दुर्गमका विद्यालयमा विद्यार्थी चाप

आर्थिक स्रोत शून्य रहेको विद्यालय निर्माणको अधिकांश काममा शिक्षकहरू आफैं जुटे
चन्द्र कार्की

तेह्रथुम — जिल्लाभरका सरकारी विद्यालयमा विद्यार्थीको संख्या घटिरहेका बेला यहाँको एक दुर्गम विद्यालयमा भने विद्यार्थीको चाप बढेको छ ।

आठराई गाउँपालिका संक्रान्ति पुराना गाउँमा रहेको पुराना गाउँ आधारभूत विद्यालयमा समुदायले नयाँ विद्यालय भवनको निर्माण गरेपछि गाउँका विद्यार्थीको अध्ययनका लागि आकर्षण बढेको हो ।


तत्कालीन शिक्षा कार्यालयले समुदायलाई हस्तान्तरण गरेको उक्त विद्यालय भवन सुविधासम्पन्न मानिन्छ । ‘भवनले पनि विद्यार्थीलाई ठुलो प्रभाव पार्दो रहेछ,’ शिक्षक उमाकान्त भण्डारीले भने, ‘भवनको आकर्षणसँगै पढ्न आउने विद्यार्थीको संख्या हात्तै बढेको छ ।’


दुर्गमको उक्त विद्यालयमा स्थानीय अभिभावकले विद्यार्थीको आकर्षणका लागि सुविधासम्पन्न खेल मैदान समेत निर्माण गरिदिएका छन् । ०४६ सालमा स्थापना भएको विद्यालयको भवन पुरानो भएर भत्कन थालेपछि नयाँ निर्माण गरिएको शिक्षक भण्डारीले बताए ।


व्यवस्थित शौचालय छ । विद्यार्थीलाई सफा सुग्घर राख्न नुहाउने वाथरुमको समेत व्यवस्था विद्यालयले गरेको छ । ‘विद्यार्थीले धूलोमा खेल्न पाउँदैनन्’, विद्यालयका प्रध्यानाध्यापक हरि लामिछानेले भने । विद्यार्थीले धूलो नखेलुन् भनेर खेल मैदानमा दुबो रोपिएको छ ।


विद्यार्थीले विद्यालय हाता प्रवेश गरे देखि नै केही न केही नयाँ कुरा सिक्न पाउँछन् । विद्यालयका प्रत्येक कक्षा कोठाका अगाडि साना विद्यार्थीले पनि प्रस्टै पढ्न सक्ने गरी जानकारीमूलक शैक्षिक शन्देश दिने भनाइहरू लेखेर राखिएका छन् । विद्यालय हाताभित्र प्रवेश गर्ने जो सुकैले पनि केही कुरा सिकुन् भनेर यस्ता चेतनामूलक सन्देशहरू लेखेर राखिएको प्रअ लामिछानेले बताए ।


विद्यालयमा विद्यार्थीलाई पढाउने शैली पनि यो विद्यालयमा फरक छ । विद्यार्थीलाई अगाडि पछाडिको डेक्स् बेन्चमा नराखी कक्षा कोठाको वरिपरि घुमाएर राखिएको छ । यसरी राखेर विद्यार्थी पढाउँदा सवै विद्यार्थीलाई पढाउने शिक्षकको ध्यान पुग्ने भएकाले विद्यार्थीले पनि सजिलै सिक्ने शिक्षकहरू बताउँछन् ।


कक्षा कोठामा विद्यार्थीलाई जुत्ता चप्पल लैजानका लागि निषेध गरिएको छ । शिक्षा समन्वय इकाइले विद्यालयलाई समुदायको जिम्मा लगाउँदा प्रोत्साहन स्वरूप दिएको १ लाख रुपैयाँ पैसा जोगाएर विद्यालयले जग्गा खरिद गरेर भवनको निर्माण गरेको हो । भवन निर्माणका लागि कार्यालयले पनि प्रत्येक वर्ष सहयोग गरिरहेको छ ।


विद्यालयको यिनै भौतिक सुविधा र भवनको आकर्षणले गर्दा आसपासका गाउँका विद्यालयका विद्यार्थीहरू समेत आाफ्नो विद्यालयमा अध्ययनका लागि आउँन थालेको शिक्षक भण्डारीले वताए । पछिल्लो समय संक्रान्ति बजारमा रहेको बोर्डिङ स्कुलका विद्यार्थी समेत अध्ययनका लागि आइरहेको विद्यालयले जनाएको छ ।


विद्यालयले अहिले ऐच्छिक विषयका रूपमा प्रत्येक कक्षामा अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेको छ । आर्थिक स्रोत शून्य रहेको विद्यालय निर्माणको अधिकांश काम शिक्षकहरू आफैं जुटेर गरेका हुन । ‘हामी विद्यालयका शिक्षक पनि कामदार पनि’ शिक्षक भण्डारीले ठट्यौली गरे । विद्यालयमा कम्प्युर, फोटोकपी, स्क्यानर मेसिनलगायत प्रविधि जडान गरिएको छ । तिहारमा देउसी भैलो खेलेर जम्मा गरेको १ लाख ७ हजार रुपैयाँले सोलार सिस्टम जडान गरीएको छ । यस्ता आकर्षणले पनि अन्य विद्यालयमा अध्ययतरत विद्यार्थी आफनो विद्यालयमा आउने गरेको प्रअ लामिछानेले बताए ।


विद्यालयका लागि सवै अभिभावकले दिलो ज्यानले सहयोग गरेको शिक्षकहरू बताउँछन् । भवनको आकर्षण र अन्य सेवा सुविधाका कारण विद्यालयमा विद्यार्थीको संख्या ह्वात्तै बढेपछि आउँदो शैक्षिक सत्रदेखि सवै कक्षाका विद्यार्थीलाई कम्प्युटर शिक्षा सिकाउने तयारी थालिएको विद्यालयले जनाएको छ ।


यो विद्यालयले संक्रान्ती, खाम्लालुङ र हाकु गाउँमध्येकै स्रोत केन्द्र स्तरीय नमुना विद्यालयको प्रमाण पत्र पनि पाएको छ । विद्यालयलाई यस क्षेत्रकै पहिलो पूर्ण सरसफाइयुक्त विद्यालय घोषणा गरिएको छ ।

प्रकाशित : कार्तिक २६, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?