महाभारत क्षेत्रका हरिया रूख सुके

महाभारत पहाड शृंखलामा रहेका सामुदायिक र राष्ट्रिय वन क्षेत्रका साल र सल्लोका रूख सुक्दै
डिल्लीराम खतिवडा

उदयपुर — महिनायता महाभारत क्षेत्रको जंगलमा हरिया रूख सुकिरहेका छन्  । महाभारत पहाड शृंखलामा रहेका सामुदायिक र राष्ट्रिय वन क्षेत्रका साल र सल्लोका रूख सुकेका हुन्  ।

महाभारत क्षेत्रका हरिया रूख सुके

मैनामैनीदेखि लेखानीसम्म रूख सुके पनि विशेष गरेर कटारी नगरपालिका क्षेत्रमा पर्ने वनमा अत्यधिक रूख सुकेका छन् । सामुदायिक वन उपभोक्ता समूहले संरक्षण गरेको वनसमेत सुक्दैजाँदा उपभोक्ता समस्यामा परेका छन् ।

असोज मसान्तसम्म उदयपुर क्षेत्रमा व्यापक वर्षा भएको थियो । चिसो नहुने खडेरीका बेला सुक्ने गरे पनि यस्तो अवस्थामा रूख कसरी सुक्यो भन्ने स्थानीयले चासोसँगै चिन्ता व्यक्त गरेका छन् । ‘साल र सल्लाको रूख सुकेका छन्,’ कटारी नगरपालिका ११ का वडाध्यक्ष दीपक बुढाथोकीले भने, ‘ठाडो रूख जरादेखि टुप्पोसम्म सुकेका छन् ।’

‘किराले पात खाने, सालका रूख फेदैबाट सुक्दै मर्ने गरेर वन सखाप हुन थालेको छ ।’ महाभारत पहाडमा पर्ने सालघारी र बुढीभीर वन क्षेत्रका सालका रूख सुकेर वन उजाड भएको उनले बताए ।

असोजयता रूख सुक्दै गएको हो । झन्डै महिना दिनमा वन क्षेत्रमा धेरै ठूलो संख्यामा रूख सुकेका छन् । महाभारत क्षेत्रमा पानीको स्रोत सुक्दै जाँदा वन जंगलमा समस्या हुने गरेको थियो । तर अहिले बर्षातको पानीको चिसो घट्ने समय भइनसकेको स्थानीयवासीले बताए । ‘वर्षातको चिसो सुक्ने बेला भएको छैन,’ स्थानीय रमिला राउतले भनिन्, ‘पाखो बारीमा त चिसो छँदैछ, वन क्षेत्रमा फागुनसम्म चिसो हुन्छ ।’

त्यसैले कातिकको दोस्रो सातामै रूख सुक्नु चिसोका कारणले नभएको उनले बताइन् । अहिले वन क्षेत्रमा पर्याप्त चिसो रहेको वन कर्मचारी बताउँछन् । त्यसैले चिसोका कारणले रूख सुक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ । त्यसमा पनि चैत, बैशाखमा समेत साल र सल्लोको पात सुकेर झरे पनि बोट सुक्ने समस्या नहुने वन कर्मचारीले बताए ।

कटारी नगरपालिका १०, ११, १३ र १४ का वडाका वनमा रूख सुक्दै गएका छन् । ‘एक्कासि ठूलो संख्यामा हरियो रूख सुक्दै जानु चिन्ताको विषय हो,’ सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले भने, ‘उदयपुर जिल्लामा यो पहिलोपटक आएको समस्या हो ।’ ठूलो क्षेत्रफलमा रूख सुक्दै गएकाले वन विनाश हुने सम्भावना बढेकाले यसको रोकथाम, नियन्त्रण र उपचारका लागि महासंघले चाँडै काम थाल्ने उनले बताए ।

वन क्षेत्रमा अनौठो तरिकाले हरियो रूख सुक्दै गएको भन्ने जानकारी पाएको डिभिजन वन कार्यालय त्रिवेणी कटारीका प्रमुख दानबहादुर श्रेष्ठले बताए । रूख सुक्दै गएको विषयमा अध्ययन थालिएको र माथिल्लो निकायमा समेत जानकारी गाराइएको उनले बताए ।

जलवायु परिवर्तनकै असरले एक्कासि हरियो रूख नसक्नुपर्ने डिभिजन वन कार्यालय गाईघाटका प्रमुख बिष्णु आर्चायले वताए । ‘ठूलो संख्यामा रूख सुक्नु भनेको रूखमा रोग किराले हुनसक्छ, ढुसी( फङ्गस) वा रूखमा कडाखाले रोगले सुक्नुपर्ने हो’, डिभिजन प्रमुख आर्चायले भने, ‘ढुसी किरा (फङ्गस) ले बिशेष गरेर ठूलो संख्यामा एकैपटक रूख सुकाउन सक्छ ।’

तर सामान्य अध्ययनले के भएको हो भन्न सक्ने अवस्था नभएकाले वन अनुसन्धान केन्द्रमा खबर गरेर वास्तविक रोग पत्ता लगाउने उनले बताए । अहिलेकै अवस्थामा रूख सुक्दै गएमा महिना दिनमा साल, खयर र सल्लोको जंगल पूरै नष्ट भएर जाने वनका विज्ञ बताउँछन् ।

प्रकाशित : कार्तिक ११, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?