१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

पिछडियो पुरानो व्यापारिक केन्द्र

मेची राजमार्ग खुलेसँगै दार्जिलिङसँग सीधा सम्पर्कका लागि अरू रूट खुलेपछि गोर्खे बजारलाई असर परेको हो
विप्लव भट्टराई

काठमाडौँ — कुनै बेला खुट्टा छिराउने ठाउँ नहुने जिल्लाको प्रमुख व्यापारिक केन्द्र गोर्खे बजार अचेल सुनसान छ । राणाकालअघि नै अस्तित्वमा रहेको यो बजार जिल्लाभरमात्र होइन बाहिरी जिल्लाका बासिन्दाका लागि पनि जडिबुटीलगायत नगदेबाली बिक्री गर्ने र नुन चामल किन्ने केन्द्र थियो  ।

पिछडियो पुरानो व्यापारिक केन्द्र

बजारको चहलपहल न्यून भएकाले यहाँका अधिकांश ठूला व्यापारी विस्थापित भइसकेका छन् । तीन दशक अघिसम्म गोर्खे बजार प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको थियो । ऐतिहासिक र पर्यटकीय महत्त्वको यो बजारलाई पुनर्जीवन दिनुपर्ने स्थानीयको माग छ । स्थानीयले पुनर्जीवन दिने प्रयास पनि नगरेका होइनन् । ५ वर्षअघिदेखि बुधबारे हटिया सुरु गरिएको छ ।

हटियामा विभिन्न कार्यक्रम राख्दै रौनक बढाउन स्थानीय लागि परेका छन् । ‘हटिया सुरु भएपछि केही न केही चहलपहल बढेको छ,’ स्थानीय विशाल मास्केले भने, ‘जुन हिसावले बजार खस्कदै गएको थियो अहिले भने केही सुधार छ ।’

उनका अनुसार पछिल्लो समय व्यापारीहरू त्यहीं अडिएका छन् । विभिन्न कार्यक्रमको आयोजना गर्दै हटिया लगाएर बजार विताउने प्रयासमा स्थानीय लागे । तर सोचे अनुसार पुरानो शैलीमा यो बजार फर्कन सकेन ।

सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारबाट ११ किलोमिटर उत्तरमा रहेको यो बजार सुनसान बन्नुमा प्रमुख कारण सडक सञ्जाल नै हो । पहिला जतासुकै सडक नहुँदा सीमावर्ती मानेभञ्ज्याङभन्दा करिव ७ किलोमिटर तलको यो बजार केन्द्र थियो । चहलपहल धेरै भएकाले ठूला व्यापारीको नजर नपर्ने कुरै भएन ।

तर मेची राजमार्ग खुलेसँगै दार्जिलिङसँग सीधा सम्पर्क कायम गर्न अरू रूट खुलेपछि गोर्खे बजारलाई ठूलो असर देखिएको हो । ‘दार्जिलिङ प्रवेशका लागि अरू बाटो खुल्नु र घरगाउँमा नै बाक्लै बजार विस्तार हुनुले एतिहासिक यो बजारमा सन्नाटा छाएको हो,’ स्थानीय वेद सापकोटाले भने, ‘पहिला बजारको भीड छिचोल्न घण्टौं कुर्नु परेको अहिले जस्तो लाग्छ ।’ फिक्कलबाट पशुपतिनगर हुँदै दार्जिलिङ प्रवेशका लागि सहज रूट खुलेपछि त गोर्खे गुमनाम नै बन्न पुग्यो ।

अझै पनि बजार व्युँताउन सकिनेमा स्थानीय आशावादी छन् । बजार रन हुँदा सञ्चालनमा रहेका कार्यालयको स्थापनासँगै फिक्कलबाट मानेभञ्ज्याङसम्म सडकलगायतका पूर्वाधार विस्तार गरेर बजारको अस्तित्व राख्न सकिने उनीहरूको भनाइ छ । सन्दकपुर पुग्ने पर्यटकीय सडक र फिक्कल–मानेभञ्ज्याङ सडक व्यवस्थित हुने भए बजारले कोल्टे फेर्न सक्ने स्थानीय उद्धव पौडेल बताउँछन् ।

यी सडकको स्तरोन्नति गरेर १ महिना नै सवारी साधन चल्ने बनाउनुपर्ने स्थानीयको भनाइ छ । इलामलगायत पूर्वका पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुमलगायत जिल्लासम्म यही बजारबाट दैनिक उपभोग्य सामग्री जाने गरेको थियो । ती क्षेत्रमा उत्पादित नगदेबाली बिक्रीका लागि पनि गोर्खे बजार प्रख्यात थियो ।

बजारको चाप हुँदा यहाँ १२ वटा माडवारीका पसल र दर्जनांै अरू ठूला पसल सञ्चालनमा थिए । अहिले त्यो अवस्था छैन । विगतमा यहाँ कृषि विकास बैंक, भेटनरी, भन्सार, प्रहरी चौकीलगायतका सरकारी कार्यालय रहेका थिए । अहिले बैंक, भेटनरी र भन्सार छैन । हटेको प्रहरी कार्यालय भने पुन:स्थापना भएको छ । एउटा ‘क’ वर्गको बैंक भए स्थानीयलाई सुविधा पुग्नेसँगै कारोबार बढ्ने अपेक्षा गोर्खेबासीको छ ।

गोर्खे बजार ४० को दशकसम्म अत्यधिक चलेका बजार थियो । यहाँ २०१८ सालमा नै दार्जिलिङबाट मोटर आएको थियो । गोर्खे बजार राणा शासनकै बेला पनि चल्तीमा रहेको स्थानीयवासी बताउँछन् । पृथ्वीनारायण शाहले सिक्किम आक्रमण गर्ने क्रममा गोर्खा फौज बास बसेको भएकाले गोर्खे नामकरण भएको बुढापाकाहरू बताउँछन् ।

आलु अलैंची र जडिबुटीका बिक्री र खाद्यान्न, नुन, मट्टितेललगायत सामग्री खरिदका लागि यो बजारमा टाढाबाट पनि आउने गरेका थिए । अझै पनि पूर्वी पहाडी क्षेत्रमा उत्पादन हुने लसुने बिक्रीका लागि एक मात्र बजार गोर्खे हो । यहाँ बार्षिक दुई टनसम्म लसुने संकलन हुने गरेको छ ।

गोर्खेमा रहेको जिल्लाकै पहिलो साना जलविद्युत आयोजना बन्द छ । ६४ किलोवाटको आयोजना पशुपतिनगर र गोर्खे बजारलाई लक्षित गरेर सञ्चालन गरिएको थियो । यसलाई पनि पुनर्जीवन दिने हो भने अझ चहलपहल बढ्ने स्थानीयको अपेक्षा छ । बजार नजिकै मेलबोटेमा रहेको प्रणामी मन्दिरका कारण पनि बजार क्षेत्रको चहलपहलमा सुधार आएको छ ।

प्रकाशित : कार्तिक १२, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?