विराटनगरमा ४ अर्बमा भ्यूटावर बन्ने

विनोद भण्डारी

विराटनगर — करिब ४ अर्ब रुपैयाँ लगानीमा विराटनगर महानगरपालिका-३ मा ‘भ्यूटावर’ बनाइने भएको छ।टावरको उचाई १ सय १० मिटर हुने जनाइएको छ।

गत आइतबार भ्यू टावर निर्माणका लागि शिलन्यास गरिदै । तस्बिर सौजन्यः कौशल निरौला


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित,प्रदेश १ का कार्यबाहक मूख्यमन्त्री हिक्मत कार्की,सामाजिक विकासमन्त्री जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले भ्यूटावर निर्माणस्थल आइतबार शिलान्यास गर्दै चार वर्षभित्रमा निर्माण सम्पन्न हुने आश्वासन दिए।

Yamaha


भ्यू टावर निर्माणका लागि संघीय सरकार,प्रदेश सरकार,विराटनगर महानगरपालिका,मोरङ व्यापार संघ,उद्योग संगठन,उद्योग वाणिज्य महासंघ प्रदेश १,नागरिक समाज र सर्वसाधारणको बास्केट फण्ड बन्ने महानगर प्रमुख पराजुलीले बताए।

महानगरको १ विघा ७ कठ्ठा क्षेत्रफलमा एकसय १० मिटर अग्लो भ्यूटावर निर्माण हुने र त्यसको पूर्ण डिपिआर निर्माण सुरु भएको पराजुलीले जनाए। टावरमा राजबंशी समुदायको संग्रहालय, विजनेश कम्प्लेक्स, रिक्रेशन सेन्टर, डिपार्टमेन्ट स्टल, रेष्टुरेन्ट र प्रर्दशनी केन्द्र रहने पराजुलीले बताए।

प्रकाशित : कार्तिक १८, २०७५ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्री जमरकट्टेल भन्छन्, ‘डाँडा भत्काएर विकास हुँदैन’

कृष्ण थापा

नुवाकोट — आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरट्टेलले बजेट छरेर आर्थिक समृद्धि नहुने बताएका छन् । विदुरमा आइतबार आयोजित प्रदेशको आवधिक योजना तर्जुमासम्बन्धी कार्यक्रममा मन्त्री जमरकट्टेलले आर्थिक समृद्धिको आधार निर्माण गर्न ठोस काम गर्नुपर्ने बताए ।

मन्त्री जमरकट्टेलले शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताबाहेकमा कनिका छरेजस्तो बजेट खर्च नगर्न स्थानीय तहलाई निर्देशनसमेत दिए । उनले भने, 'बजेट छर्नु भनेको भ्रष्टाचार गर्नु हो, बजेट छरेर विकास हुँदैन ।'

स्थानीय सरकारले गाउँमा १२ महिना चल्ने सडक बाटो बनोस् भन्दै घरघरमा बाटो लगेर मात्र विकास नहुने मन्त्री जमरकट्टेलको भनाइ थियो । उनले भने, ‘डाँडा भत्काएर विकास हुँदैन ।’ उनले स्थानीय तहका पदाधिकारीले आफू निर्वाचित भएपछि डोजर किनेर चलाएको गुनासो प्रदेश सरकारमा आएकाले जनताको आलोचना खेप्ने कार्य नगर्न पनि आग्रह गरे ।

ढुंगा, गिटी र बालुवा उत्खननको लागि वित्त आयोगको कानुन अध्ययन गर्ने, स्थानीय सरकार सञ्चालन ऐन, उद्योग सञ्चालन तथा व्यवस्थापन ऐन हेरेर ऐन बनाउने काममा प्रदेश सरकार लागेको उनले बताए । प्रदेश नीति तथा योजना आयोग हेटौंडाले गरेको कार्यक्रममा आवधिक योजनाको आधारपत्र डा.पीताम्बर शर्मा, डा.गोविन्द नेपाल, दिनेश भुजु, पूर्णचन्द्र भट्टराई, डा. महेन्द्र सुब्वा, शोभा लामा, जगन्नाथ अधिकारीले प्रस्तुत गरेका थिए । उनीहरुले धादिङ, नुवाकोट र रसुवाका प्रदेश सांसद, नगर र गाउँपालिका प्रमुख, उपप्रमुख प्रशासकीय अधिकृतलाई ५ समूहमा विभाजन गरी समूहगत सुझाव संकलन गरिएको छ ।

कार्यक्रममा नुवाकोटका संघीय सांसद हितबहादुर तामाङ र नारायणप्रसाद खतिवडा पनि सहभागी थिए ।

प्रकाशित : कार्तिक १८, २०७५ १७:०९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT