१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

५ करोडको स्याउ बिक्री

वेदराज पौडेल

विराटनगर — विराटनगर महानगरपालिका–३ की उर्मिला कोइराला स्याउ किन्दै गरेकी भेटिइन् । स्याउ नै किन किन्नुभयो भन्ने जिज्ञासामा उनले भनिन्, ‘दसैंको टीका लगाउन जाँदा खाली हात जाने कुरै भएन, अन्य फलभन्दा गुणकारी भएकाले सबैको रोजाइमा स्याउ नै पर्छ ।’

५ करोडको स्याउ बिक्री

उनले अरु मान्यजनकोमा कोसेली स्याउ लिएर गएजस्तै उनका घरमा टीका र अशीर्वाद थाप्न आउनेले पनि कोसेलीका रूपमा स्याउ नै लिएर आउने गरेको बताइन् । दसैंमा टीका थाप्न जाँदा स्याउ बोकेर जाने संस्कारै विकास भएको उनले बताइन् । प्रदेश एकमा दसैंको सात दिनमा ५ करोड बराबरको स्याउ बिक्री भएको छ । दसैंमा दुर्गा पूजाको प्रसाद र आफन्तकामा टीका लगाउन जाँदा कोसेली लिएर जाने चलन भएकाले यतिको परिमाणमा स्याउको बिक्री भएको हो । प्रदेश एकमा भारत र चीनबाट स्याउ आयात गरिन्छ । चकलेटी र चाइनिज स्याउ अहिले बजारमा प्रतिकिलो १ सय २० रुपैयाँ छ ।


प्रदेश नम्बर एकका तीन जिल्ला झापा मोरङ र सुनसरीमा यो अवधिमा २६ ट्रक स्याउ बिक्री भएको थोक बिक्रेता नागेन्द्र दासले बताए । उनका अनुसार उनको फर्मबाट मात्रै ११ ट्रक स्याउ बिक्री भएको छ । एक ट्रकमा २२ सय कार्टुन र एउटा कार्टुनमा साढे सात किलो स्याउ हुन्छ । बिक्रेताका अनुसार ४ लाख २९ हजार किलो अर्थात ५ करोड १४ लाख ८० हजार रुपैयाँ बराबरको स्याउ विक्री भएको छ ।


विराटनगर ६ का महमद अली एन्ड ब्रदर्स फ्रुट सेन्टरका सञ्चालक अलीका अनुसार उनी विराटनगरको बजारका लागि मात्रै स्याउ बिक्री गर्छन् । विराटनगरको गुदरी र आसपासको बजारमा मात्रै दसैंमा दैनिक पाँच सय कार्टुन स्याउ बिक्री हुने गरेको बताए । चाडवाड र गर्मीको सिजनमा बढी स्याउ बिक्री हुने गरेको उनले बताए ।


बिजय फ्रुट सेन्टरका विजय चौधरीले स्याउ बिक्री गर्दै आएको ३० वर्ष भयो । अहिले स्याउ बिक्री हुन थालेकोमा उनी दंग छन् । यो दसैंमा उनले मात्र ८ ट्रक स्याउ बिक्री गरे । कोल्ड स्टोरमा अझै एक हजार कार्टुन बाँकी छ । अहिले भारतबाट आयत गरिएको चकलेटी स्याउको सिजन अन्तिम भएकाले अन्य स्याउभन्दा बढी त्यही नै बिक्री भइरहेको उनले सुनाए । अबको दुई सातापछि चाइनिज स्याउले मार्केट लिने उनले बताए ।


नेपाल हिमाली जिल्लाहरूमा फल्ने स्याउ व्यावसायिक रूपमा पूर्वी तराईमा नआउने भएकाले भारत र चीनको स्याउमा निर्भरता रहेको उनले बताए । भारतबाट आयात गरिएको स्याउ आइपुग्छ कहिलेकाहीँ आधा बिग्रिएर आउने भएकाले घाटा सहनुपरेको उनले सुनाए । अहिले सबैले फलमा स्याउनै बढी रोज्ने भएकाले पहिलेको तुलनामा स्याउको बिक्री दसगुनाले बढेको छ ।


कार्टुनमा २० दिनसम्म स्याउ राख्दा नबिग्रने र फ्रिजमा राख्दा दुई महिनासम्म राख्दा पनि स्याउ बिग्रँदैन । ठूलो परिमाणको स्याउ भने कोल्ड स्टोरमा छ महिनासम्म राखेर बिक्री गर्ने गरिएको छ ।


भारत र चीनमा स्याउ बढी फलेको भए त्यसको असर नेपाली बजारसम्म पर्छ । बढी स्याउ फलेको र सिजनमा स्याउ सस्तो हुने र कम फलेको बेला स्याउको मूल्य बढी व्यापारीहरू बताउँछन् । भारत र चीनबाट आयात हुने स्याउ जोगवनी भन्सार भएर विराटनगर आउने अनि सुनसरी, झापा र मोरङका विभिन्न सहरहरूमा वितरण हुने गर्छ ।


पछिल्लो समयमा चाइनिज स्याउ नेपाल हँुदै अवैध बाटोबाट भारतसमेत जान थालेको स्रोत बताउँछ । अफ सिजनमा भारतमा समेत स्याउ अभाव हुने र स्टोरेज गरेको स्याउ महँगो हुने भएकाले सस्तो चाइनिज स्याउको अवैध निकासी हुने गरेको हो ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?