कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

तरकारी बेच्न दैनिक ४० किलोमिटर

विनोद भण्डारी

विराटनगर — साठी वर्षीय भगवान दास हरेक दिन बिहान तीन बजे सुनसरीको हरिनगराबाट साइकलमा तरकारी लोड गरेर झन्डै १५ किलोमिटर टाढाको विराटनगर बजार आइपुग्छन  । विराटनगर आउँदा उनी तरकारी लोड गरेको साइकल डोर्‍यार हिँड्दै आउँछन्  ।

तरकारी बेच्न दैनिक ४० किलोमिटर

तरकारी बिक्री गरिसकेपछि साँझ चार बजे घर फर्कंदा भने साइकलमा चढेर जान्छन् ।


विराटनगरको मुख्य बस्ती रहेका टोल टोलमा एकाबिहानै आवाज आउँछ ‘सब्जी हो भगवान, सब्जी’ । कतिको त निद्रा उनैको आवाजले खुल्छ । दास दैनिक झन्डै ४० किलोमिटर पैदल हिँडेर तरकारी घरघरमा बिक्री गर्ने बताउँछन् । ‘यही कर्म गरेको तीन दशक भयो,’ उनले भने, ‘दैनिक सरदर २ हजार ५ सय रुपैयाँको सब्जी यो बजारमा बिक्री गर्छु ।’ यसैले परिवारको गुजरा चलाउँदै आएको उनले बताए । सब्जीको बारीमा नै सस्तो पाइन्छ । त्यो सब्जी विराटनगरमा बढी मूल्यमा बिक्री हुँदा नाफा राम्रो बस्छ ।


भगवान्ले भने, ‘पच्चीस सयको सब्जी बिक्री गर्दा दैनिक सरदर ७/८ सय रुपैयाँ नाफा हुन्छ ।’
हरिनगराबाट विराटनगर पुग्दा १५ किलोमिटर पैदल हिँड्ने उनले बताए । ‘बजारका घरघरमा पुगेर सब्जी बिक्री गर्दा झन्डै १० किलोमिटर पनि पैदल नै हिँडिन्छ,’ उनले भने, ‘घर फर्कदा मात्र १५ किलोमिटरको दूरीमा साइकल चढ्छु ।’ पहिला ठाउँ ठाउँमा प्रहरी नहुँदा उज्यालो भएपछि मात्र घरबाट निस्कन्थे । अहिले गाउँमा सुरक्षाकर्मीको उपस्थिति भएका कारण राति नै तरकारी लिएर बजार निस्किन थालेको उनको भनाइ छ । उनी हरेक ग्राहकलाई भगवान्ले सम्बोधन गर्दै तरकारी बिक्री गर्छन् ।


यसरी सब्जीको व्यापार गर्ने सुनसरी हरिनगराका भगवान् एक्ला व्यक्ति भने हैनन् । सुनसरीको दक्षिणी सीमावर्ती हरिनगरा, देवानगन्ज, सायवगन्ज र कप्तानगन्जका २ सयभन्दा बढी व्यक्तिको दैनिकी यस्तै छ । यी स्थानको मुख्य खेती तरकारी बाली हो । यहाँ उत्पादन हुने सबै तरकारी विराटनगर बजार पुग्छ । एक दशकदेखि यही कर्म गर्दै आएका कप्तानगन्जका राजेन्द्र दासले भने, ‘हरिनगरा, देवानगन्ज, सायवगन्ज र कप्तानगन्जमा उत्पादन भएका सबै तरकारी साइकलमा घिस्याएर विराटनगर पुर्‍याएर बिक्री गरिन्छ ।’


यहाँका प्राय: सबै घरमा तरकारी खेती गरिन्छ । उत्पादित सबै तरकारी परिवारका आफैंले साइकलमा विराटनगर र आसपासका बजारमा लगेर बिक्री गर्नुपर्ने बाध्यता छ । दासले भने यस क्षेत्रका २ सयभन्दा बढी मानिस हरके दिन बिहान तीन–चार बजे साइकलमा तरकारी लोड गरेर बजार निस्किन्छन र दिनभरिमा बिक्री गरेर साँझमा घर फर्कन्छन । त्यसरी तरकारी बजार लिएर पुग्ने केहीले गुदरी बजारको सब्जी मण्डीमा बिक्री गर्छन् । राजेन्द्रले भने केहीले घरघरमा लगेर बिक्री गर्छन । उनका अनुसार साइकलमा ताजा तरकारी घरमै पुर्‍याउँदा उपभोक्ताले बढी रुचाउँछन ।

प्रकाशित : कार्तिक ७, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?