३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सडकले विकास कि विनाश ?

प्राविधिक र वातावरणीय अध्ययनबिनै धमाधम सडक
जथाभावी सडक खन्दा भूक्षय, वन विनाश र खेतीयोग्य जमिन बिग्रियो
डम्बरसिं राई

खोटाङ — स्थानीय तहमा निर्माण गरिएका उपभोक्ता समितिमध्ये धेरैजसो सडक निर्माणसम्बन्धी छन् । यसमा पनि अधिकांश उपभोक्ता समितिले एक्साभेटर प्रयोग गरेर सडक खन्ने गरेका छन् ।

सडकले विकास कि विनाश ?

उपभोक्ता समितिले वातावरणीय प्रभावलाई ध्यान नदिई सडक खन्दै आएका छन् ।

गत आर्थिक वर्ष पनि जथाभावी ग्रेड नमिलाइएका सडक खनिएको थियो । यसले न सडक सञ्चालन भयो न गुणस्तर नै बन्यो । सडकको नामा छुट्टयाइएको रकम एक्साभेटर मालिकको आयआर्जनको मेसो मात्र बन्यो । यसले स्थानीयस्तरका जनताको जीवनस्तर उक्सन पनि सकेन । स्थानीय तहले सीमान्तकृत समुदायको नामको बजेट पनि शीर्षक मिलाएर सडकमै खर्च गर्न अझै रोकेका छैनन् ।

जनप्रतिनिधिहरूको चेतना अभावमा यस्तो भएको सर्वसाधारणले गुनासो गरेका छन् । सर्वसाधारणको भन्दा कम चेतना हुनु पक्कै पनि जनप्रतिनिधिमाथि उठेका गम्भीर प्रश्नहरू हुन् । यसमा पनि कतिपय जनप्रतिनिधिहरूले बजेटमा लोभिएर एक्साभेटरै खरिद गरेकाले उदाङ्गिएका छन् ।

अघिल्लो वर्ष दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले ९८. ५ किलोमिटर सडक ट्रयाक खोलेको थियो । यसबाहेक १५ वटै वडा गरी २९.६ किलोमिटर सडक चौडा गरेको थियो । हलेसी तुवाचुङ नगरपालिकाले एक सय १६.१८ किलोमिटर सडकको नयाँ ट्रयाक खोलेको थियो ।

खोटेहाङ गाउँपालिकाले ९२ किलोमिटर सडक ट्रयाक खानेको थियो । त्यस्तै अन्य पालिकाहरूले पनि सडकलाई प्राथमिकतामा राखेर बजेट सकेको थियो । तर कतिपय ठाउँहरूमा जथाभावी सडक खनिएकाले भूक्षय, वन विनाश र खेतीयोग्य जमिन बिगार्नुभन्दा अन्य उपलब्धि नभएको खोटेहाङ गाउँपालिका अध्यक्ष प्रदीप राई बताउँछन् ।

यसबाहेक कतिपय ठाउँमा पानीको मुहान सुकेका छन् । महत्त्वपूर्ण सम्पदाहरू नष्ट भएका छन् । यसबाट पाठ सिकेर यो वर्ष भने नयाँ ट्रयाक नखोल्ने योजना बनाइएको अध्यक्ष राईले बताए ।

केपिलासगढी, रावाबेंसी, ऐंसेलुखर्क, साकेला, दिप्रुङचुइचुम्मा, जन्तेढुङ्गा र बराहापोखरी गाउँपालिकामा पनि सडकमै रकम सकिएको छ । यी पालिकाहरूमा पनि नयाँ ट्रयाक बन्द गरिने पालिका अध्यक्षहरूले बताएका छन् ।

यो वर्ष पनि कतिपय उपभोक्ता समितिले काम सुरु नै गरिसकेका छन् । कतिपयले सुरु गर्ने चरणमा छन् । बेलैमा काम थालेर बेलैमा सक्ने गरी योजना बनाइएको साकेला गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काले बताए । उनका अनुसार केही उपभोक्ता समितिले सम्झौता गरेर काम नै थालिसकेका छन् । करिब सात करोड ५५ लाख रुपैयाँको बजेटको काम उपभोक्ता समितिले गर्ने खडकाले सुनाए । मंसिर १५ गतेभित्रमा सबै उपभोक्ता समितिहरूले सम्झौता गर्नुपर्ने पालिकाले निर्णय गरेपछि त्यहीअनुसार काम सुरु भएको अध्यक्ष खड्काले बताए ।

केपिलासगढी गाउँपालिका अध्यक्ष कृष्णकुमार राईका अनुसार उपभोक्ता समितिहरूलाई अभिमुखीकरण तालिमपछि काम थालनीको तयारी गरिएको छ । उक्त पालिकामा करिब २४ करोड ५० लाख बजेटमध्ये १२ करोड निशर्त अनुदानअन्तर्गत उपभोक्ता समितिलाई काम जिम्मा दिइएको राईले सुनाए ।

रावाबेंसी गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाका अनुसार उपभोक्ता समिति गठनपछि लाई अभिमुखीकरण २१ करोड २१ लाख ९५ हजार रुपैयाँमध्ये करिब पाँच करोडको हाराहारीमा उपभोक्ता समितिले काम गर्नेछ । निरौलाका अनुसार कामको सम्झौता भइरहेको र कात्तिकभरिमा सम्झौता सकेर काम थाल्ने योजना बनाइएको छ ।

खोटेहाङ गाउँपालिकामा पनि उपभोक्ता समिति गठन गरी अभिमुखीकरण तालिमपछि काम सुरुको तयारी भएको छ । उक्त पालिकामा कामलाई गुणस्तर दिन र अनियमितता रोक्न उपभोक्ता समिति कार्यविधि पारित गरी त्यसैअनुसार काम थालनी गर्ने तयारी गरिएको खोटेहाङ गाउँपालिका अध्यक्ष राईले बताए ।

उनका अनुसार योभन्दा अगाडि पेस्की हुने व्यक्ति, शिक्षक, कर्मचारी, राजनीतिक दलका पदाधिकारी तथा एउटा उपभोक्ता समितिमा बसेको व्यक्ति अर्को उपभोक्ता समितिमा राखिएको छैन । यसले कामको गुणस्तर तथा अनुगमनमा सहज हुने अध्यक्ष राईको विश्वास छ । दिप्रुङ चुइचुम्मा, ऐंसेलुखर्क, जन्तेढुङ्गा, बराहापोखरी गाउँपालिकाले पनि काम थाल्ने तयारी गरेका छन् ।

दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले भने उपभोक्ता समितिहरू गठन भइरहेको नगरपालिका प्रमुख दीपनारायण रिजालले बताए । उनका अनुसार जम्मा योजनाको करिब ८० प्रतिशत उपभोक्ता समितिले काम गर्नेछन् । यसमा योजनाअनुसार एउटा उपभोक्ता समितिले करिब एक करोडसम्मको काम गर्ने छन् ।

हलेसी तुवाचचुङ नगरपालिकाले भने उपभोक्ता समिति गठन सकेर अभिमुखीकरण तालिम सञ्चालन गर्ने तयारी गरिएको प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईले बताए । उनका अनुसार केही दिनपछि अभिमुखीकरण तालिम सकेर काम थाल्ने योजना बनाइएको छ । उपप्रमुख विमला राईको संयोजकत्वमा अनुगमन समितिको कार्यसम्पादनका आधारमा योजना फछ्र्यौट हुने राईले सुनाए ।

प्रकाशित : कार्तिक १४, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?