सामाजिक सुरक्षा भत्ता लिन सास्ती

सरकारले वृद्धवृद्धा र एकल महिलाका लागि व्यवस्था गरेको सामाजिक सुरक्षा भत्ता लिन बैंकको झन्झटिलो प्रक्रिया
प्रदीप मेन्याङ्बो

सुनसरी — धरान–१५ मिलनपथका ८० वर्षीय लोकनाथ रिजाल सरकारले वृद्धवृद्धा र एकल महिलाको सम्मान गर्दै सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेकोमा खुसी भए पनि बैंकमार्फत वितरण भएकामा बेखुसी छन्  ।

सामाजिक सुरक्षा भत्ता लिन सास्ती

बैंकले अनेक झमेला दिन थालेकाले उनी बेखुसी भएका हुन् । धरानको मेघा बैंकबाट सामाजिक सुरक्षा भत्ता लिनका लागि उनले छ दिन धाए पनि बैंक कर्मचारीले रित्तोहात फर्काएको बताए ।


वडा १५ को कार्यालयमा वडा अध्यक्ष नरेश इङारम र सचिव हिरा खत्रीलाई गुनासो सुनाउन आएका बेला भेटिएका रिजालले भने, ‘यसअघि लक्ष्मी बैंकबाट भत्ता लिँदा यस्तो झमेला थिएन । तर मेघा बैंकमा सारेपछि अनेक झमेला दिएर रित्तो हात फर्काए ।’


बैंकले उनको सामाजिक सुरक्षा भत्ता लिने परिचयपत्रमा नागरिकताको नम्बर सही भए पनि नागरिकता परिचयपत्रमा नागरिकता नम्बरसँगै अब्लिक गरेर नागरिकता लिएको आर्थिक वर्ष ०३२–०३३ पनि लेखिएको विषयलाई लिएर सच्याउन भन्दै वडा कार्यालय पठायो । उनले भने, ‘वडामा सच्याएर गएँ तर बैंकले तपाईंका लागि कुपन छैन भनेर फर्कायो । भोलिपल्ट कुपन पाएँ, नगरपालिकाले तपाईंको नाममा बैंकमा पैसा नै हालेको छैन भनेर फेरि फर्कायो ।’


उनले यसअघि पनि अनेक सास्ती खेपेर सामाजिक सुरक्षा भत्ता लिँदै आए पनि बुढेसकालमा यति विघ्न सास्ती खेप्नु नपरेको बताए । रिजालले जस्तै मनलक्षी राईले पनि झमेला भोग्नु परेको गुनासो गरिन् ।


उनको परिचयपत्र नम्बरभन्दा बैंकको सिटमा फरक नम्बर देखाएपछि भत्ता पाउँदैनौ भनेर रित्तै फर्काएको वृद्धा राईले बताइन् । उनले भनिन्, ‘बैंकका कर्मचारीले भत्ता खाने विचार छ भने बैंकले देखाउने अंक भएको परिचय पत्र बनाएर ल्याउनु भनेर फर्कायो । यसअघि यस्तो झमेला भएको थिएन ।’


सामाजिक सुरक्षा भत्ता लिनलाई बैंकले अनेक सास्ती दिएपछि धरानका अधिकांस वृद्धवृद्धा, एकल महिलाले सहजरूपमा रकम दिलाउन माग गर्दै आ–आफ्ना वडा कार्यालमा सामूहिकरूपमा लिखित निवेदन दिएका छन् । पहिलो पटक वडा १५ को कार्यालयमा ७ जनाले सामूहिक निवेदन दिँदै भनेका छन्, ‘सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई भत्ता रकम प्राप्त गर्न वडा कार्यालय र धरान उपमहनगरले सबै प्रक्रिया पूरा गरी मेघा बैंक जाँदा हामी बृद्धवृद्धालाई अत्यन्तै दु:ख मात्र दिने गरेका छन् । कम्तीमा चार पाँच घण्टा लाइनमा बसाइसकेपछि पालो आउँदा तेरो यो भएन, त्यो मिलेन, सच्याएर आइज भनेर रुखो व्यवहारले झन् दुखित बनाएको छ ।’


जोगमाया राई, भीम शेर्पा, कल्पना याख्खा, गीता क्षेत्री, मिङ्मा नर्वु शेर्पालगायतले बिनाझन्झट प्राप्त गर्न सकिने बैंकमा लगत सारी बैंकले दु:ख पाएका वृद्धवृद्धा र एकल महिलालाई सहज बनाइदिन अनुरोध गरेका छन् । पहिले अरू बैंकमार्फत भत्ता लिदा नागरिकता र परिचयपत्रका विषयमा प्राविधिक समस्या नभोगे पनि मेघा बैंकमा लगत सारिएपछि सास्ती भोग्नु परेको उनीहरूले बताए ।


७० वर्षीया जोगमाया राईले भनिन्, ‘हामी बूढाबूढीका लागि बैंकमा बस्ने ठाउँ समेत छैन । लाइनमा उभिरहनका लागि खुट्टाले थाम्दैन । खुट्टाले नथामेपछि हामी भर्‍याङको एक छेउमा अडेसालाई बस्छौं । बल्लबल्ल पालो आउँदा आजकलका कर्मचारी बूढाबूढीलाई हेपेर बोल्छन् ।’ जोगमायाको राईको नागरिकतामा नाम सही भए पनि भत्ता लिने परिचयपत्रमा ‘राई’ हुनुपर्नेमा ‘राइे’ भएपछि रितो हात फर्केकी थिइन् ।


धरान–१५ बझगरा बस्ने ४६ वर्षीया विधवा गीता क्षेत्रीको नागरिकतामा नाम सही भए पनि परिचयपत्रमा ‘क्षेत्री’ को ठाउँमा ‘क्षत्री’ मात्र भएपछि उनलाई पनि बैंकले सच्याउन भन्दै फर्काएर सास्ती दिएको थियो । वडा कार्यालयका सचिव हिरा खत्रीले भने, ‘पहिलेदेखि पाउँदै आएकालाई भत्ता दिएर पठाउँदा हुने तर बैंक कर्मचारी अचेल ह्रस्व, दीर्घ, कमा, इकार, उकार, ऐकार मात्र हेर्न थालेकाले बूढाबूढीहरूले धेरै दु:ख सास्ती भोग्नु परेको छ ।’ उनका अनुसार नागरिकताअनुसार वडा र धरान उपमहानगरपालिकाले सरकारले उपलव्ध गराएका आधारमा बनाएको कार्डमा भएका साना साना गल्तीलाई लिएर यो दसैं अगाडि धेरैले भत्ता नपाएको गुनासो गरेका थिए ।


पछिल्लो समयमा वडा कार्यालयमा दैनिक पाँचसात जना वृद्धवद्धा र एकल महिलाले गुनासो सुनाउन आउने गरेको खत्रीले बताए । कतिपय गाउपालिकाले सामाजिक सुरक्षा भत्ता घरघरमा वितरण गर्ने गरेका छन् । तर सहरीक्षेत्रमा बस्ने वृद्धवृद्धा र एकल महिलालाई बैंकमार्फत भत्ता वितरण गर्दा झन्झटिलो भएको छ । बैंकले सामाजिक सुरक्षा भत्ता लिनेलाई भन्दा बैंकलाई बढी फाइदा पुर्‍याउने आफ्नो सेवाग्राहीलाई पहिलो प्राथमिकता दिने भएकाले वृद्धवृद्धाले सास्ती खेप्नु परेको हो ।

प्रकाशित : कार्तिक १६, २०७५ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?