कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भ्युटावरमा अर्बौं लगानी किन ?

विनोद भण्डारी

विराटनगर — महानगरका सडक अस्तव्यस्त छन् । नाला र ढलको व्यवस्थित विकास हुन सकेको छैन । सामान्य वर्षा हुँदा नगरका अधिकांश घर डुबानमा पर्छन् । स्वास्थ्य र शिक्षाको अवस्था सोचेजस्तो सुधारिन सकेको छैन ।

भ्युटावरमा अर्बौं लगानी किन ?

राजनीतिक र औद्योगिक नगरीको उपमा पाएको विराटनगरले कर्मचारीले झन्डै दुई दशक नगर सञ्चालन गर्दा यसले आफनो पहिचान गुमाउँदै गएको थियो । स्थानीय निर्वाचनले चुनेका जनप्रतिनिधिले नगरको बागडोर सम्हालेको झण्डै डेढ वर्षमा महानगरले विकासको गति लिन सकेको छैन ।


विकासका आधारभूत काम हुन नसकिरहेका बेला महानगरको अगुवाईमा झण्डै ४ अर्बको भ्यूटावर निर्माण गर्ने पहल भइरहेको छ । यस अभियानमा स्वयं महानगरपालिका, संघीय र प्रदेश सरकार मात्र नभएर यहाँका उद्योगी व्यवसायीको साझा सस्था मोरङ व्यापार संघ, उद्योग संगठन, नगारिक समाजले त्यसमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।


यो लगानी महानगरको विकासमा बालुवामा पानी हाले झै भएको नगरवासीको टिप्पणी छ । ४ अर्ब महानगरको विकास निर्माणमा लगानी गर्दा कायापलट हुन सक्छ ।


‘यो लगानी विकास निर्माण, स्वास्थ्य र शिक्षामा गर्दा नगरवासीको सामान्य जनजिवनमा राहत पाउन सक्छन्’ राजनीतिक विश्लेषक पिताम्बर दाहाल भन्छन, ‘महानगरले पहिला जनताका आधारभूत विकास निर्माणलाई पहिलो प्राथामिता दिनुपर्छ ।’ नगरमा ठूला योजना ल्याउनु नराम्रो नभए पनि त्यसअघि महानगर नेतृत्वले नगरवासीका आधार भूत समस्यालाई ध्यान दिन जरुरी रहेको उनको भनाई छ ।


यो भ्यूटावर निर्माण गर्न गत आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डित, प्रदेश १ का कार्यबाहक मूख्यमन्त्री हिकमत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले भ्यू टावर निर्माणस्थलको सामूहिक शिलान्यास गर्दै चारवर्ष भित्रमा निर्माण सम्पन्न हुने आश्वासन दिएका थिए ।


‘यो भ्यूटावरले नगरवासीको सामान्य दैनिकीमा के फरक पार्छ’ नगरवासी तुलसा कार्कीले भनिन्,‘स्वच्छ सडक, नाला, ढल, गुणस्तरीय शिक्षा र स्वास्थ्य हाम्रो आवश्यकता हो ।’ भ्यूटावरको लगानी महानगरले ती शिर्षकमा खर्च गर्ने हो भने चारवर्षमा महानगरको कायापलट हुने उनको बुझाई छ ।


यस्तो टावर पर्यटकीय स्थलमा निर्माण गरिनुपर्ने उनको धारणा छ । ‘टावरको टुप्पोमा पुगेर नगरवासीले नयाँ दृश्य के हेर्ने ? अहिलेको विराटनगर प्रत्यक्ष देखेकै छौँ’ उनले भनिन् ‘विराटनगर हेर्न भ्यूटावर चढ्नै पर्दैन ।’ महानगरपालिका प्रमुख भीम पराजुलीले भ्यूटावरमा महानगरको लगानी नहुने र बास्केट फण्डवाट निर्माण हुने दाबी गरे । ‘भ्यूटावरमा महानगरको लगानी हुने छैन’उनले भने,‘संघीय, प्रदेश सरकार, निजी क्षेत्र र नागरिक समाजको लगानी यसमा हुने छ ।’


राम्रो काम गर्दा जहाँ पनि विरोध हुन सामान्य भइसकेको उनको भनाइ छ । ‘भ्यूटावर निर्माण भएपछि त्यसले महानगरलाई हरेक दिन आम्दानी दिन्छ’ पराजुलीले भने,‘त्यो आम्दानीले महानगरको समुचित विकासका योजना सञ्चालन गर्न सकिन्छ ।


महानगर ३ आयल निगम नजिक बन्ने भ्यूटावरले विराटनगरको मुहार परिवर्तन गर्ने पराजुलीको दाबी छ । महानगरपालिकाको १ विघा ७ कठ्ठा क्षेत्रफलमा एकसय १० मिटर अग्लो भ्यूटावर निर्माण हुने र त्यसमा राजवंशी समुदायको संग्राहलय, विजनेश कम्प्लेक्स, रिक्रिएशन सेन्टर, डिपार्टमेन्ट स्टल, रेष्टुरेन्ट र प्रर्दशनी केन्द्र रहने पराजुलीले बताए ।

प्रकाशित : कार्तिक २०, २०७५ १९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?