहेको रोटेपिङ खेल्न त के देख्न समेत पाइँदैन । काठैकाठले स्थानीय स्तरमा नै बनाइने यो रोटेपिङ हेर्दा राम्रो मात्र होइन खेल्न पनि खुब रमाइलो हुन्थ्यो ।

लोप हुँदै रोटेपिङ

सिनपा ९ का मेखबहादुर खड्कालाई सानो छँदा रोटेपिङ खेल्न नपाए दसैं आए जस्तो लाग्दैनथ्यो । उनी अहिले ५० उमेर काटिसके । तर केही वर्ष यता गाउँमा रोटेपिङ लगाउन छोडिएको छ । ‘काठ काट्ने, पिङ लगाउने जाँगर भएका युवा गाउँमा छैनन् ।’ खड्काले भने, ‘अब कसले लगाउँछ र रोटेपिङ ? धेरै भए लिंगेपिङ देख्न पाइन्छ ।’ त्यसैगरी मानेभन्ज्याङ माधवपुरका भीम मगर पनि गाउँमा रोटेपिङ लगाउने गरेको विगत सम्झिन्छन् । तर अहिले रोटेपिङ लगाउने कोही छैनन् । अधिकांश गाउँमा लिङ्गे पिङ मात्र भेटिन्छन् ।


मेखबहादुर र भीमबहादुरको गाउँमा मात्र होइन । पहाडी गाउँघरमा दसैं–तिहार जस्ता चाडवाड र अन्य मेला बजारमा लगाइने रोटेपिङ लोप हुन थालेको छ । रोटेपिङ लगाउन छोडेको ११ वर्षपछि यहाँको सिद्धिचरण नगरपालिका ११ का केही स्थानीय मिलेर यस वर्ष बनाए ।


‘चासो दिने युवा नै पाइन छोड्यो ।’ स्थानीय सिद्धराज राईले भने, ‘लौ न लगाऔं भनेर जुट्न अनुरोध गर्दा पनि कसैले सहयोग गर्दैनन् ।’ रोटेपिङ लगाउन बलियो काठ चाहिने र रूख काट्नुपर्ने भएकोले पनि काठ अभावको कारण धेरैतिर बन्द भएको हो । प्राय: वनजंगल सामुदायिक भएका छन् । काठ काट्न सजिलो छैन ।


एउटै काठले केही वर्षसम्म टिके पनि केही वर्षको अन्तरालमा नयाँ काठ बनाउनुपर्ने हुन्छ । जो कोहीले बनाउन नजान्ने भएकाले पनि यससम्बन्धी सीप हुने बुढापाका भेटिन छाडेका छन् । चाडबाडमा पहिले मनोरञ्जन लिने साधन नै पिङ हुने गथ्र्यो । अहिले टेलिभिजन, इन्टरनेट र मोबाइलमै केटाकेटीदेखि बूढाबूढीसम्म रमाउन थालेपछि यस्ता पुराना संस्कार लोप हुँदै गएको स्थानीयको भनाइ छ ।

प्रकाशित : कार्तिक ५, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?