१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आयुर्वेद औषधालयमा बिरामीको चाप

अर्जुन राजवंशी

बैगुनधुरा, झापा — प्रविधि प्रयोगबाट रोग निको हुन थालेपछि गाउँको आयुर्वेद औषधालयमा बिरामीको चाप बढेको छ ।
हजारौं खर्चिदासमेत सन्चो नभएका हाड जोर्नी, नसा तथा बाथ रोगका विरामीहरू गाउँकै आयुर्वेद औषधालयमा ल्याइएको स्नेहन–स्वेदन बस्ती मेसिनबाट प्रभावित भएका छन् ।

आयुर्वेद औषधालयमा बिरामीको चाप

बाफको माध्यमबाट उपचार गर्ने स्नेहन–स्वेदन मेसिन सञ्चालनमा ल्याएपछि गौरादह नगरपालिका ९ को बैगुनधुरा आयुर्वेद औषधालयमा विरामीको चाप बढेको हो । हाड जोर्नी, नसा तथा बाथ रोगका विरामीहरूलाई उक्त मेसिनमा छिराएर उपचार गरिन्छ ।


अटो क्लिपको सहयोगमा मेसिनमा बाफ लगाएर बिरामीको रक्त सञ्चार प्रणालीलाई सक्रिय बनाउँदै उपचार गर्ने गरेको औषधालयका कविराज निरीक्षक वेदप्रसाद शर्माले जानकारी दिए । विरामीको अवस्था अनुसार १० देखि ३० मिनेटसम्म बाफ दिने गरेको शर्माले बताए । अटो क्लिप मेसिनमा गुर्जो, सिमले, अदिर, आँक, दशमुल, लेमनग्रासलगायतका जुडिबुटीहरू बफाइन्छ ।


अटो क्लिपमा पाकेको जुडिबुटीको बाफ स्नेहन–स्वेदन मेसिनभित्र रहेको बिरामीको शरीरमा पुग्छ । विरामीको अवस्थाअनुसार मेसिनभित्र बाफ लगाउने गरेको शर्माले बताए । बाफ लगाउनुअघि जुडिबुटीबाट तयार पारिएको चिल्लो तेलले विरामीको पुरै शरीर मालिस गरिन्छ । १५ मिनेटसम्म मालिस गरेपछि बिरामीलाई मेसिनभित्र छिराइन्छ । ‘बाफ लिन थालेपछि निकै सन्चो भएको छ,’ गौरीगञ्ज गाउँपालिका २ कोरोबारीकी २४ वर्षीया अनिता धितालले भनिन्, ‘यहाँ आउनुअघि ढाड दुखेर हिँड्नै सक्दिन थिए ।’ उनको ढाडको नसा सर्डेको छ । डेढ वर्षदेखि ढाड दुखेर राम्ररी हिँडडुल गर्न नसक्ने धिताल अहिले आफैं साइकल चलाएर औषधालय आउँछिन् ।


‘नसा सर्डेदेखि दमक, बिर्तामोड, गौरादहलगायतका स्थानका मेडिकल र हस्पिटलमा जचाएर औषधि खाए । तर, जाति भएन । यहाँ बाफ लगाउन थालेपछि निकै आराम भएको छ ।’ कोराबारीकै देवीका निरौलाले पनि दैनिक बाफ लिइरहेकी छन् । उनको घुडाको जोर्नी दुख्ने समस्या छ । एक वर्षदेखि जोर्नी दुख्ने समस्याबाट पीडित निरौलाले विभिन्न हस्पिटलमा उपचार गराउदा करीब २० हजार सकिन । तर, रोग निको नभएको उनको भनाइ छ ।


‘यहाँ आएर बाफ लगाउन थालेको एक हप्तादेखि नै जोर्नी दुख्न निकै सन्चो भएको छ,’ निरौलाले भनिन् । स्नेहन–स्वेदन मेसिन गत बैशाखदेखि सञ्चालनमा ल्याएको कविराज निरीक्षक शर्माले बताए । स्नेहन–स्वेदन मेसिनबाट बैशाखदेखि कात्तिक १५ सम्ममा ६ सय ९० जनाले उपचार गराएका छन् । जसमा महिला तीन सय ७८ तथा पुरुष तीन सय १२ जना छन् ।


आयुर्वेद औषधालयमा आर्थिक वर्ष ०७४/७५ मा तीन हजार ६ सय २४ जनाले उपचार गराएका थिए । उक्त औषधालयमा गौरीगञ्ज, कोरोबारी, बैगुनधुरा, पाँचगाछी, शिवगञ्ज, गौरादह, जुरोपानीलगायतका स्थानका विरामी उपचारका लागि जाने गरेका छन् ।

प्रकाशित : कार्तिक २६, २०७५ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?