कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रित्तिँदैछन् बस्तीहरू

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको चौबिसे गाउँपालिका, छथर जोरपाटी लगायतका धेरै । गाउँका खाली घर भत्कन थालेका छन् । विगतमा बाक्लो बस्ती रहेका चौबिसे गाउँपालिका ३ र ४ का कुरुलेतेनुपा क्षेत्रका दर्जनौं गाउँ रित्तिसकेका छन् ।

रित्तिँदैछन् बस्तीहरू

कुरुलेतेनुपाको गैरीगाउँ, बाजथला, ठुलागाउँमा रहेका सयभन्दा बढी घरधुरी हाल पुगनपुग दर्जनमा सीमित छन् । ठुलागाउँमा रहेका २२ मध्ये ३ घरमा मात्र मानिस बस्छन् । डाँडागाउँ २६ मध्ये २ घरमा मात्र मानिस बस्ने स्थानीय गोपीकृष्ण भण्डारीले बताए । अँधेरीका २० घरमध्ये गोपाल परियार मात्रै एक्ला छन् ।

काफ्ले गाउँ पनि खाली छ । तेनुपामा ५० मध्ये ५ घरमा मात्र मानिस बस्दै आएको स्थानीय किरण अधिकारी बताए । ‘दशक अघिसम्म गाउँ टोलपिच्छे लिंगे पिङ, रोटे पिङ हुन्थे । केटाकेटीमात्रै होइन उमेर पुगेका पनि पिङको रौनकमा रौसिन्थे,’ स्थानीय वृद्ध बालानन्द अधिकारी सम्झन्छन्, ‘तर यसपटक दसैं नै आएन भन्दा हुन्छ ।’ बसाइँ सरेका फर्केर नआएसम्म दसैं पनि आउला जस्तो लाग्दैन, उनी भन्छन् ।


यो क्षेत्रबाट २०६३ देखि बसाइँ सर्नेको क्रम सुरु भएको स्थानीय गोपीकृष्ण भण्डारी बताउँछन् । उनले सबैजसो बस्तीमा दसैंको उल्लास भित्रन नसकेको बताए । ‘खानेपानीको चरम समस्या र सेवा सुविधाबाट टाढिंदै गएपछि बसाइँ–सराइको बाढी नै आयो’, भण्डारीले भने, ‘यसलाई रोक्न खास योजना समेत प्रभावकारी नहुँदा हामी चिन्तित छौं ।’


चौबिसे गाउँपालिका ३ र ४ वडामा समेटिएको कुरुलेतेनुपामा हालसम्म ३ सयभन्दा बढी परिवार विस्थापित भइसकेका छन् । बसाइँ सराइले कुनै बस्ती अछुतो छैन । ठूलागाउँ मानव शून्य अवस्थामा छ । बाजथला क्षेत्र पनि खाली बन्दै गएको छ । अँधेरी गाउँका अधिकांश घर रित्ता छन् । अन्य प्रभावित गाउँमा पनि ९० प्रतिशत बस्ती शून्य रहेको छ ।

गाउँपालिकाको कार्यालयमा रहेको बसाई– सराइ दर्ता किताबका पाना भरिने अवस्था रहेको गाउँपालिका प्रमुख खजिन्द्र राईले बताए । ‘बसाइँ सराई रोक्न खानेपानीको योजना सञ्चालनमा छ’ उनले भने, ‘सञ्चालित योजनाको ढिलासुस्तीले समस्या देखिएको छ ।’ बसाइँ जानेको पछिल्लो वर्षको आधिकारिक तथ्यांक १ सय ९८ पुगिसकेको छ । तर जानकारी नगराई जानेको संख्या झन्डै दोब्बर रहेको गाउँपालिका स्रोतले जनाएको छ । झुरुप्प रहेको सिंगो गाउँ नै सल्लाह गरेर गए जस्तै देखिएको स्थानीय टेकप्रसाद भण्डारीले बताए । बसाइँ जानेमध्ये अधिकांश धनकुटा बजार आसपास तथा तराईका झापा, सुनसरी र मोरङ जिल्लामा जाने गरेका छन् ।


छथर जोरपाटी गाउँपालिका ४ तेलिया गाउँमा पनि उस्तै छ । त्यहाँ रहेका करिब डेढ सय घरधुरीमध्ये हाल ३१ घर मात्र रहेका छन् । स्थानीय मार्सेमा रहेका ६५ मध्ये १०, पिप्लेमा १५ मा ४, कर्कलेमा १२ मध्ये २, फडिरेमा १० मा सबै घर र गुठमा ४५ मध्ये १५ घट मात्र बाँकी रहेका छन् । पानीको मुहान सुक्दै गएपछि खानेपानीको वैकल्पिक व्यवस्था नहुनु र उत्पादन गरिएका वस्तु बिक्री गर्ने बजार टाढा हुनु तथा विद्यालय, भौतिक पूर्वाधारका विकास पुग्न नसक्दा बसाइँ सर्नेको लहर उर्लिएको स्थानीय शंकर ओझाको तर्क छ । चाडपर्वका बेला छरछिमेक नजिक नहुँदा उल्लास नआउने उनले बताए ।

प्रकाशित : कार्तिक ५, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?