कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

पठन संस्कृति बढाउँदै मधुमल्लाको पुस्तकालय

प्रदीप मेन्याङ्बो

सुनसरी — पूर्वी उत्तरी मोरङमा पर्ने मधुमल्लाका आधादर्जन शैक्षिक संस्था र स्थानीय पाठकका लागि लेखनाथ पुस्तकालय ज्ञानको स्रोत बनेको छ ।

पठन संस्कृति बढाउँदै मधुमल्लाको पुस्तकालय

हाल मिक्लाजुङ गाउँपालिका नामाकरण भएको मधुमल्लाको उक्त पुस्तकालयलाई ज्ञानको स्रोत बनाउन २०२६ सालदेखि नै स्थानीय बासिन्दाले प्रयास गरिरहेका छन् ।


झापाको दमक, उर्लाबारी, पथरी भन्दा तीन दशक जेठो मधुमल्लामा स्थापित ५१ वर्ष पुरानो पुस्तकालयमा स्थानीय पाठकसँगै आधादर्जन विद्यालयका विद्यार्थीहरु नियमित पढन् आउने गरेका छन् ।


टेलिभिजन, मोबाइल, इन्टरनेटको विकाससँगै पठन संस्कृतिमा ह्रास आइरहेको बेला मधुमल्लाका विद्यार्थी र पाठकका लागि पुस्तकालय ज्ञानको स्रोत प्राप्त गर्ने माध्यम बनेको पुस्तकालायका अध्यक्ष गोविन्द बस्नेतले बताए । पुस्तकालयले आधा शताब्दी वा शताब्दी अगाडिको समाजले प्रयोग गरेका सामाग्रीहरु पनि राखेर नयाँ पुस्तालाई इतिहासको जानकारी दिदै आएको छ ।


उनले भने, ‘पठन संस्कृति बढाउन यो पुस्तकालायले आधा शताब्दीदेखि योगदान दिँदै आएको छ । पछिल्लो समयमा हामीले पुस्तकाललाई समयअनुकुल बनाउने प्रयासमा जुटेका छौं । त्यसका लागि डिजिटल सिस्टमबारे अध्ययन गर्दै छौं ।’ पुस्तकालमा स्थानीय विद्यालयहरु भगवती मावि, रिलायन्स, भानु मेमोरियल, मदर मधुमल्ला, निर्मल सिद्धार्थ लगायतका शिक्षक र विद्यार्थीहरु नियमित अध्ययन गर्न आउने गरेका छन् ।


विद्यालयमा पढाइने पाठ्यक्रममा आधारित पुस्तकमा सबै ज्ञान समेट्न नसकेपनि परीक्षा उत्तिर्ण गर्न मदत गर्छ तर विभिन्न ज्ञान र जानकारी भने पुस्तकालयमा भएका कला, साहित्य, धर्म, दर्शन, इतिहास, संस्कृति, भूगोल, कानून, कृषी–वागवानी, समसामयिक घट्ना विवरण भएका दैनिक पत्रपत्रिकाले ज्ञानको स्तर बढाउने भएकाले पुस्तकालय धाउनेहरुको संख्या बढेको हो ।


पछिल्लो समयमा मावि तहका किशोर किशोरीहरु सामान्य ज्ञानका पुस्तक पढ्न बढी आउने गरेका छन् । स्थानीय विद्यार्थीहरु लेनिस गुरागाई, युनिषा दाहाल, मन्जु श्रेष्ठ, भगिरथ सेन्चूरी, युनिका मगर, सृष्टी सुनुवारलगायतले विद्यालयको पाठ्य पुस्तकमा नपाएका ज्ञान पुस्तकालयमा भएका पुस्तकबाट प्राप्त गर्ने गरेको बताए ।


पुर्व पश्चिम राजमार्ग बन्नु भन्दा अगाडि नै मधुमल्लाको रवि रोडको किनारमा काशीराम पौडेल, खड्गबहादु बञ्जाराले ७ धुर जग्गा दान गरेपछि टंक गुरागाई लगायतको प्रयासमा पुस्तकालय स्थापना भएको हो । पुस्तकालयलाई भावि पुस्तका लागि ज्ञानको स्रोत बनाउन सयजना स्थानीय बासिन्दाहरु आजिवन सदस्य बनेर बेला बेलामा आर्थिक सहयोग गर्दै आएको लाइब्रेरियन सन्जु भट्टराईले बताइन् ।


गाउँलेहरुमा पुस्तकालयप्रति आकर्षण देखेरै गैर सरकारी संस्था आरइएडी (रिड–ग्रामिण शिक्षा तथा विकास) ले ०६२ मा ३० प्रतिशत जनसहभागिता जनाउने शर्तमा १६ लाख रुपैँया बजेट इस्टिमेटमा तीन तले भवन निर्माण गरिदिएपछि त्यस्को रौनक झन् बढेको छ । पुस्तकालयमा हाल पाँचहजार पुस्तक रहेका छन् । पाँचसय बढी नियमित पाठक छन् ।


पुस्तकालयले बेरोजगार भएर गाउँमा क्यारेम बोर्ड, तास, लुडो खेलेर समय बिताउने युवाहरुलाई समेत आकर्षित गरेको छ । मिक्लाजुङ साहित्य समाजका अध्यक्ष गगन योक्पाङदेनले भने, ‘यो पुस्तकालय मधुमल्लाको गहना सावित भएको छ । पुस्तकालयले गाउँमा युवाहरुलाई कला साहित्य सृजनाको सम्मान गर्न सिकाएको छ । युवायुवतीलाई कथा, कविता, उपन्यास, नाटक, गजल लेखनमा प्रेरित गरेको छ ।’ उनले समाजले पनि पुस्तकालयसँग मिलेर नियमित साहित्यिक कार्यक्रम गर्दै आएको बताए ।


मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देविप्रसाद आचार्यले पुस्तकालयलाई थप आधुनिकिकरण गर्दै व्यवस्थित बनाउन स्थानीय सरकारले आर्थिक सहयोग गर्ने वचन समेत दिएको बताए । उनले भने, ‘पूर्वको जेठो पुस्तकालय मध्येको यो पनि हो । गाउँमा भएका पुस्तकालयमा नयाँ पुस्ताका आवश्यकता र चाहना अनुसारका पुस्तकहरु थप्न गाउँपालिकाले सहयोग गर्छ ।’

प्रकाशित : कार्तिक १७, २०७५ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?