एसिड प्रहारबाट बालक सख्त घाइते

प्रदीप मेन्याङ्बो

सुनसरी — अज्ञात युवाहरुको एसिड प्रहारबाट १४ वर्षीय बालक घाइते भएका छन् । उनको उपचार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको छ ।

एसिड प्रहारबाट बालक सख्त घाइते

घाइते बालकले आफ्नो नाम दिपेन परियार बताएका छन् । एसिड प्रहारबाट चिन्ताजनक अवस्थामा सोमबार राति ९ बजे दुहवीमा लडिरहेको फेला पारेपछि प्रहरीले उपचार गर्न प्रतिष्ठानमा ल्याएको हो ।

घाइते बालकले आफ्नो आमा नभएको र बाबुको नाम अशोक रहेको बताएका छन् । उनले विराटनगरको कोशी अस्पताल लाइनमा बस्ने गरेको बताएपनि प्रहरीले फेला पार्न नसकेको प्रतिष्ठानका प्रहरी इन्चार्ज तिलक गिरीले बताए । बालकको छाती र घाँटीमा एसिड प्रहार भएको छ । मुस्किलले बोल्न सक्ने अवस्थामा रहेका घाइते बालकले प्रहरी र चिकित्सकलाई ‘राति दुहवीको पुल नजिकैको चौतारीमा बसिरहेको बेला ठूला दाइहरुले तातो चिजले हानेको’ मात्र भनेका छन् ।

उपचारमा संलग्न बालरोग चिकित्सक डा अरुण कुमार सिंहले भने, ‘बालकको अवस्था नाजुक छ । उसलाई थप उपचारका लागि आइसियु आवश्यक देखिएको छ ।’ प्रहरीले उपचारको लागि प्रतिष्ठानमा भर्ना गरिदिएपछि बालकको रेखदेख र उपचार खर्च चिकित्सक र नर्सहरुले गरिरहेका छन् ।

डा सिंहका अनुसार बालकको आफन्त अझै फेला पनि नपरेको र फेला परेपनि आइसियुमा राखेर उपचार गर्न सक्ने आर्थिक क्षमता भएको जस्तो नदेखिएकाले चिकित्सक र नर्सले मिलेर रकम उठाउँदै औषधि उपचार भइरहेको छ । एक छिनसम्म मुस्किलले बोल्ने, बोलिसकेपछि रुने र बेहोस हुने भएकाले आइसियुमा राख्नु पर्ने अवस्था देखिएको डा सिंहले बताए । उनले भने, ‘प्रतिष्ठानसँग पनि निशुल्क उपचारका लागि अनुरोध गरेका छौं । नपुगेको हामीले जुटाउने छौं भनेका छौं ।’

बालकले आफूलाई एसिड प्रहार गर्नेहरु नचिनेका कारण ‘ठूला दाईहरुले’ मात्र भन्न सकेको प्रहरी इन्चार्ज गिरीले बताए । उनले भने, ‘अहिलेसम्म एसिड प्रहार घट्ना युवतीहरुलाई हुने गरेको देखिएको थियो । तर यो सडक बालक जस्तो देखिने बबुरोलाई ठूला केटाहरुले किन एसिडले हाने भन्ने नै पत्ता लगाउन सकिएको छैन ।’ प्रहरीले कुनै उछृङ्खल युवाहरुले बाटोको चौतारीमा राति बसेको अवस्थामा एसिड हानेको अनुमान गरेको छ ।

प्रकाशित : कार्तिक ६, २०७५ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?